३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

विपन्न मुसहरहरु छाक टार्नकै लागि चार दिन देखि माछा मार्दै


१६ चैत्र २०७६, आइतबार  

0
Shares

20200329_230404

इन्द्रसिंह राजवंशी
बिर्तामोड १६, चैत / आइतबार दिउँसो महिला र बालबच्चासहित ४० भन्दा बढी मुसहर अधुवा खोलामा माछा मार्दै गरेको भेटिए । शनिबार पनि बिर्तामोड ३ र १० का मुसहरहरु त्यतिकै संख्यामा खोलामा माछा मार्न आएका थिए ।

उनीहरु भेला भएर माछा मार्न थालेको चार दिन भयो । घरमा खानेकुरा नभएपछि विपन्न मुसहरहरु छाक टार्नकै लागि माछा मार्न आएका हुन् । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका मुसहरहरुको काम एक सातादेखि बन्द छ । जसका कारण उनीहरुलाई छाक टार्न मुश्किल भएको हो । घरमा खाने अन्न र तरकारी नभएपछि मुसहरहरु माछा खाएरै गुजारा गर्न बाध्य भएका हुन् ।

घरमा खानेकुरा नभएपछि बाँच्नकै लागि आफूहरु माछा मार्न आएको सन्जु ऋषिदेवले बताइन् । ‘अहिले कसैकसैको घरमा चामल छ ’ उनले भनिन् ,‘ तरकारी चाहिँ सबैको घरमा सिद्धिसक्यो । ’ त्यही भएर सबैजना माछा मार्न आएको उनले जानकारी दिइन् ।

सोही मुसहर बस्तीकी रीता मर्डीले आफ्नो भान्सामा तीन दिनदेखि लगातार माछा पाक्दै आएको बताइन् । दैनिक ज्यालादारीमा काम गर्ने रीताले यो हप्ताको ज्याला नपाउँदा घरमा खाद्यान्न जोहो गर्न नपाएको समस्या सुनाइन् ।

बिर्तामोड – ३ र १० मा २० घर विपन्न मुसहरको बसोबास छ । ९ घर अधुवा खोलाको बगरमा बस्छन् भने ११ परिवारको बसोबास सुकुम्वासी बस्तीमा रहेको छ । अधिकांशले ज्याला मजदुरी गरेर गुजारा गर्ने गर्छन् । कोरोना भाइरसको जोखिम रोकथाम गर्न सरकारले लकडाउन गरेपछि एक सातादेखि उनीहरुले काम गर्न पाएका छैनन् ।

काम बन्द हुँदा सबै मुसहर माछा मार्न अधुवा खोला आएका हुन् ।सरकारले ८ दिनका लागि गरेको लकडाउनका कारण खाद्यान्न अभाव झेलेका मुसहरहरुले यस्तै अबस्था रहे भोकमरीको सामना गर्नुपर्ने देखिएको छ ।

घर बाहिर बस्ने गरेका उनीहरुले कोरोना भाइरसको जोखिमबाट जोगिन कुनै पनि सावधानी अपनाएको पाइदैन । न उनीहरुले मास्क प्रयोग गरेका छन् , न दुरी नै कायम गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : २१ बजे