४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एनएमसी एकीकृत नमुना कृषि फर्ममा उत्पादित तरकारी र फलफूलमा उपभोत्ताको आर्कषण


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

2

दुहागढी २, जेठ/ झापाको मेचीनगर—१४ स्थित दुहागढीमा रहेको एनएमसी एकीकृत नमुना कृषि फर्ममा उत्पादित तरकारी र फलफूल अहिले झापालगायत अन्य जिल्लाका बजार भित्रिन थालेका छन् । यहाँ उत्पादित तरकारी तथा फलफूल अग्र्यानिक र बजार मुल्यभन्दा निक्कै कम मुल्यमा बारीबाटै ताजा टिपेर खरिद गर्न पाउने भएकाले पनि अहिले फर्ममा नै खरीदकर्ताको आर्कषण बढेको छ । उत्पादनक्षेत्रमै बेर्ना तथा तरकारी विक्री केन्द्र नै स्थापना गरिएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी) ले परिकल्पना गरेको तेश्रो व्यवसाय चाक्लाबन्दी सहितको एकीकृत नमुना कृषि फर्म हो । २०७५ माघ १९ मा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एकीकृत नमुना कृषि फर्मको औपचारिक उद्घाटन गर्नुभएको थियो । औपचारीक उद्घाटन भएको एकमहिना मै करेलाको वेर्ना विक्री भएको थियो । अहिले फर्ममा तरकारी र फलफूल फलेका छन् । फर्मले बैशाखमा मात्रै ४ लाख १ हजार ६ सय ५० रुपैयाँ बराबरको तरकारी , वेर्ना र फलफूल विक्री गरेको प्रशासन प्रमुख भुपाल गौतमले बताउनुभयो ।

कुल रकममध्ये ६५ हजार ३ सय ७ रुपैयाँको खरवुजा ८४ हजार ६ सय १३ रुपैयाँको काक्रा विक्री भएको गौतमले जानकारी दिनुभयो । फर्मबाट ३८ हजार ४ सय ३५ रुपैयाँको बोडी, १७ हजार ८ सय ६५ रुपैयाँको घिरौला, १८ हजार ४ सय ९५ रुपैयाँको भिण्डी, ५२ हजार १ सय २० रुपैयाँको करेला, ४२ हजहार ५ सय ७५ रुपैयाँको लौका, १० हजार ५ सय १५ रुपैयाँको टमाटर, २९ हजार ४ सय ९५ रुपैयाँको हरियो साग, ७ हजार ८ सय ३५ रुपैयाँको फूलकोपी विक्री भएको जनाइएको छ । यो सँगै फर्सी, चिचिन्डो, कुरीलो झिगनिलगायतका सव्जी समेत विक्री भएको गौतमले जानकाररी दिनुभयो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी)को पूर्ण    स्वामित्वमा रहेको फर्मको क्षेत्रफल १५ विगाह ७ कठ्ठा ३ धुर रहेको छ । एक विगाह जग्गामा करीब ६ कठ्ठाका तीनवटा माछा पोखरी छन् । एउटा पोखरीमा पंङगास जातका १५ सय माछाका भुरा हालेर व्यवसायिक माछा पालनसमेत शुरु भएको छ । करीव ६ विगाह जमीनमा तरकारी र फलफूल, त्यति नै क्षेत्रफलमा मकैको घास खेती शुरु भएको छ भने करीव २ विगाहमा गाईको गोठको निर्माण धमाधम भइरहेको छ । अलिे यो फर्म धेरै विद्यार्थीका लागि विश्वविद्यालय समेत सावित भएको छ । कृषि अध्ययन गर्न चाहाने विद्यार्थीहरु ओजेटीका लागि यहि आउने र धेरै कुराको सिकाई गर्ने गरेको गौतमको भनाई छ ।

