२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बैंकहरुको दसैं धमाकाः कुन बैंकले कस्ता योजना सार्वजनिक गरेका छन् ?



काठमाडौं : प्रमुख चार्डपर्व नजिकिएसँगै अधिकांश कम्पनी तथा संस्थाहरुले विभिन्न किसिमका छुटका योजनाहरु सार्वजनिक गरिरहेका छन् । दसैं -तिहारलाई लक्षित गरेर सामान्य किराना पसलदेखि सवारी बिक्रेतासम्म सबैले ग्राहक आकषिर्त गर्न उपहार तथा छुट योजना ल्याउने गरेका छन् । यसपटक पनि विगतका वर्षमा जस्तै कम्पनीहरुले आकर्षक छुट तथा उपहार योजना सार्वजनिक गरिसकेका छन् ।

चार्डपर्व अफरबाट बैंक तथा वित्तीय संस्थाहरु पनि पछि हटेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम चाडपर्व लक्षित उपहार तथा योजनाहरु ल्याइरहेका छन् । धेरैजसो बैंकहरुले बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्यासब्याक उपहार दिइरहेका छन् । बैंकहरुले ग्राहक आकर्षित गर्न नयाँ खाता खोल्न, रेमिट्यान्स, आवास कर्जा, डिजिटल भुक्तानीमा उपहार, क्यासब्याकलगायतका योजनाहरु ल्याएका छन् । 

कुमारी बैंक क्यासब्याक अफर

कुमारी बैंकले आउदो विजया–दशमीका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दसैं उत्सव क्यासब्याक अफर र ‘दसैं दक्षिणा अफर’ सञ्चालनमा ल्याएको छ । दसैं उत्सव क्यासब्याक अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिंङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैकिंङ प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

यो अफर घटस्थापनादेखि महानवमी सम्मको ९ दिनसम्म सञ्चालन हुनेछ । यो योजना अन्र्तगत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने ब्यवस्था गरिएको छ । 

क्यासब्याकले सेवाग्राहीहरुमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, दसैं दक्षिणा अफर घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दसैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार जनालाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ ।

त्यसैगरी, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन यस बैंकका खातावालहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइन बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तानी गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दसैं दक्षिणा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्नेहरुलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था  बैंकले गरेको छ । 

सानिमा बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकले दसैंको अवसरामा दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले दराजसँग दसैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।   

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरुले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।  यो योजना २०८१ असोज ११ गतेदेखि असोज २१ गतेसम्म अर्थात् ११ दिनका लागि लागू भएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकको ‘दसैं दुई गुणा रिवार्ड अफर’

सिद्धार्थ बैंकले दसैंलाई लक्षित गरी आफ्ना ग्राहकहरुका ‘दसैं दुई गुणा रिवार्ड अफ’ सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत सिद्धार्थ बैंकको कार्ड वा मोमाइल बैंकिङ कारोबारमा ग्राहकहरुले २ गुणा बढी प्वाइन्ट प्राप्त गर्नेछन् । यो योजना असोज ११ गतेदेखि ३० असोजसम्मका लागि लागू भएको छ । 

सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरिएको खरिद (पीओएस तथा ई–कमर्स) र मोबाइल बैंकिङबाट गरिएको टपअपका आधारमा रिवार्ड्समा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सकिनेछ । यसरी आर्जन गरेको प्वाइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्टजस्ता विभिन्न सेवाहरू लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।

सिद्धार्थ बैंकले यो अफरमार्फत ग्राहकहरुलाई डिजिटल कारोबारको लाभ मात्र नभई उनीहरूको बैंकप्रतिको विश्वासलाई पनि अझ बलियो बनाउन प्रयोग गरेको जनाएको छ । उक्त योजनाले ग्राहकहरुको डिजिटल बैंकिङ कारोबारलाई प्रात्साहन गर्नेमा बैंक विश्वस्त छ ।

एनआइसी एसियाले ल्यायो इलेक्ट्रिक उपकरण खरिद गर्दा ४० प्रतिशतसम्म छुट अफर

एनआइसी एसिया बैंकले आउँदै गरेका मेलापर्व लक्षित ‘दसैं–तिहार विशेष अफर’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले तोकिएका पसल, व्यवसायमा इलेक्ट्रोनिक उपकरण खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता पाउनेछन् । बैंकले अधिकतम १० हजारसम्म नगद फिर्तासमेत दिनेछ ।

ग्राहकले एनआइसी एसिया मोबैंक एप वा एनआइसी एसिया डेबिट र क्रेडिट कार्ड प्रयोगमार्फत क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नुपर्नेछ । अफरमा एनआईसी एसिया क्रेडिट कार्डसहित इएमआई सुविधा उपलब्ध हुँदा ग्राहकले सहज किस्तामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

नबिल बैंकको सवारी साधन खरिदमा आकर्षक ‘अफर’

चाड पर्वका अवसर पारेर नबिल बैंकले सवारी साधन खरिदमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ । नबिल बैंकले अटो लोनका साथ यस दसैंमा आफ्नो सपनाको गाडी घर भित्र्याउनुहोस् भन्ने स्लोगनका साथ उक्त योजना ल्याएको हो । बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

बैंकले निजी सवारी साधन खरिद गर्दा ७ वर्षका लागि ८० लाख सम्म लोन उपलब्ध गराउनेछ । व्यावसायिक सवारी साधनका लागि रु ८० लाख लोन ५ वर्षका लागि उपलब्ध गराउने जनाएको छ ।

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा क्यासब्याक

एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (को–ब्राण्डेड कार्ड) होल्डरका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट किन्दा १० प्रतिशत अथवा अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा बैंकले ग्राहकको यात्रामा सहजताका लागि सो अफर घोषणा गरेको जनाएको छ । यो अफर छठ पर्वसम्मका लागि लागू हुने बैंकले जानकारी दिएको  । यसले ग्राहकलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको अपेक्षा छ । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १० : ४९ बजे