१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देश निर्माणमा कांग्रेसनै बढि जिम्मेवारी रहेको कांग्रेस नेताहरुको भनाई



दमक २०, असोज/
नेपाली कांग्रेसका नेताहरुले कांग्रेस मुलुककै अभिभावक पार्टि भएकोले कांग्रेसकै काँधमा मुलुकको बढि जिम्मेवारी रहेको बताएका छन् । नेपाली कांग्रेस झापाको आज सम्पन्न जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले कांग्रेसको नेतृत्वमा भएका बिकाश निर्माणका कामहरुलाई प्रचार गर्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका पूर्व महामन्त्री एवं अग्रज नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताउनुभयो । नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उहाँले यसको प्रचार-प्रसार गरेर कांग्रेसप्रति जनआकर्षण बढाउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समाजको अभिभावक पार्टी भएको बताउँदै कांग्रेसकै काँधमा बढी जिम्मेवारी भएको बताउनुभयो । हारको मानसिकताले निराश र जितको मानसिकताले बढी उत्साहित नभई संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै नेता शर्माले सामाजिक एकतालाइ कायम राख्ने गरी कांग्रेसले नीतिगत निणर्य गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको महाधिवेशनबाट निर्वाचित नेतृत्व अहिले पुस्तान्तरण नहुने दावी गर्दै १५ औं महाधिवेशनमा पार्टीभित्र तीनै पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ सोच र नयाँ चेतना बोकेर पार्टीलाई सुदृढ गर्नुपर्नेमा जोड दिदै नेता आङदेम्बेले विचार नमिल्ने शक्तिहरुबीचको कार्यगत एकता गलत भएको टिप्पणी गर्नुभयो । 
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु नैनसिंह महर, सुशिला ढकाल आचार्य, गोमा भट्टराई लगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस झापाले हालसम्म गरेका गतिविधि एवं भावी कार्ययोजना समेटिएको राजनीतिक सांगठनिक प्रतिवेदन पार्टीका उपसभापति केशवराज पाण्डेले प्रस्तुत गर्नुभएको पार्टि जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ८ : १२ बजे