गौरीगंज ८, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. १ होकलवारीमा रहेको श्री इन्द्रेणी प्राथमिक विद्यालयमा अध्ययनरत विद्याथीलाई न्यानो कपडा (स्वटिर) वितरण गरेको छ । वडा कार्यालयले चिसो बढ्दै गएपछि आज मंगलबार ८४ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरेको हो ।
चिसो मौसमका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या हुने र विद्यालयमा विद्यार्थी निरन्तर आउने वातावरण बनाउन वार्ड कार्यालयले न्यानो कपडा वितरण गरेको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । ‘विगतका वर्षदेखि समेत वडा कार्यालयले विद्यार्थीका लागि स्टेसनरी, न्यानो कपडा लगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं,’ अध्यक्ष राजवंशीले भने, ‘आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिइनेछ ।’ उनले विद्यार्थीको पठनपाठनका लागि आवश्यक पर्ने सबै सहयोग गर्ने वचनसमेत दिए । अध्यक्ष राजवंशीले गरिब तथा विपन्न वर्गका बालबालिकालाई न्यानो कपडाले पठनपाठनमा सहयोग पुग्ने बताए ।
दैनिक ज्यालादारी गर्ने तथा श्रम क्षेत्रका अभिभावकका छोरा छोरीले पढ्ने विद्यालयको लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको वार्ड सदस्य राजभत्त सुनुवारले बताए ।
चिसोको समयमासमेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन्। बालबालिकालाई उपलब्ध गराएको स्विटरले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक शिव मैनालीले बताए ।
विद्यार्थीलाइ न्यानो कपडा उपलब्ध गराएकोमा प्रधानाध्यापक मैनालीले धन्यवाद दिँदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। विद्यालयमा जनशक्तिको कमीले पठनपाठनमा समस्या भएको उनले बताए । वितरण कार्यक्रममा वडा सदस्य रेखा राजवंशी, प्राविधिक सन्तोष ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्य टेक बहादुर योङया, सोम मुर्मू, तारा लिम्बु, मुना हेमरम, देवी राजवंशीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव सुमन रेग्मीले गरेका थिए ।