३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगंज –१ बाल कल्याण माविमा शिक्षासेवीहरुलाई अभिनन्दन र सम्मान, शिक्षक बिद्यार्थी पुरस्कृत



दमक १७, भदौ/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारीस्थित बालकल्याण माविमा शैक्षिक क्षेत्रमा योगदान पुरयाउने बिशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मानसहित उत्कृष्ट शिक्षक र बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
सो बिद्यालय अन्तर्गत सञ्चालित विश्वप्रसाद अधिकारी अक्षय कोष, अच्युत अर्थशास्त्र पुरस्कार र खगेन्द्र लोहार स्मृति पुरस्कारबाट गर्ने गरिएको मान सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सोही कार्यक्रममा अक्षय कोषका संस्थापक विश्वप्रसाद अधिकारी र धर्मपत्नी बिमलादेवी अधिकारीलाई बिद्यालयको तर्फबाट अभिनन्दन र सो बिद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी जयलाल राजवंशीलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ भने खगेन्द्र लोहार स्मृति अक्षयकोषका संस्थापक पदमबहादुर लोहारलाई सम्मान गरिएको छ । सम्मानित राजवंशी ज्येष्ठ नागरिक संघ गौरीगञ्जका उपाध्यक्ष समेत हुनुहुन्छ ।

सो अवसरमा सोही बिद्यालयका पूर्व प्रधानाध्यापक अच्युत नेपालले स्थापना गर्नुभएको अच्युत अर्थशास्त्र पुरस्कारबाट एसइइ परीक्षामा अर्थशास्त्र बिषयमा उत्कृष्ट जीपिए हासिल गर्ने विराज पौडेल र देव राजवंशी तथा कक्षा १२ मा सोही बिषयमा उत्कृष्ट जीपिए हासिल गर्ने दिलिप टुडुलाई पुरस्कृत गरिएको बिद्यालयका प्रधानाध्यापक भिमप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
त्यस्तै सोही बिद्यालयमा रहेको खगेन्द्र लोहार स्मृति पुरस्कारबाट कक्षा ९ मा उत्कृष्ट हुने छात्रा युनिसा दाहाललाई पुरस्कृत गरिएको छ ।
त्यस्तै विश्वप्रसाद अधिकारी प्रतिष्ठानद्धारा कक्षा ५ मा प्रथम हुने सुप्रिया पौडेल, कक्षा ८ मा उत्कृष्ट हुने अञ्जली शाह, एसइयमा प्रथम हुने दुर्गा भण्डारी र कक्षा १२ मा प्रथम हुने गंगादेवी भट्टराईलाई पुरस्कृत गरियो ।
सो प्रतिष्ठानले शिक्षकहरु तर्फ प्राविबाट नर्मदा देवी कँडरिया, निमाविबाट बैजनाथ मेहता र माविबाट सुरेन्द्रकुमार राजवंशीलाई सम्मान गरिएको छ ।
सो अवसरमा अक्षय कोषका संस्थापक विश्वप्रसाद अधिकारीद्धारा लिखित भोजपुरदेखि झापा सम्मको संस्मरणात्मक यात्रा पुस्तकमाथि बिद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनु भएका शिक्षासेवी भोलाप्रसाद खतिवडाले समिक्षा गर्नुभएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको अध्यक्षता र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने ९कँुवर०, गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, साहित्यकार एवं लेखक गोपालप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षकद्धय नारायणबहादुर कार्की र युवराज खतिवडा, जनकल्याण आबिका प्रधानाध्यापक चन्द्रप्रसाद भट्टराई लगायत सामाजिक , शैक्षिक तथा साहित्यीक व्यक्तित्वहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा आदिवासी जनजातीका विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : २८ बजे