१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

गायकीलाई निखार्दै उदीयमान कलाकार अनुराधा राजवंशी



झापा,कात्तिक २४ / उदीयमान कलाकार अनुराधा राजवंशीले स्टेजमा आफ्नो पर्फमेन्स देखाएको पाँच वर्ष भयो । उनले आफ्नो कलालाई निखार्दै लगेकी छन् । नेपाल मधेसी समाज सेवा समितिले हिजो साँझ बिर्तामोड–३ बिर्ताबजारमा आयोजना गरेको छठ पूजा समारोह तथा सांस्कृतिक कार्यक्रममा उनको प्रस्तुतीलाई धेरै दर्शकले रुचाएका थिए । उनी लाइभ स्टेज शोमा खासगरी भजन र गजल गाउने गर्छिन् । आफूहरुले विराटनगरबाट मगाएको कलाकार अनुराधाको प्रस्तुती राम्रो रहेको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।

मोरङ जहदा– ३ की २२ वर्षीया अनुराधालाई स्टेज भजन , पार्टी प्रोग्रामका लागि आयोजकहरुले बढी बोलाउँछन् । भारतको फार्विसगञ्जदेखि लिएर नेपालको सिरहा, सप्तरीसम्म गएर आफूले प्रस्तुती देखाएको उनले बताइन् । आफ्नै एल्बम निकाल्ने सोच बनाएकी उनले केही एल्बममा गीत गाएकी छन् । ‘भोजपुरी र मैथिली भाषाको एल्बममा मैले गाएकी छु , अरु एल्बमहरुमा पनि अफरहरु आइरहेका छन्’ उनले भनिन्,‘आफ्नै एल्बम निकाल्ने सोच राखेकी छु ।’

उनी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीबीएस पहिलो वर्षमा अध्ययनरत छिन् । परिवार र समुदायको सहयोग पाइरहेको बताउने अनुराधा कलाकारिता र अध्ययनलाई संगसंगै अगाडि बढाउने आफ्नो योजना रहेको सुनाउँछिन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ८ : १७ बजे