१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालबाट कोरोना फैलाउने षडयन्त्र भइरहेको भारतीय हौवा


२९ चैत्र २०७६, शनिबार  

0
Shares

20200411_075457

मेचीनगर, २९ चैत / ‘बहुत बडी खबर’ भन्दै हिजो केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा झुठो समाचार समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।

भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भीरताका साथ लिनु नै आवश्यक हुन्न । तर, यो समाचारमा चाहिँ भारतीय सीमा सुरक्षा बल (एसएबी) कै हवाला दिइएको छ । इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाएको छ ।

४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल पनटोका रामगढवाका कमाण्डरले सो पत्र लेखेका हुन् । पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ ।
गत ३ अप्रिलमा प्रेषित पत्रको व्यहोरा यस्तो छ,

20200411_075419

‘अत्यन्त विश्वस्त सूत्रहरुबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला (नेपाल), जानकी टोला, जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका छन् । उनी नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नसमेत संलग्न छन् । यसका साथै, उनले लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् । सूत्रका अनुसार ५–६ जना पाकिस्तानी नागरिकसहित दुई सय जनाजति भारतीय मुस्लिम (मुस्लिम राष्ट्रमा काम गरिरहेका) नेपाल आएका थिए र उनीहरु अहिले चन्दनबस्रा र खैरवा गाउँमा रहेका मदरसाहरुमा बसिरहेका छन् । सुत्रका अनुसार ४०–५० संदिग्ध भारतीय मुस्लिम नागरिकहरु आज आइपुग्ने छन् र आगामी दिनमा अरु धेरै आउन सम्भावना छ । सूत्रका अनुसार यी नागरिकहरुले शरीरको तापक्रम घटाउन प्यारासिटामोल ट्याबलेट खाइरहेका छन् र उनीहरु कोरोना पोजिटिभ हुन सक्छन् । तपाईंको सूचनाका लागि यो पत्र प्रेषित गरिएको छ र सरोकारवाला निकायका साथै नेपालको जिल्ला प्रशासनका अधिकारीहरुलाई सतर्क तुल्याउन अनुरोध गरिन्छ ।’

एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र सन्दिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै, नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरुले थानेदारलाई चिठ्ठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरुमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस विषयमा बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले भारतीय च्यानल टिभी नाइनसँग छन्, ‘हाम्रो नेपालसँग जोडिएका बोर्डरका सबैलाई सतर्क रहन भनिएको छ । अर्को देशबाट भारत छिर्न असम्भव छ ।’
20200411_075419

को हुन् जालिम मुखिया ?
एसएसबीको पत्रमा जालिम मुखियाको नाम–ठेगाना उल्लेख भए पनि परिचय खुलाइएको छैन । तर, इन्डिया टिभीको रिपोर्टमा भने उनी जगरनाथपुर गाउँपालिकाका प्रमुख भएको उल्लेख गर्दै तस्वीर पनि देखाइएको छ ।

पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वा्चित भएका थिए । मधेसी समुदायमा गाउँका अगुवालाई मुखिया भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसैले एसएसबीले ईंगित गरेका व्यक्ति उनै अध्यक्ष जालिम मियाँ नै भएको अनुमान गरिएको छ ।

एसएबीले उनी जाली नोट र अवैध हतियार ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप लगाएको छ । उनी नेकपा अध्यक्ष प्रचण्डसँग निकट नेता हुन् । उनी विगतमा काठ तस्करीलगायत केही विवादमा मुछिए पनि जाली नोट र अवैध हतियारको कारोबारमा संलग्नताबारे पर्साको प्रहरी स्रोतले अनभिज्ञता दर्शायो ।

भारतीय मिडियाले आफ्नो तस्वीर राख्दै समाचार प्रशारण गरेपछि मियाँले फेसबुकबाट संक्षिप्त प्रष्टीकरण दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘(भारतसँग) हाम्रो मित्रताको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ । जालिम मियाँले यस्तो षड्यन्त्र गर्ने कारण के छ ? चाइनामा जालिम मियाँले कोरोना फैलाएको हो ? अमेरिका, फ्रान्स, इटली सारा देशमा जालिम मियाँले फैलाएको हो ? यो संकटको समयमा केही राजनीतिक व्यक्तिबाट मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । कि ममाथि लागेको आरोप प्रमाणित गरियोस्, सजाय भोग्न तयार छु । होइन भने ममाथि षड्यन्त्र गर्नेहरुलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गर्छु । यस विषयमा मैले गृह मन्त्रालयलाई एसएमएस पठाएको छु । जिल्लाका सीडीओसँग पनि समन्वय गर्नेछु ।’

