१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहुँचको भरमा कामै नसकाई २१ लाख निकासा, ७ घर मुसहर परिवार विचल्लीमा


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

ghar photo

गौरीगंज २४, भदौ / रकम निकासा भएको २ महिना भईसक्दा पनि घर निर्माण नहुदा दलित समुदायका ७ मुसहर परिवार विचल्लीमा परेका छन् । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहाराका ७ मुसहर परिवारको घर निर्माण गरी दिने भनी प्रधानमन्त्री जनता आवास परियोजना अन्तर्गत सरकारले २५ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । तर घर निर्माण उपभोक्ता समितिले घर निर्माण सम्पन्न गर्नु अघि नै बजेट फ्रिज हुने भन्दै पहुचको भरमा रकम निकासा भएको छ । घर निर्माण नहुँदा उनीहरु विचल्लीमा परेका हुन् । गौरीगंज गाउँपालिकाबाट असार २६ गते इस्टिमेट तयार भई घर निर्माणको कार्य शुरु भएको थियो ।
रकम अनुसारको घर निमार्ण नगरेको र निर्माण सामाग्री कमसल प्रयोग गरेको भन्दै पिडित दलित परिवारले आक्रोश व्यक्त गरेका छन् । पिडित फागुलाल ऋषिदेवकी पत्नी सुत्ली ऋषिदेवले हावा चल्दा झयाल, छाना हल्लिने गरेको बताइन् । पानी पर्दासमेत पानी घर भित्र छिरी सबै लत्ता कपडा र अन्य सामानहरु भिज्ने गरेको उनले बताइन् । छोरा,बुहारी नाती सहित ६ जनाको परिवार रहेको उनले समितिले आफुसंग ३० हजार रुपैयाँ मागेको बताइन् । आफु गरिब विपन्न रहेकोले त्यत्रो पैसा कहा“बाट ल्याएर समितिलाई दिने भनी दुःखेसो पोखिन् ।
घर निर्माणका लागि ८ वटा घरका लागि २५ लाख बजेट विनियोज भए पनि एक घरमा विवाद भएपछि ७ वटा घर मात्र निर्माण भएको हो जुन हालसम्म अधुरो छ । इस्टिमेट अनुसार घरको छानोमा टिपेस बास, वाल पलस्टर, घरको छानो, झयाल, ढोका र रङ्ग रोगन गर्ने उल्लेख भएपनि सोही अनुसारको कार्य नभएको पिडित राजकुमार ऋषिदेवले बताए । ढोकाको फ्रेम, झ्यालको फ्रेम, पिलर पनि भुई माथिबाटै लगाएको उनले बताए ।
‘हामीलाई शुरुमा राम्रो घर बनाइदिने भनेर भन्यो, केही दिन पछि टिपेस बासको ‘कोर बत्ती’ लगाइदिने भने तर पछि त लोकल बास लगाएर टिन ठोक्न भने ’ पिडित राज कुमार ऋषिदेवले भने – ‘ मैले धरौटी वापत २० हजार रुपैया“ दिएको छु ।
४ वटा घर निर्माण गर्न ठेक्का लिएका रामचन्द्र महतोले ठेक्का लिएको रकम अनुसार पैसा भुक्तानी नपाएको बताए । उनले भने – एक घर निर्माण गर्न ६० हजार रुपैयाँमा ठेक्का लिएको थिए तर पैसा भुक्तानीका बेला समितिले घाटा लागेको भन्दै आफुलाई ५५ हजार रुपैया“ मात्र दियो ।’ १० ह १० को २ कोठा र ६ फिट बरण्डा बनाई दिने समितिसंग सम्झौता भएको उनले बताए । रकम निकासाका लागि समितिको निर्णय पुस्तिकामा २०७६ साल असार २९ गते मलाई हस्ताक्षर गर्न लगाए उनले भने – ‘समितिले २५ हजार ६ सय रुपैयाँ मबाट लियो ।’
