४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

आर्थिक सहयोगको प्रतीक्षामा झापाका पाँच सय हात्तीपीडित



झापा १४, चैत / झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०–८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि जनधनको क्षति बेहोरेका पाँच सय ३३ परिवारले सरकारी राहतको पर्खाइमा छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि रु एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताउनुभयो । कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उहाँले बताउनुभयो । हालसम्म राहत रकम प्राप्त भएको छैन । “राहत रकमका विषयमा फोन आइरहन्छ”, उहाँले भन्नुभयो, “पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।” गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि रु ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो । राहत माग गरिएकामा पाँचजना मृतकको रु ५० लाख, सातजना घाइतेका लागि रु आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि रु २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर रु छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ३५ बजे