
आत्माराम राजवंशी
समाचार विश्लेषण
गौरीगंज १८, जेठ / झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुल १३ वर्षदेखि अधुरो छ। तर यो पुल केवल अधुरो संरचना होइन, जनताको विश्वासमाथि गरिएको धोखा हो — त्यो पनि देशकै सर्वोच्च पदमा रहेका नेताहरूको जिल्लामा।
यो जिल्ला स्वयं देशका प्रधानमन्त्री तथा नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो। त्यस्तै हालैका वर्षहरूमा देशका सभामुखदेखि भौतिक पूर्वाधार मन्त्रीसम्म यसै क्षेत्रका छन्। कोशी प्रदेशको मुख्यमन्त्री पनि झापाकै हुन्। त्यसमाथि, गगन थापा, प्रचण्डलगायत शीर्ष नेताहरू पुलको निरीक्षण गरिसकेका छन् । तर यति धेरै शक्तिशाली नेताहरूको उपस्थितिमा पनि पुल नबन्नु — केवल लापरवाही होइन, योजनाबद्ध उपेक्षा हो।
विसं २०६८ मा सुरु भएको कन्काई पुल निर्माण २०७२ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर १४ वर्षपछि पनि केवल ५८ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ। यो स्थितिमा प्रश्न उठ्न थालेको छ — जब देशका उच्च नेतृत्व यसै जिल्लाबाट प्रतिनिधित्व गर्छन् भने किन पुल निर्माण जस्ता सरल योजना दशक लामो अलपत्रमा पर्यो रु
जनताको बुझाइ छ — नेताहरू केवल पुल निरीक्षण गर्न आउँछन्, फोटो खिचेर सन्देश दिन्छन्, तर त्यसपछि केही पनि हुँदैन।
स्थानीय बासिन्दा इश्वर माझी भन्छन्, “केपी ओली प्रधानमन्त्री हुँदा दुई पटक आएका थिए, प्रचण्ड आए, गगन थापा आए — तर पुल भने त्यहीँ छ, अधुरो। हामीलाई त अब नेताको भ्रमण भन्दा बाढीको त्रास ठूलो लाग्छ।”
यो पुल केवल स्थानीय पूर्वाधार होइन — यो केन्द्र र प्रदेश सरकारको मिलन बिन्दु हो। संसदमा झापाबाट निर्वाचित नेताहरूले यो विषय बारम्बार उठाएको दाबी गर्छन्। तर त्यो उठाइ कागजमै सीमित देखिन्छ।
कोशी प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री स्वयं झापाबाट भए पनि बाढी नियन्त्रणदेखि तटबन्ध निर्माणसम्म कुनै प्रभावकारी पहल हुन सकेको छैन।
यसैगरी स्थानीय तहले पनि संरचनागत रूपमै कमजोरी देखाएको छ। योजनामा सामुदायिक संलग्नता, बजेट पारदर्शिता र नियमित अनुगमनको कमी स्पष्ट देखिन्छ।
पुल नबन्दा समस्या त थियो नै, अहिले पुलसँग जोडिएको हुलाकी सडक पनि भत्किसकेको छ। बाढी नियन्त्रणका लागि निर्माण सुरु गरिएको तटबन्ध अझै अधुरो छ। यसको प्रत्यक्ष मारमा परेका छन् — टप्पु, देवीगाडा, होकलवाडी, धानगाडा, रंगीयाथान, विर्खे वस्ती र सौरीघुटुका बासिन्दा।
टप्पुका एक स्थानिय भन्छन्, “हामीलाई नेताको नाम थाहा छ, काम छैन। बाढी आउँछ, खेत डुब्छ, घर कटान हुन्छ — तर नेताहरू आउँछन् केवल भाषण दिन।”
देशका शक्तिशाली नेताहरूको जिल्लामा यस्तो अवस्था हुनु आफैंमा विडम्बनापूर्ण छ। यो पुलको ढिलाइले स्पष्ट देखाउँछ — नेताहरूको उपस्थिति मात्र होइन, उनीहरूको प्रतिबद्धताको परीक्षण चाहिन्छ।
नेताहरूले भाषण र उद्घाटन समारोहका लागि समय दिन्छन्, तर त्यसपछि योजनाको कार्यान्वयनमा उनीहरूको चासो हराउँछ। यहाँ ‘नारामा विकास, व्यवहारमा विसंगति’ को पुरानै ढर्रा दोहोरिएको छ।
कन्काई पुल आजको नेपालमा ‘अधुरो विकासको प्रतीक’ बनेको छ। शक्तिशाली नेताहरूको जिल्ला, तर पीडित जनता। केन्द्रदेखि प्रदेश र स्थानीय सरकारको संयोजन भए पुल कति समयमै सकिन्थ्यो भन्ने कुरा यहाँका नागरिक भलिभाँति बुझेका छन्।
पुल बनाउने सपना देखाउनेहरूले अब जवाफ दिनुपर्ने बेला आएको छ — किन १३ वर्ष बित्दा पनि पुल बनेनरु किन जनतालाई हरेक वर्ष बाढीको डरमा बाँच्न बाध्य बनाइयो ?
नेताहरूलाई अब भाषण होइन, काम गर्न जनताले दबाब दिन थालेका छन्। पुल हेर्न आउने नेताहरूलाई अब स्थानीय जनता यही प्रश्न गर्छन् —
पुल हेर्न होइन, बनाउन कहिले आउनुहुन्छ ?
कन्काईको पुलले प्रश्न गरिरहेको छ– नेताहरू तपाईंहरू कहाँ हो ?
कन्काई पुल किन अधुरो ?