जगरनाथपुर गाउँपालिकाले हिजै एउटा विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत अमितकुमार गिरीले जारी गरेको विज्ञप्तिमा कुनै तथ्य–प्रमाणविना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।

सीमा वारपार गराउन ‘असम्भव’
यस विषयमा हामीले पर्सा जिल्ला प्रशासन र प्रहरीसँग कुरा गर्दा दुबैले यस विषयमा भारतीय पक्षबाट कुनै पत्र वा सूचना नआएको बताए । अहिलेको अवस्थामा सीमा वारपार गर्न सम्भव नै नरहेको उनीहरुको भनाइ छ ।

पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्त यसो भन्छिन्, ‘अहिले नेपाल र भारत दुबै देशमा पूर्ण लकडाउन छ । भारतपट्टि अझै बढी कडाई छ किनकी उनीहरुसँग एसएसबी धेरै संख्यामा छन् । यस्तो अवस्थामा कसैलाई लुकिछिपी नेपालबाट सीमा पार गराउन सम्भव नै छैन । एसएसबीले छिर्न दिन्छन् र ? त्यसैले यो आधारहीन कुरा हो । जिल्लामा हामीले लकडाउन कडाईका साथ पालना गराइरहेका छौँ। यसका लागि हामीलाई कसैको पत्र आउनै पर्दैन । हामी सतर्क नै छौँ । जिल्लाका सबै गाउँपालिकासँग निकट रहेर काम गरिरहेका छौँ ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत यसो भन्छन्–
‘भारतीय मिडियामा आएको समाचारको बारेमा सुनेको छु । तर, हामीसँग भारतीय पक्षबाट औपचारिक रुपमा कुनै कुरा आएको छैन । सीडीओ सा’ब आज व्यस्त हुनुहुन्छ । भोलि बसेर छलफल गर्नेछौँ ।

यतिबेला कसैले सीमा वारपार गर्ने अवस्था हुँदैन । लकडाउन भएपछि हाम्रोतर्फ एपीएफको जनशक्ति बढाएर आई टु आई कन्ट्याक्ट गर्न मिल्ने अवस्था बनाइएको छ । कोही पनि प्रहरीको आँखा छलेर छिर्न सम्भव छैन ।

पहिले चाहिँ लुकिछिपी आउने गरेका थिए । केही दिनअघि जालिमजीको गाउँमा भारतबाट लुकिछिपी आएका केही मुस्लिम नेपालीलाई हामीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका थियौँ । त्यही आधारमा उनीहरुले शंका गरेका हुन् कि ? उनीहरुलाई हामीले पर्सामा एक दिन क्वारेन्टाइन राखेर सम्बन्धित जिल्लामा पठाइसकेका छन् । उनीहरुमध्ये १४ जना रौतहटका, १३ जना सप्तरीका र ८ जना बाराका थिए । उनीहरु सबै अहिले आआफ्नै जिल्लामा क्वारेन्टाइनमा छौँ । पर्साका व्यक्तिहरुलाई चाहिँ हामीले यहीँ क्वारेन्टाइनमा राखेका छौँ । उनीहरु दिल्लीमा भएको जमातमा भाग लिएर आएका हुन् कि भनेर स्थानीय समुदाय पनि सतर्क छन् ।’

गत १८÷१९ गते करिब पाँच सयको संख्यामा भारतीयहरु रक्सौलतर्फ जान आएका थिए । तर, लकडाउनले रोकिए । उनीहरुमध्ये एक सय ८९ जना भारतीयलाई पर्सा जिल्ला प्रशासनले क्वारेन्टाइनमा राखेको छ । बाँकी चाहिँ नजिकै रहेका आफ्ना आफन्तकहाँ गएको सहायक सीडीओ बस्नेतले जानकारी दिए । यसरी रोकिएकाहरु मुसलमान मात्र होइनन् । प्राय ज्याला(मजदुरी गर्नेहरु छन् ।

भारतीय नागरिकहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएको छ । उनीहरुलाई तीन टाइम खान दिइन्छ । भारतबाट नेपाल आउन खोज्नेलाई पनि भारतले क्वारेन्टाइनमा राखेको छ । तर, आफूहरुलाई नारकीय अवस्थामा राखिएको नेपालीहरुले बताएका छन् ।

।। चिरञ्जीवी पौडेल ।।
(स्रोत ः अनलाइन खबर)

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  २ : १४ बजे