गौरीगंज १७, शनिवार / झापा क्षेत्र नं. ५ अन्तर्गत गौरीगंज गाउँपालिकामा नेपाली कांग्रेसको आयोजनामा चुनावी भेला उत्साह जनक सम्पन्न भएको छ। नेपाली कांग्रेस गौरीगंज गाउँ कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा झापा क्षेत्र नं. ५ की नेपाली कांग्रेसकी प्रत्यक्ष उम्मेदवार मन्दरा चिमरिया विशिष्ट अतिथि तथा कांग्रेसका केन्द्रीय सदस्य सुरेश सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो।

नेपाली कांग्रेस गौरीगंज गाउँ कार्यसमितिका सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथि सुरेश सुब्बाले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन संगठन सुदृढ गर्दै घर–घरमा पुगेर जनसम्पर्क बढाउनुपर्नेमा जोड दिए। उनले लोकतन्त्र, समावेशिता र विकासका सवालमा नेपाली कांग्रेसको भूमिका स्पष्ट रहेको उल्लेख गर्दै पार्टीलाई विजयी गराउनु नै वर्तमानको आवश्यकता रहेको बताए।
विशिष्ट अतिथि तथा झापा क्षेत्र नं. ५ की कांग्रेस उम्मेदवार मन्दरा चिमरियाले आफू असल सामाजिक पृष्ठभूमिबाट आएको उम्मेदवार भएको उल्लेख गर्दै जनताको समस्या र आवाज संसदमा बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले विकास, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताउँदै सबै कांग्रेसजनलाई एकजुट भएर चुनावी अभियानमा जुट्न आह्वान गरिन्।
भेलामा महासमिति सदस्य रोहित कुमार साह, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीलगायत वक्ताहरूले कांग्रेसका उम्मेदवार सक्षम, इमानदार र जनउत्तरदायी भएकाले जित सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
सोही अवसरमा अघनुप्रसाद राजवंशीको संयोजकत्वमा गाउँपालिकास्तरीय १५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ। समितिले आगामी निर्वाचनलाई लक्षित गरी संगठन विस्तार, प्रचार–प्रसार तथा मतदाता समन्वयको काम गर्ने बताइएको छ।
कार्यक्रममा निर्वतमान गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन गाउँ कार्यसमितिका सह–सचिव राजेन्द्र ताजपुरियाले गरेका थिए।








