२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

महिला सशक्तिकरणको आधार बन्दै रुपान्तरणीय कक्षा



फोटो : नारायण राजवंशी

हरि वस्नेत (डिके)
मोरङ्ग, २३ जेठ / मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३, राजगञ्जस्थित काली मन्दिर समूहमा सञ्चालन भइरहेको रुपान्तरणीय कक्षा (टीईपी) स्थानीय महिलाहरूका लागि ज्ञान, सीप र आत्मविश्वास विकासको प्रभावकारी माध्यम बनेको छ । लुथरन सामुदायिक कल्याण समाजको आयोजना तथा एल.डब्लु.एफको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यस कार्यक्रमले विशेषगरी विपन्न तथा मूलधारको पहुँचबाट टाढा रहेका महिलाहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।
प्रशिक्षक अञ्जना चौधरी र लुथरन सामुदायिक कल्याण समाजका सामाजिक परिचालक कमला राजवंशी र काली मन्दिर समुहका अध्यक्ष अस्मिता चौधरीको सक्रिय सहजीकरणमा सञ्चालित कक्षामा १५ जना महिलाहरू नियमित रूपमा सहभागी छन् । नौ महिनासम्म सञ्चालन हुने यस कार्यक्रमले महिलाहरूलाई केवल साक्षरता वा सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी सीप, नेतृत्व क्षमता तथा सामाजिक चेतनासमेत प्रदान गरिरहेको छ ।

कक्षामार्फत सहभागी महिलाहरूमा सिर्जनात्मक तथा आलोचनात्मक सोचको विकास गरिँदैछ । उनीहरूलाई आत्मविश्वासी, जिम्मेवार र आत्मनिर्भर नागरिक बन्न आवश्यक ज्ञान र व्यवहारिक सीप सिकाइँदैछ। साथै सामाजिक, नैतिक तथा सांस्कृतिक मूल्यहरूको संरक्षण र प्रवद्र्धन गर्दै आधुनिक प्रविधि तथा नयाँ ज्ञानसँग अनुकूल हुन प्रेरित गरिन्छ ।
रुपान्तरणीय कक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय शासन र नागरिक अधिकारसम्बन्धी जानकारी प्रदान गर्नु हो । स्थानीय तहमा सञ्चालन हुने विकास निर्माणका गतिविधि, बजेट निर्माण तथा कार्यान्वयन प्रक्रिया, वडा कार्यालयबाट प्राप्त हुने सेवाहरू, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ दर्तालगायतका विषयमा सहभागीहरूलाई विस्तृत जानकारी दिइन्छ । यस्ता जानकारीले महिलाहरूलाई आफ्नो अधिकारबारे सचेत बनाउनुका साथै सार्वजनिक सेवामा सहज पहुँच स्थापित गर्न मद्दत पुर्याइरहेको छ ।
सहभागी महिलाहरूका अनुसार कक्षाबाट प्राप्त ज्ञानले उनीहरूको सोच, व्यवहार र दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । पहिले सार्वजनिक कार्यक्रममा बोल्न हिच्किचाउने महिलाहरू अहिले आफ्ना अधिकार र जिम्मेवारीबारे खुलेर धारणा राख्न सक्ने भएका छन् ।
यसरी कानेपोखरी–३ को काली मन्दिर समूहमा सञ्चालन भइरहेको रुपान्तरणीय कक्षा केवल एक शैक्षिक कार्यक्रम मात्र नभई महिला सशक्तिकरण, सामाजिक रूपान्तरण र आत्मनिर्भर जीवन निर्माणको महत्वपूर्ण अभियान बनेको छ । नौ महिनाको यो यात्रा सहभागी महिलाहरूका लागि वास्तवमै वरदान सावित हुँदै गएको छ, जसले उनीहरूको व्यक्तिगत विकाससँगै परिवार र समुदायको समग्र उन्नतिमा समेत सकारात्मक योगदान पुर्याइरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ९ : ४६ बजे