
गौरीगंज / गत वर्ष २०८२ साल असोज १८ र १९ गते कन्काई नदीमा आएको विनाशकारी बाढीले झापा गाउँपालिका र आसपासका बस्तीमा ठूलो जनधनको क्षति पुर्यायो। सयौं परिवार विस्थापित भए भने घर, शौचालय, खेतीपाती तथा आधारभूत संरचना ध्वस्त बने। यस्तो कठिन परिस्थितिमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएन जेडी) ले लुथरन विश्व फेडेरेशन (एलडब्लुएफ) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राहत वितरणदेखि पुनर्निर्माण, जीविकोपार्जन पुनर्स्थापना र विपद् तयारीसम्मका बहुआयामिक कार्यक्रम सञ्चालन गरी बाढीपीडित समुदायमा नयाँ आशा जगाएको छ।
आपत्कालीन चरणमा एसएन जेडीले झापा गाउँपालिकाका ३५० बाढी प्रभावित घरपरिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न सामग्रीसहितको राहत प्याकेज वितरण गरी तत्कालीन मानवीय आवश्यकताको सम्बोधन गरेको थियो। त्यसपछि दोस्रो चरणअन्तर्गत पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकता दिँदै प्रभावित परिवारको दिगो पुनःस्थापनामा ध्यान केन्द्रित गरियो।
कार्यक्रमअन्तर्गत झापा गाउँपालिकाको साझेदारीमा वडा नं. १ को सुगावथानमा चार र मिलन बस्तीमा पाँच गरी नौ वटा नयाँ घर निर्माण सम्पन्न गरिएको छ। साथै, झापा गाउँपालिकाको वडा नं. ७ स्थित मुस्लिम बस्तीमा थप दुई घर निर्माणको प्रक्रिया अघि बढाइएको छ। बाढीबाट क्षतिग्रस्त मिलन बस्ती र सुगावथानका १० घरको मर्मत तथा ४० परिवारका शौचालयको पुनःमर्मत सम्पन्न गरिएको छ।

कृषि क्षेत्रको पुनर्जीवनलाई पनि कार्यक्रमले विशेष प्राथमिकता दिएको छ। झापा कृषि ज्ञान केन्द्रको सहकार्यमा ४४ जना किसानलाई जलवायुमैत्री कृषि तालिम प्रदान गरिएको छ। त्यसैगरी ९८ परिवारलाई उन्नत जातको धानको बीउ, १०० परिवारलाई आँप र लिचीका २०० बिरुवा, तथा ६० परिवारलाई विभिन्न जातका तरकारीको बीउ वितरण गरिएको छ। यसले बाढीपछि प्रभावित किसानलाई पुनः उत्पादनतर्फ फर्किन महत्वपूर्ण सहयोग पुगेको छ।
जीविकोपार्जन सुधारका लागि २० परिवारलाई ट्युबवेल स्ल्याब निर्माण सहयोग, २० परिवारलाई बङ्गुरपालनका लागि पाठा तथा खोर निर्माण सहयोग उपलब्ध गराइएको छ। सुगावथानमा एउटा उच्च ट्युबवेल मर्मत गरिएको छ भने मिलन बस्ती, सुगावथान र होकलबारीमा बोरिङ तथा मोटर सहयोग प्रदान गरी सिँचाइ व्यवस्थालाई समेत सहज बनाइएको छ।

शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै गौरीगंज गाउँपालिका–१ का सालमारा, इन्द्रेणी र आमगाछी प्राथमिक विद्यालय लाई शैक्षिक सामग्री वितरण गरिएको छ। साथै, सशस्त्र प्रहरी बल झापाको सहजीकरणमा गौरीगंज र झापा गाउँपालिकामा ४३ जना सहभागीलाई सात–सात दिने विपद् स्वयंसेवक परिचालन तालिम सञ्चालन गरिएको छ। जनप्रतिनिधि, विभागीय प्रमुख, सीडीएमसी, सशस्त्र प्रहरी लगायतको सहभागितामा पूर्वानुमानमा आधारित पूर्वकार्य (Anticipatory Action) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ।
न्याय तथा विकासका लागि सामाजिक सञ्जालका अध्यक्ष सोमनाथ भट्टराई ले विपद्पछि केवल राहत वितरणमा सीमित नरही प्रभावित समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “राहतले तत्कालको समस्या समाधान गर्छ, तर पुनर्निर्माण, जीविकोपार्जन र विपद् तयारीले समुदायलाई दीर्घकालीन रूपमा सबल बनाउँछ। स्थानीय सरकार, समुदाय र साझेदार संस्थाबीचको सहकार्यले मात्रै दिगो पुनर्स्थापना सम्भव हुन्छ।”
कार्यक्रम संयोजक कुमार चुडाल का अनुसार परियोजनाले घर निर्माण मात्र नभई कृषि, खानेपानी, सरसफाइ, शिक्षा र विपद् व्यवस्थापनलाई एकीकृत रूपमा समेटेको छ। उनले भने, “हामीले समुदायको वास्तविक आवश्यकताको आधारमा कार्यक्रम सञ्चालन गरेका छौं। यसबाट प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्किन सहयोग पुगेको छ। आगामी दिनमा पनि समुदायको विपद् सहनशील क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

एसएन जेडी र एलडब्लुएफ नेपालको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रमले बाढीपीडित परिवारलाई सुरक्षित आवास, पुनर्जीवित कृषि, आयआर्जनका अवसर तथा विपद्सँग जुध्ने क्षमता विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। राहतदेखि पुनर्स्थापना र दीर्घकालीन विकाससम्मको यो समन्वित प्रयास स्थानीय स्तरमा विपद् व्यवस्थापनको प्रभावकारी नमुनाका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।









