६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

जन्मकैद सजाय पाएका कैदीलाई उन्मुक्ति, गौरादह–७ का वडा सचिव पक्राउ



गौरीगंज २६, जेठ / झापा गौरादह नगरपालिका वार्ड नं. ७ का वडा सचिव ओमनाथ तिवारी पक्राउ परेका छन् । सरकारी छाप र दस्तखत किर्ते गरी जन्मदर्ता प्रतिलिपी दिएको अभियोगमा वडा सचिव तिवारी पक्राउ परेका हुन् ।

जन्मकैद सजायमा जेल जलान भएका साविक जुरोपानी गाविस वार्ड नं. ९ हाल गौरादह नगरपालिका वार्ड नं. ८ की निसा माझीको वास्तविक जन्म मिति परिवर्तन गरी नाबालक प्रमाणित हुने गरी जन्मदर्ता प्रतिलिपी दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरीगंजले हिजो विहिवार विहान १०:३० वजे पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरी थुनामा राखेको छ ।
जन्मकैद सजायमा जेल जलान भएका साविक जुरोपानी गाविस वार्ड नं. ९ हाल गौरादह नगरपालिका वार्ड नं. ८ की निसा माझीको वास्तविक जन्म मिति २०५२ /०७/०४ भएपनि कम उमेर बनाई २०५५ /०४/०७ गते जन्म भएको भनी जन्मदर्ताको प्रतिलिपी दिएको अभिलेखमा उल्लेख छ । वडा सचिव तिवारीले २०७६ /०४ / १२ गते जन्मदर्ताको प्रतिलिपी जन्मकैद सजाय पाएका निसाको आफन्तलाई दिएका थिए ।
गौरादह नगरपालिका वार्ड नं. ८ जुरोपानी बस्ने ११ वर्षिया अस्मिता राजवंशीलाई हत्या गरेको ठहर गर्दै जिल्ला अदालत झापाले मिति २०७२ /०२/१८ गते निसा माझी र उमेश माझीलाई जन्मकैदको फैसला सुनाएको थियो भने सोही ठाउँ बस्ने राम माझीलाई कसुर अनुसार जेल सजाय सुनाएको थियो । हाल उमेश माझी जेलबाट फरार छन भने राम माझी जेलमुक्त भएका छन् ।
जन्मदर्ताको प्रतिलिपीको आधारमा कम उमेर अर्थात नाबालक हो भनी निसाकी आफन्तहरुले कैद मिनाह गरी आममाफी पाऊ भनी राष्ट्रपति समक्ष निवेदन चढाएका थिए ।
संविधान दिवसको अवसर पारेर २०७९ /०६/०३ गते निसा माझीले कैद मिनाह पाई जेल मुक्त भएकी थिइन् । हाल उनी वैदेशिक रोजगारका क्रममा कुबेतमा रहेको बुझिएको छ ।
जन्मकैद पाएका कैदीबन्दी नाबालक भए कम सजाय हुन सक्ने र राष्ट्रपतिबाट आममाफी हुनसक्ने प्रावधान रहेकोले सोही बमोजिम निसाकी आफन्तहरुले जन्म मिती परिर्वतन गरेर कम उमेर अर्थात नाबालक भएको प्रमाण देखाई जन्मकैद सजायबाट मुक्त गराउने परपञ्चमा लागेका थिए ।

२०७१ जेठ ३० गते विद्यालयबाट घर फिर्किने क्रममा ११ बर्षिया बालिका अस्मिता राजवंशी बेलुका ४ बजेदेखि बेपत्ता भएको र २ दिनपछि दमक गौरीगञ्ज सडक खण्ड अन्तर्गतको जुरोपानीको सिसौ घारीमा घासले छोपेको अवस्थामा शव फेला परेको थियो।

निसा माझीले आममाफी पाएको जिल्ला अदालत झापाले सुचना पाएसंगै अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापा हुदै प्रहरीलाई निर्देशन दिएको थियो । इलाका प्रहरी कार्यालय गौरीगंजले सोही निर्देशन बमोजिम निसा माझीको जन्मदर्ता अभिलेख वडा कार्यालयबाट झिकाई अनुसन्धान गर्दा किर्ते गरी जन्मदर्ता प्रतिलिपी दिएको पाएपछि वडा ससिव तिवारी पक्राउ परेको प्रहरीले बताएका छन् ।
सरकारी छाप र दस्तखत किर्ते गरी जन्मदर्ता दिएको ठहर भएको मुद्वमा कानुन बमोजिम ७ वर्ष कैद र ७० हजार जरिवाना हुने कानुनी व्यवस्था छ भने निजामति ऐन बमोजिम विभागीय कार्वाही हुने व्यवस्था छ ।
वडा सचिव तिवारी साविक जुरोपानी गाविसमा २०५८ सालमा कर्मचारीकोरुपमा नियुक्ति भएका थिए । कर्मचारी देखि खरदार हुदै २०७२ सालमा सचिवको रुपमा नियुक्त भई हालसम्म कार्यरत थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : २४ बजे