१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

राजवंशी जातिभित्रका गोत्र र थर : एक अवलोकन


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200527_133101

— डा. विष्णुविभु घिमिरे

“गोत्र” वंशसँग सम्बन्धित मानिन्छ । “गोत्र” शब्द प्रचलनको सम्बन्धमा दुई मत छन् । पहिलो मतअनुसार प्राचीन कालमा जाति कुटुम्बहरू मिलेर आफ्ना गाईहरू एउटै गोठ (गोष्ठ)मा बाँद्धथे या राख्तथे तिनीहरूको एउटै गोत्र मानिन्थ्यो, तर दोस्रो मत राख्नेहरू “गोत्र” लाई वंशपरम्परासँग सम्बन्धित मान्दछन् । उनीहरूको विचारमा कुनै एक वास्तविक वा काल्पनिक आरम्भको कुनै पुरुष, जसबाट वंशपरम्परा आरम्भ हुन्छ उसैको नाउँबाट “गोत्र” प्रचलनमा आएको मान्दछन् । गोत्रका आदि पुरुष ब्राह्मण ऋषि मानिन्छन् । जसको गोत्र विभिन्न कारणवश लोप हुन्छ, अथवा जसलाई आफ्नो गोत्र थाहा छैन, साथै अन्य जातिले हिन्दू धर्म र जातिमा आउँदा पनि उनीहरू कश्यप गोत्रका मानिन्छन् । किनभने कश्यप ऋषि सबैका पूर्वपुरुष मानिन्छन्
(शर्मा “पर्वतीय” : ई. १९९५ ः २९२–२९३) ।
संस्कृतमा “गोत्र” शब्दले वंशलाई जनाउँछ । हिन्दू धर्मअनुसार गोत्र भन्नाले कुनै पनि जातिको थर या उपथरको पूर्वजलाई मानिन्छ । विभिन्न थर भए पनि गोत्र एउटै हुनेलाई “सगोत्री” भनिन्छ । हिन्दू धर्मको मान्यताअनुसार सगोत्रीहरूमा विवाह हुँदैन । किनभने सगोत्रीलाई आफ्नो एउटै वंशभित्रको सन्तानका रूपमा मानिन्छ । सामाजिक मानवशास्त्रीहरूले गोत्रलाई यसरूपमा मात्रै नस्वीकारी कुनै पनि काल्पनिक निर्जीव वा सजीव वस्तुहरूबाट गोत्र निर्माण भएको हुन सक्तछ भनेका छन् । उनीहरूका अनुसार “गोत्र” पुख्र्यौली नाउँबाट, टोटम वा कुनै भूभागीय नामबाट आएको हुन सक्दछ (दाहाल, २०३६ ः ३१) ।
राजवंशीहरू “गोत्र” सम्बन्धमा आफूलाई सूर्यवंशी क्षत्रिय र कश्यप गोत्रका बताउँछन् । उनीहरूको कथनअनुसार त्रेतायुगमा परशुरामले क्षत्रियमाथि दमन आरम्भ गरेपछि उनको आक्रमणबाट बाँच्न यिनीहरू यत्रतत्र भागे । यही क्रममा उनीहरू भारतको विभिन्न ठाउँमा र नेपालको झापा, मोरङमा आइ बसोवास गर्न थाले । क्षत्रीयहरूले धारण गर्ने यज्ञोपवित (जनै) पनि फुकालेर फ्याले र घरमा लसुन, प्याज झुन्ड्याए । त्यसबेला बाहुन, क्षेत्रीले लसुन प्याज खाँदैनथे । ती भन्दा तल्ला जातिले मात्र यसको प्रयोग गर्दथे । क्षेत्रीय भनेर परशुरामले आक्रमण नगरुन भनेर उनको भयबाट बाँच्न आफ्ना पुर्खाहरूले यसो गर्नु परेको राजवंशीहरू बताउँछन् ।
राजवंशीहरूका पुर्खाहरू “कोच” भएको उल्लेख पाइन्छ । कोच राज्यका संस्थापक विशु (विश्वसिंह) ले कोचबाट आफूलाई “राजवंशी” भनी हिन्दूधर्म ग्रहण गरेको कुरा विभिन्न ऐतिहासक प्रमाणबाट जानकारी पाइन्छ । कोच (राजवंशी) वंश कुनै गोत्र विशेषको नभएर दैवी शक्तिबाट आरम्भ भएको वंश पनि मानिन्छ । कोच राज्यका संस्थापक विश्वसिंहका सम्बन्धमा यस्तै राजवंशी समाजमा प्रचलित एउटा रोचक कथा छ । जसअनुसार विशु(विश्वसिंह) का बाबु हडिया मण्डलका हीरा र जीरा नाउँ गरेका दुई