१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक – १० का २७ भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण



दमक १९, माघ / दमक नगरपालिकाले राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा दमक १० का २७ भूमिहीन परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण गरेको छ ।वडा कार्यालयमा आज संक्षिप्त कार्यक्रमका गरि नगरपालिकाले सामूहिक रुपमा जग्गाधनी पुर्जा वितरण गरेको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यतामा भूमिहीनहरुलाई जग्गा धनी पुर्जा वितरण गरिएको वडाअध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
जग्गा धनी पुर्जा आयोगका केन्द्रीय अध्यक्ष निरौला,दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई,आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे लगायतले वितरण गरेका थिए । वडाअध्यक्ष भण्डारीका अनुसार वितरण गरिएका जग्गा धनी पुर्जा पाउनेहरुमा २ दलित सुकुम्बासी, भूमिहीन १० र अव्यवस्थित बसोबासीका रुपमा १५ परिवार रहेका छन् । आयोगले यसपटक वडाका ३५ परिवारलाई जग्गा धनी पुर्जा वितरणको तयारी गरेको थियो ।
सो अवसरमा जग्गा धनी पुर्जा वितरण कार्यक्रममा बोल्दै वक्ताहरुले सवै नागरिकलाई जग्गाको मालिक बनाउनु पर्ने औल्याएका थिए ।
दमकका १० वटा वडा मध्ये दमक ३ बाहेक अन्य वडामा भने जग्गा धनी पुर्जा वितरणका लागि जग्गाको निस्सा प्रमाणपत्र वितरण गरिसकेको छ । दमकमा जग्गाधनी प्रमाणपत्रका लागि करिव ८ हजार भूमिहीन,दलित भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले निवेदन दिएको नगरपालिकाले जनाएको छ ।
१४६ परिवारलाई धनी पुर्जा
यसैवीच राष्ट्रिय भूमि आयोग झापाले जिल्लाका १४६ भूमिहीन परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । आयोगले हालसम्म गौरादहका ५०, कन्काईका २७, बुद्धशान्तिका ४२ र दमकमा २७ परिवारलाई नियमानुसार जग्गा धनी पुर्जा वितरण गरिसकिएको अध्यक्ष पाण्डेले बताए । आयोग गठन पछि विभिन्न आयोगले दिएको जग्गाका नक्सा, पुर्जा लगायतका भूमि सम्बन्धी ६ सय बढी परिवारलाई सेवा समेत पाएको उनको भनाई छ । आयोगले जिल्लाका १५ वटै स्थानीय तहसंग भूमि समस्या हल गर्नका लागि काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ७ : २६ बजे