१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेशको चुनावमा झापाली कांग्रेस उम्मेदवारहरु –जसले कम्युनिष्ट किल्ला तोडने साहस गरे



दमक/  प्रदेश एकको राजधानी विराटनगर यतिबेला कांग्रेस अधिवेशनले राम्रैसंग तातेको छ ।  विराटनगर हरेक लोकतान्त्रिक आन्दोलन र नेपाली राजनीतिका हस्तिहरुको गृह नगर पनि हो । कांग्रेस भित्र कोइराला परिवारको २००७ साल अघि देखिको थात थलो पनि हो विराटनगर । यही शहरमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको रौनकले राजनीतिक सरगर्मी औधि बढाएको छ । शीर्ष नेताहरुको ध्यान यहि प्रदेशमा तानिएको छ । कांग्रेसको प्रदेश नेतृत्वका लागि युवा नेता एवं कांग्रेस केन्द्रीय सदस्य समेत भइसकेका लोकप्रिय नेता गुरुराज घिमिरे र कांग्रेस झापाको दुई कार्यकाल सम्म सभापति पद सम्हालिसकेका जुझारु र सशक्त उम्मेदवार उद्धव थापाको प्यानल चुनावी मैदानमा छन । कांग्रेसमा घिमिरेलाई रामचन्द्र पौडेल र कोइराला समुहका नेताहरुको समर्थन रहेको भनिएको छ भने थापालाई पार्टी सभापति शेरबहादुर देउवा र प्रभावशाली मानिने नेता पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको समर्थन रहेको जनाइएको छ । कांग्रेसको आगामी केन्द्रीय महाधिवेशनमा पनि यहि समिकरण कायम रहने चर्चा कांग्रेस वृत्तमा छ । यि दुई प्यानलमा रहेका उम्मेदवारहरुको विशेषता आआफनै किसिमको छ । झापा क्षेत्र नं ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो । कांग्रेसले यो निर्वाचन क्षेत्रमा चुनाव जित्न नसकेपनि यहाँका पालिकाहरुमा निक्कै राम्रो प्रभाव छोडन सफल भएको छ । केही उम्मेदवारहरु कांग्रेसको यो चुनावी मैदानमा छन जसले एमालेको पकड क्षेत्र भनिने झापा ५ का पालिकाहरुको निर्वाचनमा खरो प्रतिस्पर्धा गरेर एमालेलाई चुनौती दिन सफल भएका छन । प्रस्तुत छ तिनै उम्मेदवारहरुको बारेमा संक्षिप्त जानकारी
रोहितकुमार साह (नगर प्रमुख गौरादह)
रोहितकुमार साह गौरादह नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन । देशका धेरै स्थानमा स्थानीय निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउन नसकिरहेको बेला साह झापाको माइपश्चिम भुगोलमा एक मात्रै पालिका प्रमुखको परिणाम कांग्रेसको पक्षमा पार्न सफल भएका नेता हुन् । कांग्रेस जनमुखी पार्टी भएको प्रमाणित गर्न नेता कार्यकर्ताहरु जनताका हरेक दुखसुखमा साथी बन्न आवश्यक रहेको धारणा राख्ने गरेका साह १३ औं महाअधिवेशनमा कांग्रेस झापाको ध्यान खिच्न सफल मानिन्छन ।
उनी तत्कालिन क्षेत्र नं ६ का सभापति पनि हुन । यसपटकको १४ औं महाधिवेशनमा उनी लोकप्रिय मतका साथ खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित साह प्रदेश नं. १ को सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

हुकुमसिंह राई ( गोलाप्रथाबाट बाहिरिनु परेपछि चर्चा)
नेपाली कांग्रेस झापा क्षेत्र नं ५ बाट १४ औं अधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता हुकुमसिंह राई १ नम्बर प्रदेशको शनिबार  हुने अधिवेशनमा प्रदेश सदस्यको उम्मेदवार छन ।
आदिवासी जनजाती कोटाबाट कांग्रेसको प्रदेश १ सदस्यमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका राईको उम्मेदवारीले विशेष चर्चा पाएको छ ।
