
के हामी त्यो संघर्षको मूल्य जोगाउन तयार छौँ ?
आत्माराम राजवंशी/
इतिहास आफैं बोल्दैन, त्यसलाई बोलाउने काम पुस्ताले गर्छ। कुनै भूगोल केवल नक्सामा कोरिएको सीमारेखा मात्र हुँदैन, त्यसमा पुस्तौँको संघर्ष, पहिचान, संस्कृति, सपना र भविष्य गाँसिएको हुन्छ। आज फेरि गौरीगञ्ज त्यही ऐतिहासिक मोडमा उभिएको छ, जहाँ २०७३ सालमा उभिएको थियो। स्थानीय तह पुनर्संरचनाको पुनरावलोकन गर्ने तयारी सरकारले अघि बढाइरहेको वर्तमान अवस्थामा गौरीगञ्जको भविष्य फेरि बहसको केन्द्रमा आएको छ। यस्तो बेला इतिहास सम्झनु विगतमा फर्किनु होइन, भविष्य सही दिशामा डोर्याउने जिम्मेवारी हो।
२०७३ साल असोज १४ गते घनश्याम रिजालको संयोजकत्वमा गौरीगञ्ज गाउँपालिका संघर्ष समिति गठन भएको थियो। गंगा राजवंशी सचिव रहनुभएको उक्त समितिमा पाण्डव झा, कुलप्रसाद गिरी, कमलप्रसाद राजवंशी, परशुराम राजवंशी, आत्माराम राजवंशी तथा आर्थिक समिति संयोजक उदयलाल यादवलगायतका व्यक्तित्व सक्रिय हुनुहुन्थ्यो। नेपाली कांग्रेसका नेता–कार्यकर्ता, विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता र सर्वसाधारण नागरिक एउटै लक्ष्यका साथ एक ठाउँमा उभिएका थिए। तत्कालीन स्थानीय विकास अधिकारी खेम ओझालाई ज्ञापनपत्र बुझाउनेदेखि सडक आन्दोलन, गाउँ–टोलमा जनचेतना अभियान सञ्चालन गर्ने कार्य निरन्तर चल्यो। कमलेश्वर राजवंशी, पवन दास, निरज रिजाल, दीपेन्द्र थापालगायत विभिन्न दलका स्थानीय नेता तथा युवाहरूले पनि अभियानलाई सशक्त बनाएका थिए।
त्यो आन्दोलन कुनै दलको विजयका लागि थिएन, गौरीगञ्जको अस्तित्वको रक्षाका लागि थियो। जनप्रतिनिधिहरूको निर्णायक मतबाट गौरीगञ्ज गाउँपालिका कायम रह्यो। त्यो उपलब्धि सहजै प्राप्त भएको थिएन; त्यसका पछाडि जनताको एकता, त्याग र अथक संघर्ष थियो। आज करिब एक दशकपछि इतिहासले फेरि हामीलाई सोधिरहेको छ—के हामी त्यो संघर्षको मूल्य जोगाउन तयार छौँ?
गौरीगञ्ज एउटा सामान्य प्रशासनिक इकाइ होइन। यो दक्षिणी झापाको ऐतिहासिक व्यापारिक, शैक्षिक, प्रशासनिक र सामाजिक केन्द्र हो। यहाँ चार वटा सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ। संस्थागत विद्यालयहरूले पनि प्लस–टु शिक्षा प्रदान गरिरहेका छन्। गौरीगञ्ज बहुमुखी क्याम्पसले स्नातक तहसम्मको शिक्षा उपलब्ध गराइरहेको छ। इलाका प्रशासन कार्यालय, ‘क’ वर्गको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय, निर्माणाधीन १५ शैय्याको अस्पताल, बैंक तथा वित्तीय संस्था, त्रिभुवन आदर्श पुस्तकालय, विद्युत सेवा केन्द्र, खानेपानी आयोजना, अतिथि सदन, धिरज चामल उद्योग, फाइबर उद्योग, खेलमैदान, कृषि तथा औद्योगिक सम्भावना, निर्माणाधीन कन्काई पुल तथा विराटनगरसँगको सहज यातायात पहुँचले गौरीगञ्जलाई भविष्यको सक्षम नगरका रूपमा स्थापित गर्न पर्याप्त आधार प्रदान गरेका छन्।
यति धेरै पूर्वाधार, सम्भावना र ऐतिहासिक आधार हुँदाहुँदै पनि गौरीगञ्जमाथि पटक–पटक पुनर्संरचनाको बहानामा प्रश्न उठ्नु यहाँका नागरिकका लागि स्वाभाविक चिन्ताको विषय हो। त्यसैले अब भावनाभन्दा माथि उठेर तथ्यका आधारमा समाधान खोज्ने समय आएको छ।
हाम्रो माग कुनै असम्भव वा अव्यावहारिक होइन। साविक गौरीगञ्ज गाउँपञ्चायत अन्तर्गत रहेका जुरोपानी र कोहोबारा गाविस ऐतिहासिक रूपमा पनि गौरीगञ्जसँग जोडिएका क्षेत्र हुन्। त्यसैले साविकको ऐतिहासिक संरचनालाई आधार मानी जुरोपानी, कोहोबारा र गौरीगञ्जलाई समेटेर ‘गौरीगञ्ज नगरपालिका’ घोषणा गर्नु सबैभन्दा व्यवहारिक, ऐतिहासिक र दीर्घकालीन समाधान हुन सक्छ। यसले इतिहासको सम्मान पनि गर्छ, जनभावनाको कदर पनि गर्छ र विकासको आधार पनि बलियो बनाउँछ।
आजको सबैभन्दा ठूलो जिम्मेवारी युवाको काँधमा आएको छ। सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेर मात्र इतिहास जोगिँदैन। अध्ययन, तथ्य, संवाद, संगठन र लोकतान्त्रिक सहभागिताबाट आफ्नो आवाज सम्बन्धित निकायसम्म पुर्याउनुपर्छ। कुनै दलको झण्डाभन्दा माथि उठेर आफ्नो माटो, आफ्नो पहिचान र आफ्नो भविष्यका लागि बोल्ने समय यही हो।
इतिहासले प्रत्येक पुस्तालाई एउटा अवसर दिन्छ। त्यो अवसरलाई सदुपयोग गर्ने कि गुमाउने भन्ने निर्णय पुस्ताले नै गर्छ। यदि आज हामी मौन बस्यौँ भने भोलि सन्तानलाई हामीसँग जवाफ नहुन सक्छ। तर यदि आज हामी एकताबद्ध भएर तथ्य, तर्क र लोकतान्त्रिक विधिबाट आफ्नो आवाज बुलन्द गर्यौँ भने भोलिको इतिहासले यही पुस्तालाई सम्झनेछ।
आउनुहोस्, सानो–सानो मतभेद बिर्सौं। गौरीगञ्जको साझा भविष्यका लागि हातेमालो गरौँ। इतिहास जोगाऔँ, पहिचान बचाऔँ, विकासलाई गति दिऔँ। युवाको ऊर्जा, जनताको एकता र तथ्यको बलले नै समृद्ध गौरीगञ्ज निर्माण गर्न सकिन्छ। अब इतिहास बिर्सने होइन—भविष्य बनाउने बेला आएको छ।








