३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि २५, महासमिति सदस्य उम्मेदवार बन्ने २५ जनाकै इच्छा




गौरीगंज १४, कार्तिक / नेपाली कांग्रेस महासमिति सदस्य चयनमा जुटेको छ । साउन २–८ को केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार कांग्रेस महासमिति सदस्य चयनमा जुटेको हो । असोज मसान्तभित्र महासमिति सदस्यको निर्वाचन सक्नेगरी अघि बढेको कांग्रेसमा ४३ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेका छन् । बाँकी ३४ जिल्लामा पार्टी जिल्ला समितिको बैठक बसेर महासमिति सदस्य छनोट गर्न जिल्ला तहका नेता कार्यकर्ताहरू जुटेका हुन् । केन्द्रिय समितिको परिपत्र अनुसार यही कार्तिक २५ गते भित्र महासमिति सदस्यहरुको छनोट गर्नुपर्ने परिपत्र गरेको हो । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं. ५ को महासमिति निर्बाचन ,केन्द्रीय परिपत्र र नेका झापा जिल्ला समितिको पत्र अनुसार आगामी कार्तिक २५ सम्म सम्पन्न गर्न प्राप्त परिपत्र अनुसार खुल्ला र कलष्टर अनुसार ११ जना निर्बाचित हुनु पर्नेछ

निम्न पदहरू रहेको छ ।
खुला तर्फ ५ जना
महिला खुल्ला २ जना
खस आर्य १ जना
खस आर्य महिला सदस्य १ जना
आदिवासी र जनजाति सदस्य १ जना
आदिवासी जनजाति महिला सदस्य १ जना

झापा क्षेत्र नं. ५ नेपाली कांग्रेसको क्षेत्रिय समितिको वैठकमा २५ जना महाधिवेशन प्रतिनिधिहरुले महासमिति सदस्य बन्ने इच्छा जाहेर गरेका छन् । खुल्ला ५ पदमा अनिलकृष्ण प्रसाईं, रोहित शाह, डा. खगेन्द्र पाण्डव अधिकारी, टिकाराज सापकोटा, ढुण्डीराज भण्डारी, निरज अग्रवाल, भुपाल कटुवाल, मेदनी सिटौला, राजन बहादुर ढुङ्गाना, सत्यनारायण चौधरी, सुरेश सुब्बा, हुकुमसिह राई, हेमन्त कार्की, अमर बराईली, महिला तर्फ २ पदमा चन्द्रा भट्टराई , रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाह्रकोटी, खस आर्य १ पदमा डा. नेत्र बुढाथोकी र बिक्रम अधिकारी, खस महिला १ पदमा तुलसा पन्त, मन्धरा पौडेल, आदिवासी जनजाति महिला १ पदमा फुलवती रावबंशी र रमा लिम्बू, आदिवासी जनजाति पदमा आईन्द्र केरूङ र भुमि राईले महासमिति पदमा इच्छा जाहेर गरेका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ मा ७४७ जना क्षेत्रिय प्रतिनिधि छन् भने सहमतिय प्रणालीबाट सर्वसम्मतरुपमा महासमिति सदस्य छनोट हुन क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा सहमतिय समिति समेत गठन गरेको छ । आगामी २१ कार्तिक सम्म सहमति गर्ने प्रयास समितिले गर्ने छ । निम्न अनुसारको सहमतिय समिति चयन गरेको छ । समितिको संयोजकमा ढुण्डीराज भण्डारी, सदस्यहरुमा प्रकाश कार्की , शेर बहादुर भट्टराई, बिश्वदिप लिङदेन, रबि न्यौपाने, जीवन राई, प्रकाश प्रसाईं (दमक सभापति), पदम बहादुर निरौला ( का.वा. कमल सभापति), गोपाल कोईराला (सभापति गौरादह),अग्नु राजवंशी (गौरीगंज सभापति), दिलिप राई (पुर्व केन्द्रिय सदस्य) र वीर बहादुर प्रसाईं रहेका छन् ।
क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा सम्पन्न क्षेत्रिय वैठकमा जुन पदमा इच्छा जाहेर गरे त्यही पदमा अन्तिम समयसम्म उम्मेदवारको पद कायम रहनु पर्ने निर्णय गरेको महाधिवेशन प्रतिनिधि अमर बराइलीले जानकारी दिएका छन् ।

पार्टीको माहधिवेशन भएको करिब दुई वर्षपछि महासमिति बैठक गर्न लागेको पार्टीले उक्त भेलामा सहभागिता जनाउने महासमिति सदस्य चयनसमेत भर्खर गर्दै छ । विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने यदि सर्वसहमत हुन नसके वडाबाटै छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । तर, कांग्रेसले त्यसलाई व्यावहारिक तवरबाट लागु गर्न सकेको छैन ।

कोशी प्रदेशमा पाँचथर, इलाम, संखुुवासभा र धनकुटाबाट प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेशमा सप्तरी र सिराहाबाट सबै प्रतिनिधि छनोट भएका छन् । वागमती प्रदेशका रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुरको निर्वाचन सकिँदा गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासीमा पनि निर्वाचन सकिएको नेपाली कांग्रेसले जनाएको छ । लुम्बिनी प्रदेशका गुल्मी, रूकुम ९पूर्व०, रोल्पा, प्युठान, बाँके तथा कर्णाली प्रदेशका रूकुम ९पश्चिम०, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट र सुर्खेतबाट पनि प्रतिनिधिको टुंगो लागिसकेको छ ।

सुदूरपश्चिम प्रदेशका बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराको निर्वाचन भएको विवरण आइसकेको छ । त्यस्तै, तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रूपन्देही, बर्दिया, बाजुरामा पनि महासमिति सदस्यको निर्वाचन सम्पन्न भएको बताइएको छ । महासमितिको निर्वाचन भएको तथ्यांक आउन बाँकी रहेको ३४ जिल्लामध्ये केही जिल्लाको आंशिक र कतै सबै क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लाको कुनै पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधिको छनोट हुन सकेको छैन । सोही प्रयोजनका लागि ओखलढुंगाले आगामी २९ गते जिल्ला कार्यसम्पादन समितिको बैठक राखेको जिल्ला सभापति तेजेन्द्र खनालले बताउनुभयो ।

मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, धादिङ, काठमाडौं, पाल्पा, दाङ, कैलालीमा समेत निर्वाचन नभएको कांग्रेसको तथ्यांकले देखाएको छ । कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ५९ बजे