त्यसो त राई विपक्षीहरुसंग कडा मुकाबिला गर्न सक्ने हैसियत राखेर झापाली राजनीतिमा बेला बखत चर्चामा आएका नेता हुन । केपी ओली नेतृत्वको सरकारले आदिवासी जनजाती रंगशालाको अस्तित्व मेटाउने चेष्टाको विरोधमा कडा संघर्षको कदम चाल्ने अभियानको नेतृत्व गरिरहेका नेता हुन राई । एमाले अध्यक्ष केपी ओलीको रवाफ र प्रभावले ओझेल परेको कांग्रेसको राजनीतिलाई ओलीकै निर्वाचन क्षेत्रमा रहेको कमल गाउँपालिकाको अध्यक्षमा बराबर मत ल्याएर चुनौती दिएपछि राष्ट्रिय राजनीतिको चर्चामा आएका राईको उम्मेदवारीलाई प्रदेश एकको राजनीतिमा चासो र महत्वसाथ हेरिएको छ । प्रदेश अधिवेशनमा उनले आदिवासी जनजाती कोटाबाट १ नम्बर प्रदेश सदस्यमा उम्मेदवारी दिएका हुन । इलाम, पाँचथर, खोटाङ, ओखलढुंगा, मोरङ , सुनसरी, पाँचथर लगायत १४ जिल्लाका कांग्रेस नेताहरुसंग प्रतिनिधिमुलक छलफल र संवादपछि राईले सो कोटामा आफूलाई उम्मेदवारका रुपमा उभ्याएका हुन ।
युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठानेर कांग्रेस राजनीतिमा सक्रिय बन्दै आएका नेता राईले नेपाली राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न आफनो उम्मेदवारी रहेको बताएका छन । नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय कामहरु गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल हुँदै आएका छन ।
राईको नेतृत्वमा स्थापना भएको सगुन युवा क्लब प्रदेश एकमा नै सबैभन्दा ठुलो राशीको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्ने क्लबका रुपमा परिचित छ । राजनीति र सामाजिक सेवाको क्षेत्रलाई संगसंगै लैजानु आवश्यक ठान्ने गरेका राई भन्छन– युवा पुस्तामा राजनीतिप्रति एकदमै धेरै वितृष्णा छ कतिपय विचारबिहिन र लक्ष्यहीन समुहले आफनो निहित स्वार्थका लागि बदनाम गर्ने चेष्टा गरिरहेका छन , राजनीतिक संस्कार र शैलीमा परिवर्तन ल्याउन आवश्यक छ । जस्तो सुकै परिस्थितिमा पनि राजनीति जनतामा जोडिनु पर्छ भन्ने मान्यता राख्दै आएका राई अगाडी भन्छन– जनताको आशा र विश्वास टुटन नदिने वाचासहितको राजनीति हुनुपर्छ ।

राजनीतिलाई समाजसेवामा जोडदै  – रेगिना भट्टराई
रेगिना भट्टराई प्रसाइँ नेपाली कांग्रेस झापाको वृत्तमा स्थापित नेतृ हुन । राजनीतिसंगै सामाजिक क्षेत्रमा अलग किसिमको पहिचान बनाएकी उनी २०७४ को स्थानीय निर्वाचनमा दमक नगर उपप्रमुख पदकी उपविजेता हुन । देशभर कांग्रेसको पक्षमा चुनावी माहोल आउन नसकिरहेको बेला उनले दमक नगरको उपप्रमुख पदमा एमालेकी गीता अधिकारीसंग कडा टक्कर गरेर कांग्रेस झापाको राजनीतिमा आफूलाइ अब्बल र सक्षम नेतृका रुपमा उभ्याएकी छिन ।
राजनीतिलाई सेवाको माध्यम बनाएर दमकमा क्रियाशील नेतृ प्रसाइँले कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ५ को अधिवेशनमा खुल्ला महिला समुहबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन । १३ औं महाधिवेशनबाट समेत महिला कोटामा महाधिवेशन प्रतिनिधि चुनिएकी भट्टराई नेपाल महिला संघ झापा क्षेत्र नं ५ की सभापति पनि हुन । उनले यस क्षेत्रमा दुई कार्यकाल सम्म महिला संघको नेतृत्व सम्हालेकी छिन ।
पार्टीलाई जनतासंग जोडने अभियानमा सधैं अग्रसर भट्टराई शैक्षिक व्यक्तित्वका रुपमा समेत परिचित छिन । शैक्षिक र वित्तिय क्षेत्रमा लगानीकर्ताको पहिचान बनाएर युवा पुस्तालाई स्वदेशमै स्वरोजगारका प्रशस्त अवसरहरु सिर्जना गर्न महत्वपूर्ण भुमिका खेल्दै आएकी भट्टराई दमक बहुमुखी क्याम्पस सञ्चालक समिति, युनिक कलेज, रोजिएज बोर्डिङ स्कूल, दर्पण बचत तथा ऋण सहकारी संस्था लगायतमा आवद्ध छिन । ति संस्थालाई नेतृत्व प्रदान गर्दै आएकी उनले दमक जेसीजमा समेत सफल नेतृत्व गरिसकेकी छिन ।