नेपाल सरकारको एक घर बराबर २ लाख ६८ हजार २ सय १७ रुपैयाँ र उपभोक्ताबाट ६७ हजार ६७ रुपैया“ गरी ३ लाख ३५ हजार ३ सय ३७ रुपैयाँको लागतमा घर निर्माण गरिने इस्टिमेटमा उल्लेख छ । समितिले उनीहरुसंग धरौटी वापत कसैसंग ६ हजार, कसैसंग २० हजार रुपैयाँ लिएको छ ।
गाउ“ ब्लकको जग्गामा बर्षौ देखि बसोबास गर्दै आएका करिब २५ मुहसर परिवारको दयनीय अवस्था कमजोर छ । ती मध्ये ७ घर परिवारलाई प्रधानमन्त्री आवास निर्माण परियोजना अन्तर्गत आफ्नो पनि नाम सामेल भएकोमा शुरुमा खुशी थिए तर अन्तिममा आफुलाई निकै दुःखि बनाएको पिडित गंगाराम ऋषिदेवले बताए । ‘एक एक हिसाब लेखेर राखेको छु, कति सामान आयो र कति खर्च भयो’ – उनले थपे –‘ मिस्त्री बाहेक १ लाख ५१ हजार ५ सय ४० रुपैयाँ खर्च भएको हो । ’ उनले ढुगां, इट्टा, बालुवा, रड, चुरी, काटी, तार, सिमेन्ट, मङ्गरा, प्लाई, झयाल ढोका, गिट्टीमा लागेको सबैको खर्चको हिसाब आफुसंग रहेको बताए । ४० हजारको झयाल ढोका, १० हजारको कोरोबत्ती, ४ पत्ता टिन, ३ हजार रुपैयाँको मुङ्गरा आफैले खरिद गरी ल्याएको उनले बताए ।
घरमा रहेको गाई, भैसीं, खसी बेचेर घरको ढोका, झयाल, रड आफ्नै पैसाले खरिद गरी ल्याएको पिडित पुनम ऋिसिदेवले बताइन् । उनले भनिन् – ‘घरको छानो टिन, वाल पलस्टर, वरण्डा निर्माण गर्न बा“की रहेको छ , भएको सबै पैसा सक्यो कहा“बाट ल्याउ“ ? ३५ सयमा कोरोवत्ती, १६ हजारमा २ वटा ढोका, १३ हजारमा ३ वटा झ्याल, १० हजार मिस्त्रीलाई दिएको र २ वोरा सिमेन्ट, १ क्वीन्टल रड, चुरी तार र काटी सबै आफैले खरिद गरेर ल्याएको उनले बताइन् । खर्च भएको पैसा समितिसंग माग्दा घर निर्माण सम्पन्न भईसकेपछि मात्र समितिले पैसा दिने उनले बताइन् ।
घर निर्माण समितिका अध्यक्ष ह्रदय ठाकुरले इस्टिमेट अनुसार नै घर निर्माण गरेको बताए । ढिलो गरी इस्टिमेट तयार हुनु र छोटो समयमा घर निर्माणका सामग्री व्यवस्थापन गर्नु परेकोले समस्या भएको उनले बताए । उनका अनुसार उपभोक्तालाई लाग्ने लागत उनीहरुको सहमति अनुसार नै गरेको उनले बताए । उनले भने – ‘ उपभोक्तालाई लाग्ने ६७ हजार रुपैयाँ हो तर पछि तिर्न नसक्ने भनेपछि ३० हजार कायम गरी सोही अनुसार उनीहरुसंग रकम लिएको हो ।’ गाउँपालिकाबाट २१ लाख रुपैयाँ भुक्तानी लिएको उनले बताए ।
पिडितहरुले पत्रकार बोलाएको सुनेपछि गाउँपालिका अध्यक्ष सहितको टोली आइतबार उक्त मुसहर बस्तीमा पुगेको थियो । गाउ“पालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गरिबको घर बन्छ भनेर किन बजेट फ्रिज गर्ने बरु यसलाई जसरी नि बनाउनुपर्छ भन्ने सोचले रकम समितिलाई निकासा दिएको बताए । समितिको ढिलासुस्ती र कमजोरीले घर निर्माणमा ढिलाई भएको अध्यक्ष श्रेष्ठले बताए । कामै नसकि रकम निकासा दिन नमिल्ने भएपनि समितिलाई विश्वास गरेर निकासा दिएको तर सो अनुसार काम केही बाकी रकेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : ४९ बजे