३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कूटनीतिक समुदायलाई सचेत गराउँदै सरकार


११ बैशाख २०७३, शनिबार  

0
Shares

काठमाडौं ११, वैशाख/ सरकारको कूटनीतिक निकायलाई जानकारी नगराई काठमाडौंस्थित नियोग प्रमुखदेखि प्रतिनिधिहरूले मधेसी मोर्चाका नेताहरूसँग छुट्टै छलफल गरेकोमा सरकारले उनीहरूलाई सचेत गराउँदै भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

नेपालको आन्तरिक राजनीतिक मामिलामा कुनै पनि दल विशेष वा समूहसँग भेट्नुअघि कूटनीतिक प्रतिनिधिले सरकारलाई जानकारी दिनुपर्ने परराष्ट्र मन्त्रालयको धारणा छ । कुनै जानकारीबिना कूटनीतिक समुदाय बेलगाम हिँड्नु भियना कन्भेसनविरुद्ध मात्र नभई कूटनीति आचारसंहिताविरुद्ध समेत भएको अधिकारीहरूले बताए ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मधेसी मोर्चाका नेतासँग सरकारको जानकारीबिना राजदूतहरूले भेट्नु कूटनीतिक मर्यादा र भियना महासन्धिविपरीत रहेको भन्दै उनीहरूलाई सचेत गराइएको जनाएको छ । कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिले सरकारलाई जानकारी नै नगराइकन बुधबार मधेसी मोर्चासँग छलफल गरेका थिए । मोर्चा आन्दोलनको तयारीमा छ ।

कूटनीतिज्ञहरूले नेपाल सरकारको जानकारीबिना कसैलाई भेट्नु कूटनीतिक आचारसंहिता विपरीत हो । आन्दोलनको तयारीमा रहेको र गर्दै आएको पक्षसँग कूटनीतिक समुदायले भेट्नुले उनीहरूलाई त्यस प्रकारको मनोबल दिनु ठहर हुने भन्दै सरकार यसमा सचेत बनेको मन्त्रालयका एक अधिकारीले बताए ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘जानकारी नदिइकन गरिने भेटघाट कूटनीतिक आचारसंहिता र भियना महासन्धिविरुद्ध हो’ भनिएको छ । यस्तो भेटघाट र आफूखुसी गरिने क्रियाकलाप नेपाल सरकारको सूचीमा रहेको समेत अधिकारीहरूले उल्लेख गर्दै यस्ता राजदूत तथा प्रतिनिधिलाई कसरी ट्रयाकमा ल्याउने भन्नेमा सरकार लागिपरेको समेत बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७३, शनिबार  ५ : २४ बजे