पत्नीहरू थिए । एक दिन ढुङ्गाको काम गरिरहेका हडिया मण्डललाई काम गरेकै ठाउँमा खाना लिएर उनकी पत्नी हीरा घरबाट निस्किन्् । बाटामा जाँदै गर्दा एउटा निर्जन ठाउँमा स्वयं “शिव” हडियाको रूपमा खडा भए । त्यो उन्मुक्त वातावरणमा शिव र हीराबीच शारीरिकसम्बन्ध भयो । यसबाट हीरा गर्भवती भइन र उनको कोखबाट “विशु” को जन्म भयो । त्यसैले ब्राह्मण पण्डितहरू हीरालाई शिवको पत्नी पार्वतीका रूपमा र विशुलाई भगवान् शिवको अंशका रूपमा मान्छन् । यसरी कोच राजवंश दैवी शक्तिद्वारा सञ्चालित वंश हो भन्ने मान्यता राख्नेहरू पनि पाइन्छन् ।
राजवंशी जातिका गोत्रका सम्बन्धमा रिजलेले कोच, मदाई, राजवंशी, पालिया र देसी आदिलाई द्राविडियन र पूर्वी वंगालको जाति हुन् भनेका छन्, जसमा मंगोलियन रक्तमिश्रित भएको हुन सक्छ । तिनीहरू अहिले ब्राह्मण पुरोहित लगाउँछन् । ब्राह्मण धर्म पालना गर्छन् । तिनीहरू आफूलाई कश्यप गोत्रका संझन्छन् । यसरी हिन्दू भएका कोचहरूलाई राजवंशी भन्छन् भनेर उल्लेख गरेका छन् (रिजले, १८९१ ः ४९१) ।
राजवंशीहरूको विवाह सगोत्रीमा पनि हुन्छ, तर एउटै गाउँमा भए सात पुस्तापछि र बाहिर टाढा बसेको भए ती चार पुस्तापछि मात्र सगोत्रीमा विवाह गर्ने चलन भएको कुरा स्पष्ट पारिएको छ (पन्त, २०४१ ः ८५) ।
राजवंशीहरू एकै वंश र एकै गोत्रका भएकाले एकआपसमा वैवाहिक सम्बन्ध जोड्नु पर्दा अरू हिन्दू जातिले झैँ कुल (गोत्र) तथा वंशलाई त्यति महत्व दिँदैनन् । थाहा पाएसम्म हाडनाता जोगाएर विवाहसम्बन्ध जोड्छन् । थाहा पाएसम्म बाबुपट्टि अरू हिन्दूसरह सात पुस्ता र आमापट्टि पाँच पुस्ता एवं गुरुकुलमा बाबु पुस्तासरह सात पुस्ता नघाई विवाह गर्ने नियम भए पनि आफ्ना पुस्ताहरूका बारेमा यिनीहरू खासै सचेत रहेको पाइँदैन ।
राजवंशीहरूको गोत्रको ठेगान नभएकाले उनीहरू हिन्दू हुने बेलामा ब्राह्मणहरूले उनीहरूको गोत्र “कश्यप” राखि दिएका हुन् । राजवंशीहरूको अरू हिन्दू आर्यको झैँ अरू कुनै गोत्र छैन । राजवंशी जातिमा गोत्रको सट्टामा “पोरुवा” भन्ने हुन्छ ।
“पोरुवा” बाट नै राजवंशी जातिमा वंश (गोत्र) निर्धारण हुन्छ । बिहेबारीसम्बन्ध जोड्दा गोत्रको कुरा उठ्दैन, “पोरुवा” को कुरा उठ्छ । “पोरुवा” भन्नाले राजवंशी जातिले मान्ने आफ्नो कुलठाकुर
(कुलदेवता)लाई बुझाउँछ । प्रारम्भमा धार्मिक सम्प्रदायका धर्मगुरुहरूले आफ्नो धर्म प्रचार गर्ने क्रममा मानिसहरूलाई आफूतिर आकर्षित गरे । ती धर्मगुरुहरूमध्ये रामानन्द, गदाधर र नित्यानन्द मुख्य थिए । पछि अरू सम्प्रदायको जन्म र विकास हुँदै गयो । पछि आआफ्ना धर्मगुरुको नाम शिष्यसमूहमा जोडियो । आआफ्नो गुरुको नाउँबाट आफ्नो वंश या “पोरुवा”को नाउँ रह्यो । जातीय र गोत्रीय दृष्टिले राजवंशी एकै भए पनि आन्तरिकरूपमा यिनीहरूलाई छुट्याउने मापकका रूपमा “पोरुवा”लाई आधार मानिन्छ । जसलाई राजवंशीहरू कुलठाकुर (कुलदेवता) भन्दछन् । परम्पराबाट मानि आएका राजवंशीका आआफ्ना परिवारिक या वंशीय कुल ठाकुरहरू छन् (राजवंशी, २०६१ ः २३) ।
