१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपा गौरीगंजद्वारा कर वृद्वि भएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र



गौरीगंज २२, साउन / राष्ट्रिय प्रजातन्त्र पार्टी गौरीगंज गाउँ कमिटिले मालपोत र खाद्यान्न वालीको एरिया निकासी करमा अचाक्ली वृद्वि भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठको अगुवाईमा गएको टोलीले आज सोमबार विधि र नियम नाघेर जनताको ढाड सेक्ने गरी कर जबरदस्त लाद्न खोजेको आरोप लगाउँदै गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँरलाई संयुक्तरुपमा ध्यानाकर्षण बुझाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गौरीगंज गाउँ कमिटिका अध्यक्ष गणेश प्रसाद पोख्रेल तथा सचिव खड्ग बहादुर भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा ग्रामीण क्षेत्र, ग्रामीण आवास, शहरी र व्यवासयिक क्षेत्रका लागि लगाइएको कर अव्यवहारिक भएको, खाद्यान्न बालीहरुमा लगाइएको एरिया निकासी तुरुन्त खारेज गर्नुपर्ने , मिनि वस, ट्रक, टिप्परलगायतका सवारी साधनमा उपयोग शुल्क पुर्नमूल्यांकन गर्नुपर्ने, गौरीगंज गापा वार्ड नं. ५ चिल्लाहा स्थित जनता आधारभूत विद्यालयको व्यवस्थापन समितिको पुर्नगठन गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रश्न गर्नेलाई गाली गलौज गरेको घटनाप्रति छानविन गर्नु पर्ने उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा उल्लेखित विषयप्रति गाउँपालिका गम्भिर नभए चरणवद्व आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ । यस अघि गौरीगञ्ज गाउँपालिकाले वृद्वि गरेको अब्यवहारिक मालपोत शुल्क बिरुद्ध नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाइ सकेका छन् भने एरिया निकासीमा गरेको चर्को शुल्क वृद्वि बिरुद्ध उद्योग बाणिज्य सँघले समेत आइतबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : १७ बजे