१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

सहकारी चुनावमा कांग्रेसलाई पाखा लगाउँदै एमाले माओवादीसहितको वर्चस्व



दमक/ पटक पटक मिति तोकिँदै सर्दै आएको झापा जिल्ला सहकारी संघको १३ बैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेस समर्थित उम्मेदवारहरुलाई पाखा लगाउँदै नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्रसहितको समुहका उम्मेदवारहरु विजयी भएका छन् ।

संघको निर्वाचनमा कांग्रेस–एमालेबीचको समझदारी भंग भएको सार्वजनिक भएसँगै उपाध्यक्षमा एमाले समर्थित नारायण प्रसाद भट्टराई, महिला उपाध्यक्षमा देवी निरौला बस्नेत, सचिवमा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार भवानी प्रसाद दंगाल निर्वाचित भएका हुन् । संघको अध्यक्षमा प्रेम कोइराला र वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका थिए । उम्मेदवारहरुको मनोनयन दर्ता र फिर्ताको प्रक्रिया चलिरहँदा सम्म संघको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएको थियो । २३ चैतमा पार्टीका जिल्ला नेतृत्वबीच भएको समझदारी अनुसार उम्मेदवारी दर्ता र फिर्ताको क्रम नहुँदा कांग्रेसले शुक्रबार एकाएक एमाले सहमति कार्यान्वयनमा इमान्दार नभएको सार्वजनिक रुपमा आरोप लगाउँदै निर्वाचन कार्यक्रम स्थगन गर्नुपर्ने माग राखेको थियो । तर निर्वाचन समितिले पूर्वा निर्धारित तालिका अनुसारनै निर्वाचन कार्यक्रम अघि बढाउँदै सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक भएको मत परिणाम अनुसार सह–सचिवमा टस वहादुर श्रेष्ठ, कोषाघ्यक्षमा केशव वस्नेत र लेखा संयोजकमा चुडामणी ओझा निर्वाचित भएका छन् । खुल्ला सदस्यमा नारायण प्रसाद गौतम, काशिनाथ घिमिरे र प्रेम सागर सापकोटा महिला सदस्यमा बिन्दा कुमारी थापा, निला कुमारी दाहाल, संगिता गजुरेल र पुष्पा अधिकारी चम्लागाई निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय सदस्य तर्फ क्षेत्र नम्बर ५ बाट पदम लिङदेन, १ बाट देवी माया अधिकारी, २ बाट युवराज गौतम ३ बाट हरिकृष्ण अधिकारी र ४ बाट तिलक प्रसाद सिहं राजवंशी तथा लेखा समिति सदस्यमा मिलन आचार्य र राजेन्द्र प्रसाद रिजाल निर्वाचित भएका जनाइएको छ । यस्तो थियो कांग्रेस–एमाले सहमति नेपाली कांग्रेसको झापा जिल्ला नेतृत्वले यसअघि कांग्रेस एमालेकाबीचमा संघको पदाधिकारी तथा सदस्यहरु र लेखा समितिमा समेत एकआपसमा नजुध्ने गरी उम्मेदवारी दिने बिषयमा भएको सहमति पत्र सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एमालेले संघको जिल्ला अध्यक्षसहित खुल्ला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष र लेखा संयोजक पदमा एमालेका तर्फबाट उम्मेद्वारी दिइने उल्लेख गरिएको थियो । त्यस्तै लेखा समिति सदस्य महिला कोटा, खुल्ला सदस्य ३, महिला सदस्य ३ र क्षेत्रगत सदस्य तर्फ ३ जना उम्मेदवारी दिने साथै संघको कांग्रेसका तर्फबाट संघको वरिष्ठ जिल्ला उपाध्यक्ष १, महिला उपाध्यक्ष १ र सहसचिव १ मा उम्मेदवारी दिइने उल्लेख थियो । त्यस्तै कांग्रेसले सदस्यहरु तर्फ क्षेत्रगतरुपमा क्षेत्र नं २ र ५ मा , खुल्ला महिला सदस्यमा १ जना र लेखा समिति सदस्य १ जना उम्मेदवार बनाउने सहमति भएको थियो । सो सम्बन्धिको सहमति पत्र कांग्रेस झापाका सभापति देउकुमार थेवे , सचिव कृष्ण हुमागाइँ र कांग्रेस सम्बद्ध सहकारी विभागका झापा प्रमुख दुर्गाप्रसाद सापकोटाले हस्ताक्षर गरेका थिए भने एमालेका तर्फबाट पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरी, एमाले कोशी प्रदेश सदस्य घनश्याम अधिकारी र एमालेका सहकारी विभाग प्रमुख हरिदास ढुंगानाले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३० बजे