लायन्स क्लब आफ दमक सेविकाको संस्थापक अध्यक्ष भएर मानवीय सेवामा आफूलाई सशक्त रुपमा अघि बढाइरहेकी भट्टराईले जनताका हर सुख दुखको पार्टी कांग्रेस हो भन्ने प्रमाणित गर्नु कांग्रेस भित्रको साझा चुनौती भएको बताउँछिन । कांग्रेसमा योग्यता, सक्रियता र निरन्तरताका आधारमा कार्यकर्तालाई स्थान दिइनुपर्ने उनको धारणा छ । पार्टीमा सुदृढिकरण र महिलामा सशक्तिकरण भन्ने नारासहित आफू कांग्रेसको चुनावी अभियानमा होमिएको बताइन ।

फूलवती राजवंशी –राजनीतिक उचाई बढाउँदैं
फुलवती राजवंशी कांग्रेस झापाको राजनीतिमा सशक्त र जुझारु महिला नेतृको रुपमा दर्बिलो र अर्थपूर्ण उपस्थिती जनाइरहेकी नेतृ हुन ।
नेतृ राजवंशी आदिवासी जनजाती महिला कोटामा झापा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि कांग्रेसको प्रदेश राजनीतिमा फडको मार्ने प्रयत्न गर्दै आदवासी जनजाती महिला कोटामा उम्मेदवार बनेकी छिन । उनको उम्मेदवारीका बिषय अन्तिम समयमा आएर बिहिबार राती अबेर मात्रै टुंगो लागेपछि चुनावी तयारीमा होमिएकी छिन ।
गौरीगञ्ज ६ साविक खजुरगाछी निवासी राजवंशीले २०७४ को स्थानीय निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठसंग कडा प्रतिस्पर्धा गरेकी थिइन । उनले अध्यक्ष पदमा पाएको जनमतको यतिबेला कांग्रेस पार्टी भित्र अनुमोदन गराउनुपर्ने घडी आएको छ । सिंगो पार्टीको झापा जिल्ला नेतृत्वमा समेत रहेर पार्टीलाई निरन्तर कार्यकर्ता र जनतासंग जोडने अभियानमा उनको योगदानलाई कम आंकल्न मिल्दैन ।। पार्टीमा महिला कार्यकर्ताहरुको सक्रियता अधिवेशन र निर्वाचनहरुमा जस्तै बनाउन जिम्मेवारी प्रदान गर्नुपर्ने उनको धारणा छ । तत्कालिन झापा क्षेत्र नं ६ बाट महासमिति सदस्य भइसकेकी राजवंशी यसपटकको १४ औं महाधिवेशनमा क्षेत्र नं ५ बाट आदिवासी जनजाती महिला कोटामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन ।
२०४६ सालमा जुरोपानीको प्रगति माविमा अध्ययनकै क्रममा नेविसंघको सदस्यता लिएर प्रजातान्त्रिक विचारमा आस्थावान हुन पुगेकी राजवंशी बिद्यार्थी राजनीतिबाटै कांग्रेसमा सक्रिय बनेकी हुन । बिद्यार्थी राजनीतिपछि उनी नेपाल महिला संघमा क्रियाशील भइन । २०६३ सालमा राजवंशी नेपाल महिला संघकी खजुरगाछी गाउँ सभापति भइन । पार्टीको ११ औं महाधिवेशनदेखि अधिवेशनमा प्रत्यक्ष रुपमा चुनिदै आएकी उनले पार्टीको जिल्ला तह तथा महासमितिमा समेत बसेर काम गरिसकेकी छिन । ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिएकी उनी १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भइन । उनी सो कार्यकालमा पार्टीका जिल्ला सदस्य समेत रहेर काम गरिन । १३ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएकी नेतृ राजवंशी कांग्रेस सम्बद्ध आदिवासी जनजाती संघको को जिल्ला सहसंयोजकका रुपमा दुई कार्यकाल बिताइसकेकी छिन ।
नेतृ राजवंशी २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा सो क्षेत्रबाट समानुपातिक तर्फ उम्मेदवार थिइन । पार्टीको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा चुनाव लडेर राप्रपाका बाबुराजा श्रेष्ठलाई कडा टक्कर दिएकी राजवंशी विभिन्न सामाजिक संघ संस्थाको समेत नेतृत्वमा रहेर समाजमा न्याय र अधिकारका लागि सक्रियता जनाइरहेकी सक्रिय नेतृ हुन । १४ औं महाधिवेशनमा पुन उनी महाधिवेशन प्रतिनिधि चुनिएपछि उनको राजनीतिक उचाई बढदो छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४५ बजे