६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

भारतीय मुद्रा ‘भारू’ नेपाली बजारमा कमजाेर



दिपेश राजवंशी /

छिमेकी मुलुक भारतीय मुद्राको भाउ घटेपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

भारतीय मुद्रा नेपाली बैंक तथा सहकारीहरुले लिन नमानेपछि भारतीय मुद्राको चहलपहल नेपाली बजारमा घटेको हो । भारतीय मुद्राको भाउ घट्दा पूर्वी नेपालको प्रमुख नाका काँकरभिट्टा, भद्रपुर लगायतका विभिन्न क्षेत्रमा यसको असर परेको हो ।

भारतमा नेपाली मुद्रा नचल्ने हुनाले, भारतको विभिन्न बजारमा किनमेल, उपचार तीर्थयात्रा, भ्रमण आदिका लागि जाने नेपालीले अनिवार्य रुपमा नेपाली पैसा सटही गरेर भारतीय मुद्रा बोक्नुपर्ने हुन्छ ।

यसले गर्दा झापाका काँकरभिट्टा, भद्रपुर लगायतका ठाउँमा भारतीय मुद्रा सटही काउन्टरहरुले राम्रै व्यवसाय र सेवा प्रदान गरिरहेका थिए । तर, विगत केही समयदेखि भारतीय मुद्राको भाउ घटेपछि यस्ता सटही काउन्टर सञ्चालकहरु चिन्तित बनेका छन् । कुनै समय भारतीय मुद्रा साट्नेहरुको भीड लाग्ने पूर्वी नेपालका सटही काउन्टरहरु अहिले भने प्रायः खाली र सुनसान देखिन्छन् ।

विगत १५ वर्षदेखि झापाको काँकरभिट्टामा सम्मान मनी चेन्जर प्रालि सञ्चालन गर्दै आएका मनोज राई पैसा साट्ने ग्राहक नभएपछि फुर्सदिलो समय व्यतित गरिरहेका छन् । उनी भन्छन्– अहिले व्यवसाय ठप्प छ तर के गर्नु लगानी गरेकाले पसल बन्द गरेर बस्न पनि मिलेन, बरु मोबाइल चलायो बस्या, बजारमा भारु छ्याप्छ्याप्ती भएको हुनाले नेपाली पैसा दिएर भारु साट्न आउने मान्छे नै छैनन् ।

सर्वसाधारणको लागि भने विगतमा नेपाली पैसा दिएर भारु सटही गर्दा थप रकम बट्टाको रुपमा तिर्नुपर्नेमा अहिले भने एक सय भारुको लागि नेपाली एक सय साठ्ठी रुपैयाँँ अर्थात् बराबर रकममा सजिलै भारतीय मुद्रा उपलब्ध हुने भएकाले हर्षित छन् ।

त्यस्तै अर्का मुद्रा सटही व्यवसायी मकालु मनी चेन्जरका सञ्चालक इन्द्रप्रसाद मैनाली भारतीय मुद्राको भाउ घटेसंगै आफ्नो कारोवार घट्दा चिन्तित बनेका छन् । उनको पछिल्लो आठ वर्षको अनुभवमा यस्तो पहिलोपटक भएको हो । अरुबेला दैनिक चार पाँच लाखसम्मको कारोवार हुने गरेकोमा अहिले मुस्किलले एक डेढ लाखको कारोवार हुने गरेको उनी बताउँछन् । सञ्चालक मैनाली भन्छन्– कारोवार नभएपछि कर्मचारी पाल्नै गाह्रो भएको छ ।

काँकरभिट्टामै विगत पन्ध्र वर्षदेखि मुद्रा सटही काउन्टर सञ्चालन गर्दै आएका सीमाना मनी चेञ्जरका सञ्चालक विवेक सिटौलाको पनि अवस्था त्यस्तै छ । उनका अनुसार पहिलेको भन्दा अहिले आधा मात्रै कारोवार हुने गरेको छ । राष्ट्र बैंकले दिने १० लाखसम्मको कारोवार हुने गरेकोमा अहिले मुस्किलले तीन चार लाखको कारोवार हुने गरेको छ ।

भारतीय मुद्राको भाउ घटेपछि सटही काउन्टरहरु मात्रै नभइ होटल व्यवसायी र ट्राभल एजेन्सीहरु पनि मारमा परेका छन् । २५ वर्षदेखि ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका लाइफ लाइन टुर्स एण्ड ट्राभल्स प्रालि काँकरभिट्टाका सञ्चालक बिनोद सिटौला पनि भारतीय मुद्राको भाउ घट्दा व्यापारमा ह्वात्तै गिरावट आएको बताउँछन् । उनका अनुसार पहिले दैनिक १५÷२० वटा हवाई टिकट बुक हुने गरेकोमा अहिले दिनभर मुस्किलले पाँच÷छ वटा मात्र टिकट बुकिङ हुने गरेको छ ।

भारतबाट आउने अधिकांश पर्यटकहरु आसाम, सिक्किम, कालेङ्म्पोङ, दार्जीलिङ, कलकत्ता लगायतका विभिन्न ठाउँबाट पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गर्छन् । तर, भारतीय मुद्राको भाउ घटेपछि यसरी प्रवेश गर्ने पर्यटकको संख्या पनि ९० प्रतिशतले गिरावट आएको सिटौलाको भनाइ छ ।

बिश्वव्यापी कोरोना महामारी पछि बिस्तारै लयमा फर्किरहेको होटल व्यवसाय पनि भारतीय मुद्राको भाउ घटेपछि पुनः संकटमा परेको बताउँछन्– होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ।

उनका अनुसार भारतीय मुद्राको भाउ घट्दा, आफ्नो कारोबार र भारतबाट आउने पर्यटक दुबैमा कमी आएको र होटल व्यवसायीहरुले बैंकबाट लिएको ऋण तिर्न नसकेर पलायन हुने अवस्था आएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ४२ बजे