
दमक २४,पुस / आफना घर तथा जमीन माथि विजुलीको तार विस्तार गरिदाँँ आफूहरुलाई समस्या निम्त्याउने भन्दै झापा, कमल गाँउपालिका ४ र ६ का बासिन्दाहरु विरोधमा उत्रिएका छन् ।
पाँचथरको कावेली करिडोरले त्यस स्थानको सितापुरीमा हाइटेन्टसन लाइनको पोल विस्तार गर्न लागेकाले त्यसलाई गाँउलेका घरजग्गाभन्दा अन्यन्त्रबाट लैजान माग गरिएको स्थानीय समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पारसमणि राईले वताए । त्यस बारेमा गाँउलेहरुले गाँउपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाईएको उनले जानकारी दिए ।
ज्ञापनपत्रमा करिडोरको विजुली विस्तारले त्यहाँ बसोवास गरिआएका दर्जनौ सुकुम्बासीहरु उठिबास हुनुपर्ने अवस्था आउने भन्दै अन्यत्रबाट विस्तार गर्न माग गरिएको छ ।
सञ्चालनमा आउन लागेको उक्त करिडोरले यसअघिनै सितापुरी नजिकै पावर हाउस स्थापना गरेको छ ।
करिडोर पक्षले पावर हाउससम्म ३३ हजार केभीको विजुली जोड्न ती क्षेत्रमा विस्तार गर्न प्रकृया शुरु गरेपछि गाँउलेका घरहरु प्रभावित हुने भन्दै त्यहाँका बासिन्दाहरु आन्दोलित भएका हुन् । गाँउलेका माग विरुद्ध करिडोर पक्ष उत्रिए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
 
                                

 
                                                            




