८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रंगमञ्चदेखि चलचित्रसम्म : हरि बस्नेत डिकेको अविरल कलायात्रा



गौरीगंज ८, जेठ / झापा र आसपासका क्षेत्रमा कला, साहित्य र रंगमञ्चको क्षेत्रमा निरन्तर सक्रिय नाम हो – हरि बस्नेत डिके। करिब तीन दशकदेखि अभिनय, लेखन, निर्देशन र सांगीतिक सिर्जनामा निरन्तर समर्पित उनी अहिले पनि उत्तिकै ऊर्जाशील ढंगले नयाँ पुस्तामाझ सिर्जनात्मक यात्रा अघि बढाइरहेका छन् ।
म्युजिक भिडियो, सर्ट मुभी, कथानक चलचित्र, डकुमेन्ट्री तथा नाटकमार्फत समाजका विविध यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्दै आएका हरि बस्नेत डिकेले हालसम्म ३० भन्दा बढी सिर्जनामा लेखन तथा निर्देशन गरिसकेका छन् । उनका सिर्जनामा मनोरञ्जन मात्र होइन, समाजका विकृति–विसंगति, समसामयिक घटनाक्रम, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनका सत्य कथाहरू समेत गहिराइका साथ समेटिएका हुन्छन् ।
हालै निर्माण भइरहेको “यो कथै कथा भित्रको एउटा एपिसोड” पनि त्यस्तै सामाजिक सन्देश बोकेको प्रस्तुति हो। यसमा हास्यव्यङ्ग्य, यथार्थपरक कथा र जीवनका अनेक पात्रहरूलाई नाटकीय शैलीमा प्रस्तुत गरिएको छ । यो एउटा एपिसोड मात्र नभई आगामी दिनमा विभिन्न कथाहरूलाई क्रमिक रूपमा प्रस्तुत गर्ने योजनासहित निर्माण भइरहेको सिर्जना हो। यसको आधिकारिक सार्वजनिकता भने एचडी च्यानल वानमार्फत हुने बताइएको छ ।


यस प्रस्तुतीमा कथा, लेखन तथा निर्देशन स्वयं हरि बस्नेत डिकेकै रहेको छ भने छायाङ्कन, सम्पादन तथा इक्युपमेन्टको जिम्मेवारी सरोज क्षेत्री झिम्केले सम्हालेका छन् । शीर्षक गीतको रचना पनि हरि बस्नेत डिकेकै रहेको छ । कलाकारका रूपमा दीपक माझी, नारायण राजवंशी, अम्बिका बस्नेत, नुरा सुवेदी, संजय दाहाल लगायतको अभिनय रहेको छ भने अतिथि कलाकारका रूपमा स्वयं हरि बस्नेत डिके पनि देखिएका छन् ।
हरि बस्नेत डिकेको कलायात्रा केवल भिडियो निर्माणमै सीमित छैन । उनले बंगाली भाषामा समेत चलचित्र निर्माण गरेर नयाँ प्रयोग गरेका थिए। “मधुमाला” नामक चलचित्रमार्फत उनले स्थानीय कला क्षेत्रलाई फरक पहिचान दिने प्रयास गरेका थिए । यति मात्र होइन उनले सन्थाली भाषाको लघु चलचित्र हपनमै गौरादह नगरपालिका,गौरीगञ्ज र कमल गाउँपालिकामा पहिलो चोटी निर्माण लेखन तथा निर्देशनसमेत गरेका छन् ।
कथानक चलचित्र उनी र मको मुख्य कलाकार तथा मुख्य सहायक निर्देशकसमेत रहेका हरि वस्नेत डिके रंगमञ्चीय क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। २०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान मा नाटक प्रदर्शन गर्नु उनका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ । त्यही वर्ष झापा जिल्लास्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेर उनले आफ्नो सिर्जनात्मक क्षमताको प्रमाण दिएका थिए ।
नाटक लेखनमा पनि उनको योगदान सशक्त छ । उनले आठभन्दा बढी नाटक लेखिसकेका छन् भने विभिन्न सर्ट मुभीहरू – “प्रायश्चित”, “परिणाम”, “फैसला”, “राहत” लगायतका सिर्जनाले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन् । यीमध्ये धेरै सामग्री अहिले युट्युबमार्फत पनि उपलब्ध छन् ।
सांगीतिक क्षेत्रमा समेत उनको सक्रियता उत्तिकै देखिन्छ। उनले पाँचवटा गीत रेकर्ड गरिसकेका छन्, जसमा चर्चित गायिका मेनुका पौडेल ले समेत स्वर दिएकी छन् ।
समग्रमा हेर्दा, हरि बस्नेत डिके केवल एक कलाकार मात्र होइनन्, उनी समाजका कथा बोल्ने सर्जक हुन् । तीन दशक लामो कलायात्रामा उनले रंगमञ्चदेखि चलचित्र, गीतदेखि व्यङ्ग्यात्मक प्रस्तुतिसम्म आफ्नो छुट्टै पहिचान बनाएका छन् । स्थानीय स्तरबाट सुरु भएको उनको सिर्जनात्मक यात्रा आज पनि निरन्तर गतिमा अघि बढिरहेको छ, जसले नेपाली कला क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : ४० बजे