संस्थाका धेरै सदस्य कृषि पेशामा निर्भर भएपनि कृषि व्यवसायिक हुन नसकेको र निर्वाहमुखि कृषिले अब धान्न सक्ने अवस्था नभएपछि एनएमसी एकिकृत नमुना कृषि फर्मको संस्थाले आवश्यकता महशुस गरेको थियो । ‘कृषि पेशामा निर्भर भएका र कृषि कर्म गर्न चाहने सदस्यलाई विधि र प्रविधि सहित कृषि कर्ममा लाग्ने प्रेरणाको खाँचोे छ ’ संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भन्नुभयो —‘सदस्यलाई व्यवसायिक बनाएर उत्पादन गर्न प्रेरित एवम् प्रोत्साहित गर्ने संस्थाको उद्देश्य रहेको छ । यसका लागि व्यवहारिक र  सैद्धान्तिक  ज्ञान दिन जरुरी भएकाले यस्तो एकिकृत नमुना कृषि फर्मको परिकल्पना गरिएको हो । ’

एनएमसीले तेश्रो व्यवसायकोरुपमा एकीकृत नमुना कृषि फर्म सञ्चालनमा ल्याउने २४ औं वार्षिक साधारणसभाबाट नीतिगत निर्णय गरि २५ औं साधारणसभाबाट आवश्यक जग्गा खरीदको स्विकृति दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको भनाई छ । २०७५ सालको असारसम्ममा यही प्रयोजनका लागि १३ विगाहा ७ कठ्ठाभन्दा बढी जग्गा ६ करोड दशलाख बढीको लगानीमा मेचीनगर नगरपालिकाको वडा नम्बर १४ मा खरिद गरिएको थियो । हालसम्मको फर्ममा लागत १० करोड ६५ लाख रुपैयाँभन्दा बढी भइसकेको छ । बिधि प्रविधि सहितको सहकारी कृषि ज्ञान केन्द्र स्थापना गर्ने ,कृषिमा व्यवसायीक सम्भावनाको खोजी गर्दै युवालाई यो पेशामा आकर्शित गर्ने ,स्वच्छ र स्वस्थकर खाद्यान्न उत्पादनको आधार तयार गर्दै उत्पादनमा संलग्न हुने , व्यवसायमा संलग्न किसानलाई हरतरहले सहयोग गर्ने , कृषिलाई पर्यटन व्यवसायसँग जोडने र आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग गर्ने , उत्पादन बढाउने रोजगारी सृजना गर्ने एनएमसी नमुना कृषि परियोजनाको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष उप्रेतीको भनाई छ ।

किसानलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान दिन कक्षा सञ्चालन गर्ने , विभिन्न जातका तरकारी,फलपूmल, पशु र अन्नबालिमा अनुसन्धान गर्ने ,उत्पादन र बजारिकरणको व्यवसाय सञ्चालन गर्ने , वार्षिक २०० जना युवा किसानलाई कृषि सम्वन्धि व्यवहारिक र शैद्धान्तिक तालिम उपलव्ध गराएर व्यवसायमा संलग्न गराई स्वरोजगार बनाउने , यस्ता तालिम प्राप्त व्यवसायीक किसानलाई उत्पादनमा हरतरहले सहयोग गर्ने । उत्पादित बस्तु खरिद गरिदिने , प्रत्येक वर्ष १० देखि २० वटाका दरले सहकारीका आफ्नै बिक्रि कक्ष स्थापना गर्दै जाने , यस्ता तालिम प्राप्त व्यवसायीक किसानलाई सिकेको ज्ञानका आधारमा आ–आफ्नै परिवेशमा उत्पादनमा संलग्न गराउने , व्यवसायीक किसानलाई अध्ययन, अवलोकन र विज्ञसँगको छलफल गराउने । व्यवसायको महत्व, उत्पादन लागत कम गर्ने उपाय, बाली सुरक्षा, माटोको सुरक्षा, वातावरणिय सुरक्षा आदिका बारेमा जानकारी दिने तथा सबै तहका सरकार र विभिन्न निकायबाट कार्यक्रमका आधारमा अनुदान एवम् सहयोग प्राप्त गर्ने उद्देश्य प्राप्तिका लागि कार्य गरिने अध्यक्ष उप्रेतीको भनाई छ । एनएमसीले किसानलाई उत्पादनका लागि रसायनिक विषादी र रसायनिक मलको सट्टा प्राङ्गारिक मल, जैविक मल र जैविक विषादीको प्रयोग गर्न सिकाउने छ । उत्पादित तरकारी तथा   फलफूलको गुणस्तर परिक्षण गरेर खान र खुवाउन योग्य मात्र बजारमा पठाउने वा जैविक मल र जैविक बिषादी प्रयोगमा जोडदिने छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १ : २५ बजे