२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

कृषक पाठशालाले बदल्दै सन्थाल बस्तीको जिवनस्तर



स्वस्थ बाली, सुरक्षित उत्पादन र समृद्धिको यात्रामा कोहल टोलका कृषक
हरि वस्नेत (डिके)
मोरङ्ग २२, जेठ / मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–३ स्थित कोहल टोलमा रहेको कृषक पाठशाला हरेक बुधवार हुने कृषि तालिम अहिले स्थानीय कृषकहरूको जीवनमा सकारात्मक परिवर्तनको आधार बनेको छ। विशेषगरी सन्थाल समुदायका कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले आधुनिक, सुरक्षित तथा दिगो कृषि प्रणालीको ज्ञान गाउँ–गाउँसम्म पुर्याउने महत्वपूर्ण अभियानका रूपमा पहिचान बनाएको छ।

लुथरन सामुदायिक कल्याण समाज र एभेन मार्सल समूह को संयुक्त आयोजनामा सञ्चालित उक्त तालिम कार्यक्रमलाई अष्ट्रेलियन लुथरन, एलडब्लुएफ नेपाल तथा अष्ट्रेलियन एडको सहयोग प्राप्त छ। यसले स्थानीय कृषकहरूलाई केवल खेती गर्ने सीप मात्र नभई कृषि व्यवसायलाई वैज्ञानिक, व्यवस्थित र लाभमुखी बनाउन आवश्यक ज्ञान प्रदान गरिरहेको छ।

करीब २० जना कृषक सहभागी रहेको पाठशालामा स्वस्थ बाली उत्पादन, सुरक्षित खाद्य सामग्री उत्पादन तथा “समृद्ध नेपाल” निर्माणमा कृषकको भूमिकाबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिँदै आएको छ। तालिममा सहभागी कृषकहरूले खेतमै सिक्ने, प्रयोग गर्ने र अनुभव साटासाट गर्ने अवसर पाएका छन्। यही कारणले यो कार्यक्रम साधारण तालिमभन्दा फरक र प्रभावकारी बनेको छ।

कृषक पाठशालामा एकीकृत बाली संरक्षण व्यवस्थापन (आईपीएम) का सिद्धान्तहरूलाई विशेष प्राथमिकता दिइएको छ। यान्त्रिक तथा भौतिक उपाय, जैविक उपाय तथा रासायनिक विषादीको विवेकपूर्ण प्रयोगका विषयमा कृषकहरूलाई विस्तृत जानकारी दिइन्छ। साथै रोग तथा कीराको रोकथाम, नियमित निगरानी र पहिचान, नियन्त्रणका उपयुक्त विधिहरूको प्रयोग, अभिलेख राख्ने तथा उत्पादनको मूल्याङ्कन गर्ने विषयमा समेत व्यवहारिक अभ्यास गराइन्छ।

यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कृषकहरूलाई वातावरणमैत्री र स्वास्थ्य सुरक्षित खेतीतर्फ उन्मुख गराउनु हो। रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे जानकारी दिँदै जैविक तथा दिगो कृषि अभ्यासलाई प्रोत्साहन गरिन्छ। परिणामस्वरूप उत्पादनको गुणस्तर सुधारिएको छ, लागत खर्च घटेको छ र कृषकहरूको आम्दानीमा समेत वृद्धि हुन थालेको छ।

कृषक पाठशालाका संयोजक रघु टुडु का अनुसार तालिमले कृषकहरूको सोच र कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको छ। “पहिले धेरै खर्च गरेर पनि अपेक्षित उत्पादन हुँदैनथ्यो, अहिले वैज्ञानिक तरिकाले खेती गर्दा लागत घटेको छ र आम्दानी बढेको छ,” उनले अनुभव सुनाए। उनका अनुसार पाठशालाले कृषकहरूमा आत्मविश्वास बढाउनुका साथै कृषिलाई व्यवसायिक रूपमा अघि बढाउने प्रेरणा दिएको छ।

तालिमका सहजकर्ता उमेश कुमार दनुवार ले कृषकहरूलाई स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै सुरक्षित र उत्पादनमुखी खेती प्रणाली अपनाउन प्रेरित गरिरहेका छन्। कार्यक्रममा संस्थाका सामाजिक परिचालक कमला राजवंशीको समेत उपस्थिति रहेको थियो ।

कोहल टोलको यो कृषक पाठशाला आज केवल एउटा तालिम कार्यक्रम मात्र होइन, ज्ञान, सीप र आत्मनिर्भरताको विद्यालय बनेको छ। यहाँ सिकाइएका प्रत्येक पाठले कृषकहरूको खेतबारी मात्र हराभरा बनाएको छैन, उनीहरूको भविष्य पनि उज्यालो बनाइरहेको छ। कृषि ज्ञान र व्यवहारिक अभ्यासको यो सुन्दर संगमले ग्रामीण कृषिलाई दिगो विकास र समृद्धितर्फ डो¥याउने आशा जगाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ४१ बजे