१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

इतिहासले सम्झिरहने नाम



आत्माराम राजवंशी
गौरीगञ्ज १२, मंसिर / नेपाली कांग्रेसका नेता तथा तत्कालीन खजुरगाछी गाविसका अध्यक्ष स्वर्गीय श्यामसुन्दर यादव स्थानीय राजनीतिमा निडर, साहसी र जनताको सुखदुःखमा साथ दिने जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको जीवन स्थानीय जनताको सुरक्षा, सामाजिक न्याय र राजनीतिक आस्थासँग जोडिएको थियो। माओवादी सशस्त्र द्वन्द्वका क्रममा उहाँले ज्यान गुमाउनुपरेको थियो। सरकारले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौतासम्मको अवधिमा ज्यान गुमाएका व्यक्तिहरूको नाम राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेपछि यादव पनि राष्ट्रिय सहिदका रूपमा चिनिनुभएको छ।
२०२२ सालमा हालको गौरीगञ्ज गाउँपालिका–६, देवीगञ्जमा जन्मिनुभएका यादव बाल्यकालदेखि नै हक्की र निडर स्वभावका हुनुहुन्थ्यो। नेपाली कांग्रेसमा आबद्ध भएर स्थानीय राजनीतिमा सक्रिय उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन खजुरगाछी गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। त्यसबेला देशका विभिन्न भागमा कम्युनिस्ट पार्टीहरूको प्रभाव बढिरहेको अवस्थामा पनि उहाँले नेपाली कांग्रेसका तर्फबाट उल्लेख्य मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो।

अपराध र असुरक्षाविरुद्ध सक्रिय
त्यतिबेला नेपाल–भारत सीमावर्ती क्षेत्रमा चोरी, डकैती र लुटपाटका घटनाले स्थानीय बासिन्दा त्रसित हुने गरेका थिए। सीमावर्ती क्षेत्रमा हुने डकैती तथा लुटपाट नियन्त्रण गर्न यादव सक्रिय रहनुहुन्थ्यो। स्थानीयको धनमाल लुटिएमा खोजी गर्ने, डाकाहरूलाई नियन्त्रणमा लिन पहल गर्ने र पीडितको सम्पत्ति फिर्ता गराउन भूमिका खेल्ने उहाँको स्वभाव रहेको स्थानीयवासीहरू स्मरण गर्छन्।
स्थानीय क्षेत्रमा माओवादी संगठन विस्तार हुन नसक्नु र उहाँले माओवादी गतिविधिको विरोध गर्नु पनि उहाँमाथि जोखिम बढ्नुको एउटा कारण रहेको त्यसबेलाको राजनीतिक परिवेशबारे जानकारहरू बताउँछन्। नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति सुधिर शिवाकोटी र उद्धव थापाले समेत उहाँलाई सतर्क रहन आग्रह गरेको बताइन्छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी सुशील समशेरले पनि उहाँलाई जोगिएर हिँड्न खबर पठाएको स्मरण गरिन्छ।

घर जाने क्रममा अपहरण, यातना र हत्या
२०५८ साल जेठ १२ गते साँझ करिब ६ः४५ बजे घर फर्किने क्रममा श्यामसुन्दर यादवमाथि आक्रमण भएको थियो। श्यामदेव यादव, प्रमेत यादव र श्यामसुन्दर यादव मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा माओवादी कार्यकर्ताले बाटो छेकेर उनीहरूमाथि कुटपिट गरेका थिए। त्यही क्रममा साइकलमा घर फर्किरहेका विष्णुप्रसाद यादवसमेत माओवादीको नियन्त्रणमा पर्नुभएको थियो।
चारै जनालाई दुई दिनसम्म स्थानीयका घरमा राखिएको र पछि बालुवथान पुर्‍याइएको बताइन्छ। त्यसपछि श्यामसुन्दर यादवलाई २०५८ साल जेठ १५ गते अमानवीय यातना दिइएको थियो। डोरीले घिसार्दै दामुना बजार पुर्‍याएर उहाँको निर्मम हत्या गरिएको थियो। उहाँसँगै नियन्त्रणमा लिइएका अन्य व्यक्तिहरूलाई भने माओवादीले छाडिदिएको थियो।
यस घटनाले खजुरगाछी र आसपासका क्षेत्रमा ठूलो त्रास र शोक सिर्जना गरेको थियो। स्थानीय राजनीतिक वृत्तमा समेत उक्त हत्यालाई तत्कालीन द्वन्द्वकालको दुःखद घटनाका रूपमा स्मरण गरिन्छ।

