५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

दुवै मृगौला फेल भएका धनसिंह राजवंशीकाे ज्यान बचाईदिन आग्रह




बिर्तामोड १६, मंसिर /  झापा कनकाई नपा –९ घैलाडुब्बाका धनसिंह राजवंशीले आफ्नो जीवन बचाइदिन सवैसंग सहयोगको अपिल गरेका छन् ।

दुवै मृगौला फेल भएर हाल बीएण्डसी अस्पताल बिर्तामोडको सघन उपचार कक्षमा उपचार गराइरहेका उनलाई मृर्गौला प्रत्यारोपणका लागि तत्कालै काठमाडौं लैजान चिकित्सकले सुझाव दिएपछि आफूलाई आर्थिक सहयोग गरेर जीवन बचाइदिन उनले सवैसंग सहयोगको अपिल गरेका हुन् ।

आफूसंग भएको सम्पत्ति उपचारमा खर्च भएपछि थप उपचारमा आर्थिक कठिनाई भएकाले थप उपचारका लागि आर्थिक सहयोग माग्नु परेको उनले बताए ।
विपन्न परिवारका राजवंशीको दुवै मृगौला फेल भएपछि थप उपचार गर्न आर्थिक समस्या भएको अरुणोदय इङ्लिस बोर्डिङ स्कूल घैलाडुब्बाका प्रिन्सिपल अरुण राजवंशीले बताए ।
बिद्यालयको तर्फबाट राजवंशीलाई बचाउन २० हजार रुपैयाँ राजवंशीकी छोरी बिद्यालयकी पूर्व विद्यार्थी तथा हाल शिक्षक राधा राजवंशीलाई प्रदान गरिएको उनले बताए ।

त्यस्तै बिद्यालयका पूर्व विद्यार्थी हाल अमेरिका निवासी ओसिन राजवंशीले १० हजार रुपैयाँ र पूर्व विद्यार्थी अनुपमा राजवंशीले एक हजार ५१ रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए ।

राजवंशीलाई बचाउन सहयोग जुटे पनि उनको मृगौला प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने भएकाले धनसिंह राजवंशीलाई आर्थिक सहयोग गरिदिन प्रिन्सिपल राजवंशीले देश विदेशमा रहेका सवै नेपालीलाई आग्रह गरेका छन् ।
मृगौलापीडित राजवंशीलाई बचाउन धनसिंह राजवंशी बचाउ अभियान समेत सञ्चालन गरिएको बताउँदै राजवंशीको जीवन बचाइदिन अभियानमा सरिक भएर आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
यसैबीच मृगौलापीडित राजवंशीकी छोरी राधा राजवंशीले बुबालाई बचाइदिन सवैसंग आग्रह गरेकी छिन् । उनले भनिन् – मेरो बुबाको जीवन तपाईंहरुको हातमा छ । तपाईंहरुले आर्थिक सहयोग गरिदिनु भयो भने मेरो बुबा बाँच्नुहुन्छ ।
उनले आफ्नो बुबालाई बचाउनका लागि आर्थिक सहयोग गरिदिन देश तथा विदेशमा बस्दै आएका अरुणोदय इङ्लिस बोर्डिङ स्कूल घैलाडुब्बाका पूर्व विद्यार्थीहरू लगायत सवै नेपालीलाई आग्रह गरिन् ।

मृगौलापीडित धनसिंह राजवंशीको उपचारमा सहयोग गर्न चाहनेले उनकी छोरी राधा राजवंशीको माछापुछ्रे वैंक सुरुङ्गा शाखाको खाता नम्वर १०६०५२४९५९४४३०११ मा रकम जम्मा गरेर डिपोजिट स्लिप इनबक्स गर्नुहुन वा राधा राजवंशीको मोवाइल नम्वर ९८१५०६७६२६ मा सम्पर्क गर्नुहुन सवैलाई राधाले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १ : ५४ बजे