२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

विपन्नको अनुहारमा मुस्कान ल्याउँदै जन्मदिन मनाइन् दिक्षा घिमिरे कोइराला



गौरीगंज २६, वैशाख/ झापा जिल्लाको गौरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछी निवासी समाजसेवी दिक्षा घिमिरे कोइरालाले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेकी छन् ।
उनले जन्मदिनको अवसरमा सोही वडास्थित सुकुम्बासी बस्तीकी विपन्न तथा एकल महिला सुहागी माझीलाई खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेकी हुन् । पछिल्लो समय जन्मदिनका अवसरमा महँगा होटल तथा रेष्टुरामा पार्टी गर्ने चलन बढिरहेका बेला दिक्षाले भने सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न परिवारलाई सहयोग गरेर मानवताको सन्देश दिएकी छन् ।
दिक्षाले २५ केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, २ केजी नून, ३ केजी भुजा, २ केजी आटा, २ केजी चिउरा, नुहाउने साबुन २ वटा, लुगाधुने साबुन ६ वटा, विस्कुट २ प्याकेट, १ केजी दही, १ जोर चप्पल, छाता तथा भुजिया लगायतका सामग्री हस्तान्तरण गरेकी थिइन् ।
सहयोग हस्तान्तरणपछि उनले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी समाजका दुःखी, विपन्न तथा असहाय नागरिकसँग खुशी साट्न पाउँदा आफूलाई विशेष आनन्द लागेको बताइन् । साथै, आगामी दिनहरूमा पनि साह्रो–गाह्रोमा परेका व्यक्तिहरूलाई सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्य नितेश कुमार साह, युवा समाजसेवी दिपक अर्जेल लगायत छरछिमेकका स्थानीयवासी तथा परिवारजनको समेत सहभागिता रहेको थियो ।
स्थानीयवासीहरूले दिक्षा घिमिरे कोइरालाको यस मानवीय कार्यको प्रशंसा गर्दै जन्मदिनलाई समाजसेवासँग जोड्ने यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ३ : ५६ बजे