२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंज वडा नं. १ स्थित इश्वर वस्तीका विस्थापित २४ घर परिवारलाई राहत, वर्षा भए उच्च जोखिम



गौरीगंज १३, असोज / केही दिन देखि लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित जनताको तटबन्ध भत्काएको छ। तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गौरीगंज गाउँपालिकाको वडा नं. १ को इश्वरवस्ती डुबानमा परेको छ। गाउँपालिकाको वडा नं. १ स्थित इश्वर वस्तीका २४ घर परिवार विस्थापित भएका हुन् । डुबानमा परेका २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले कन्काई नदी किनारको करिब ३ सय मिटर बाँध भत्काएको गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो। बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ भने हुलाकी सडकमा निर्माण गरेरको कल्भर्टको स्पान भत्काएको छ । विस्थापित परिवारलाई वार्ड नं. १ ले आज विहान तत्कालका लागि चिउरा, भुजा, पानी, चाउचाउ वितरण गरेको छ भने गौरीगंज गाउँपाकाले खाद्यान्नको व्यवस्था गरेको छ ।
विस्थापित परिवारलाई जिल्ला रेडक्रस सोसाइटि झापाले त्रिपालको व्यवस्था गरेको छ । बाढी पसेर धेरै बस्तीका मानिस बिस्थापित बन्न सक्ने देखेर राति नै नेपाली सेना ,सशस्त्र प्रहरी र जनपद प्रहरीलाई तैनाथ राखिएको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताइन् । उनका अनुसार कन्काई खोलाको बाँध भत्किए पछि थप समस्या उत्पन्न हुन नदिन बाँध भत्किएको स्थानमा अस्थायी बाँसको कम्पाएल बाँधको व्यवस्था गर्न सम्बन्धित कार्यालयमा कुरा भइरहेको बताइन् ।
भत्किएको बाँध तत्काल निर्माण गर्न नसके बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने साथै हुलाकी सडक भत्किने अवस्था रहेको बताइन् ।
प्रमुख जिल्ला अधिकारी भापाका प्रमुख बन्धु प्रसाद अधिकारीको नेतृत्वमा आएको टोलीले समेत डुबान स्थल निरिक्षण गरेको छ । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेवे, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटिका जिल्ला सभापति लोकराज ढकालसहतिको टोली बाढी पिडित क्षेत्रको निरिक्षण गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ३७ बजे