११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गौरीगञ्ज–१ का वडा सचिव अजय कुमार साह रु. १० हजार घुससहित पक्राउ



गौरीगञ्ज / झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग रु. १० हजार घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरी प्राप्त भएपछि आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १०,००० घुस लिइसकेको अवस्थामा सोमबार दिउँसो कार्यालय समयमै गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक होटलबाट रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार पक्राउ परेका साहको साथबाट घुसस्वरूप लिइएको रु. १० हजार रकम समेत बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अख्तियारले सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार तथा अनियमितताविरुद्ध सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गर्दै यस्ता उजुरीमाथि कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : ५५ बजे