परिवारले व्यहोरेको पीडा
श्यामसुन्दर यादवको हत्यापछि उहाँकी श्रीमती निर्मला देवी यादवले परिवारको जिम्मेवारी सम्हाल्नुपर्‍यो। कृषि कर्म गरेर जसोतसो जीवनयापन गर्दै आउनुभएकी निर्मलाका दुई छोरा अर्विन कुमार यादव र नवीन कुमार यादव हुनुहुन्छ।
परिवारका लागि उहाँको हत्या केवल एक व्यक्तिको मृत्यु थिएन, जीवनको आधार र अभिभावक गुमाउनुको पीडा पनि थियो। राजनीतिक द्वन्द्वको मूल्य एउटा परिवारले कसरी पुस्तौँसम्म चुकाउनुपर्छ भन्ने उदाहरणका रूपमा यादव परिवारको पीडालाई लिन सकिन्छ।
घटनाका बेला सँगै रहेका विष्णुप्रसाद यादव हाल गौरीगञ्ज गाउँपालिका–६ का वडाध्यक्ष बद्री यादवका दाजु हुनुहुन्छ। त्यसैगरी प्रमेत कुमार यादव नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको सदस्यका रूपमा समेत काम गरिसक्नुभएको छ।

राष्ट्रिय सहिदको मान्यता र स्मृतिमा अर्धकदको सालिक
माओवादी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका श्यामसुन्दर यादवले राष्ट्रिय सहिदको मान्यता प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा २०७९ साल फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहादत प्राप्त गरेका व्यक्तिहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०७९ चैत ४ गते राष्ट्रिय सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको थियो। झापाबाट राष्ट्रिय सहिदको सूचीमा समावेश हुनुभएका श्यामसुन्दर यादवको नाम पनि उक्त सूचीमा रहेको छ।
उहाँको योगदान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले नेपाली कांग्रेस झापाको निर्देशनमा उहाँकै घरनजिक अर्धकदको सालिक र स्वागतद्वार निर्माण गरिएको हो। गौरीगञ्ज गाउँपालिका र वडा न. ६ को करिब २१ लाख ९१ हजार रुपैयाँको लागतमा सालिक, भवन तथा स्वागतद्वार निर्माण गरिएको जनाइएको छ।
निर्माण सम्पन्न भएको शालिकको २०८३ साल मंसिर १४ गते नेपाली कांग्रेसका केन्द्रीय वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अनावरण गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहने अपेक्षा गरिएको छ।

इतिहासले सम्झिरहने नाम
श्यामसुन्दर यादवको जीवन र बलिदान गौरीगञ्जको राजनीतिक तथा सामाजिक इतिहाससँग जोडिएको एउटा महत्त्वपूर्ण अध्याय हो। जनप्रतिनिधिका रूपमा उहाँले निर्वाह गरेको भूमिका, सीमावर्ती क्षेत्रमा सुरक्षा र सामाजिक न्यायका लागि देखाएको सक्रियता तथा द्वन्द्वका क्रममा गुमाएको जीवन आज पनि स्थानीय स्मृतिमा रहेको छ।
उहाँको अर्धकदको सालिक निर्माण र अनावरण केवल एउटा भौतिक संरचनाको उद्घाटन मात्र होइन, द्वन्द्वका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको इतिहास, परिवारको पीडा र समाजले सम्झनुपर्ने घटनालाई सार्वजनिक स्मृतिमा राख्ने प्रयास पनि हो।
राष्ट्रिय सहिद श्यामसुन्दर यादवको जीवनकथा एउटा व्यक्तिको राजनीतिक यात्राको कथा मात्र होइन, द्वन्द्वले एउटा परिवार, समाज र स्थानीय राजनीतिक इतिहासमा छाडेको गहिरो घाउको दस्तावेज पनि हो।

प्रकाशित मिति : १४ मंसिर २०८३, आइतबार  ८ : १४ बजे