यी ठाकुरहरूमा पनि कोही बढी शक्तिशाली, कोही कम शक्तिशाली मानिन्छन् । विवाहसम्बन्ध जोड्दा समान शक्ति भएका घर परिवारकी या कम शक्तिको ठाकुर मान्ने परिवारको कन्यासँग विवाह गर्नु उत्तम मानिन्छ । आफूभन्दा शक्तिशाली “पोरुवा”
(कुलठाकुर) मान्ने परिवारको ग्रह कडा हुन्छ भन्ने धारणा छ । त्यस्ती कन्या बधूका रूपमा भित्र्याउँदा वरपक्षमा अफाव र अशुभ मानिन्छ । अतः विवाहका समयमा कुलठाकुरहरूबारे राम्रो सोधपुछ गर्ने चलन छ ।
राजवंशी भाषा प्रचार समितिका अध्यक्ष फुलसिंह राजवंशीले नेपालका राजवंशीहरूले मान्ने कुलठाकुरहरूको संख्या १६ वटा भएको उल्लेख गरेका छन् । जस्तो (१) सत्गुरु, (२) चैतन्य, (३) नितानन्द, (४) आदित, (५) रामाउत, (६) लक्खी गदाघर, (७) कवीर, (८) उदित, (९) वलोराम, (१०) ठुनठुनिया, (११) ढाडीगर, (१२) चतुरमारिया, (१३) जगबन्धु,
(१४) सीता उदित, (१५) तुलसिया र (१६) चन्नतखेल (राजवंशी, २०५४ ः ५८) ।
राजवंशी जातिमा विभिन्न जात उपजात भएजस्तै विभिन्न थरहरू पनि छन् । यस समुदायभित्र विभिन्न थरहरू भए पनि नेपालमा बसोवास गर्ने राजवंशी समाजमा प्रमुखरूपमा एघारवटा थरहरू देखिन्छ जस्तो– (१) खटाहा (खोटा), (२) ताजपुरिया, (३) कानगोई, (४) कोच, (५) चाउलिया, (६) दुधिया, (७) सरनीया, (८) रमानीया, (९) कोल मकरा, (१०) बोडा राजवंशी आदि ।
भारतमा विभिन्न ठाउँमा बसोवास गरेका राजवंशीहरूका भने सिंह, सिंका, वर्मन, वर्मा, डाकुवा, साइकिया, हजारिका, बोरुवा, चौधरी आदि थरहरू भएको उल्लेख पाइन्छ । झापाका राजवंशीहरूले नामको अन्त्यमा आफ्नो थर “राजवंशी” मात्र लेख्छन् । एउटै गोत्र र वंशभित्र मानिआएका कुल ठाकुर (कुलदेवता) का भिन्नताका आधारमा मात्र यिनीहरू फरकफरक देखिन्छन् । अर्को कुरा झापाका राजवंशीहरूमा आफ्नो समुदायभित्र कुनै प्रकारको जातीय भेदभाव पाइँदैन । विभिन्न संस्कार, चाडपर्व, खानपिन आदि सबैमा समुदायभित्रका सबैले समान स्तरमा भाग लिन्छन् । यहाँ राजवंशीहरूमा पुरुषको नाम भए नामका पछाडि “सिंह” अथवा “लाल” र राजवंशी स्त्रीको नाम भए नामका पछाडि “सरी” अथवा “देवी” लेख्दछन् । मूल नाममा “सिंह” अथवा “लाल” र “सरी” अथवा “देवी” जोडेपछि पुरुष स्त्री दुवैले नामको अन्त्यमा थर लेखिने या राखिने ठाउँमा “राजवंशी” शब्द राख्दछन् । यसरी झापाका राजवंशीहरू विभिन्न थरका भए पनि आफूलाई राजवंशी थरले सम्ष्टिगत रूपमा परिचय दिन्छन् ।

टिप्पणी
१. दाहाल, डिल्लीराम. (सम्पादक). (२०३६), धिमाल लोक जीवन अध्ययन, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
२. पन्त, शास्त्रदत्त. (२०४१) झापाका आदिवासी, ललितपुर ः साझा प्रकाशन ।
३. राजवंशी, पूmलसिंह. (२०५४), राजवंशी संस्कृति, झापा ः राजवंशी भाषा प्रचार समिति ।
४. राजवंशी पानीलाल. (२०६१), “कोच (राजवंशी) लार ऐतिहासिक परिचय,” झापा ः अप्रकाशित लेख ।
५. शर्मा ‘पर्वतीय,’ लीलाधर. (ईं १९९५), भारतीय संस्कृति कोश, दिल्ली ः राजपाल एण्ड सन्ज ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ७ : ४८ बजे