४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाल विकास शिक्षकहरूले विभिन्न मागसहित ध्यानाकर्षण बुझाए



दमक/ झापाका गौरीगञ्ज गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कार्यरत बाल बिकास शिक्षिका र बिद्यालय कर्मचारीहरुले पेशागत मागहरु अघि सार्दै पालिकाको ध्यानाकर्षण गराएका छन ।

बाल बिकास शिक्षक सञ्जाल गौरीगञ्जको अगुवाईमा उनीहरुले पालिका अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने ( कुँवर) लाई मंगलबार कार्यालयमा पुगेर लिखित मागसहितको ज्ञापन बुझाएका हुन । बाल बिकास शिक्षक सञ्जाल गौरीगञ्जकी अध्यक्ष यमुना गौतमको नेतृत्वमा बिभिन्न बिद्यालयमा रहेका ८ जना सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सो टोलीले बढदो मंहगीका कारण आफूहरुको जिविकोपार्जन हुन समेत कठिन रहेकाले महंगी भत्ता उपलब्ध गराउन, अवकाश पछि रित्तो हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्दै उपदानको व्यवस्था गर्न, क्षमता बिकासका लागि समय अनुसार विभिन्न तालिम गोष्ठीहरुको व्यवस्था गर्न, बाल बिकास केन्द्रहरुमा आवश्यक शैक्षिक सामग्री तथा बालबालिकाहरुलाई कठ्याङग्रिदो जाडोमा न्यानो कपडा, कार्पेट लगायतका सामग्री उपलब्ध गराउन माग गरेका हुन ।

नेपाल शिक्षक महासंघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादव, नेपाल शिक्षक संघका गाउँ सभापति गोपाल ताजपुरीयाको उपस्थितीमा ध्यानाकर्षण पत्र बुझदै गाउँपालिका अध्यक्ष राजवंशीले सामुदायिक बिद्यालयहरुको बेस ( आधार) नै बाल बिकास केन्द्र भएकाले यसलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेकाले त्यसमा साथ दिन बाल बिकास शिक्षक तथा कर्मचारीहरु अपिल गरिन । उनले पेश भएका न्यायोचित मागहरुको सम्बोधन गरिने प्रतिबद्धता पनि जनाइन ।

सरकारले गत बर्षदेखि बाल बिकास शिक्षकहरुले पाउँदै आएको मासिक ६ हजार रुपैयाँलाई बढाएर मासिक १५ हजार पाउने गरी व्यवस्था मिलाएको थियो । चालू आर्थिक बर्षदेखि सो तलब बुद्धी भएर १७ हजार रुपैयाँ कायम भएको भएपनि बाल बिकास शिक्षकहरुले आफूहरुमाथि अन्य शिक्षकहरु सरहको समान व्यवहार गर्दै मंहगी भत्ता लगायतका सुविधाहरु माग गरेका हुन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ४० बजे