३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रचण्डले युवाहरुसंग गरे भर्चूअल बैठक, पूर्व माओवादीहरुसंगको एकतामा जोड



दमक/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले आज शनिबार बिहान पार्टीको युवा संगठन वाइसिएल नेपालका नेताहरुसंग पछिल्लो राजनीतिक घटनाक्रमबारे भर्चुअल बैठक मार्फत छलफल गरेका छन ।

अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसंग गहन छलफल गरेर सुझाव समेत लिएका उनको सचिवालयले जनाएको छ ।


पार्टीमा २० प्रतिशत युवा र ३५ महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसंग सम्बन्धित विबिध बिषयमा भर्चुअल माध्यमबाट आवश्यक राय सुझाव दिनेसंगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको वाइसिएल प्रदेश नं १ का संयोजक कर्म पूलामीले बताए ।

‘पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा युवाहरुको भुमिका आदिका बिषयमा अध्यक्ष ज्यूबाट विस्तृत जानकारीसहित निर्देशनहरु भएका छन’– भर्चुअल बैठकपछि संयोजक पूलामीले भने ।

त्यस अवसरमा युवाहरुले अध्यक्ष प्रचण्डलाई पार्टी संगठन चलायमान बनाउन साविकका सबै माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठनिक एकता र सहकार्य अघि बढाउन सुझाव दिएका पनि संयोजक पुलामीले बताए ।


अरुको भर परेर हुँदैन अहिले सम्म भएका टुट फुट र कमि कमजोरीहरुलाई आत्मसाथ गरेर सबै पूर्व माओवादीहरु एकत्रित भएर कम्युनिष्ट पार्टीको बिकास गर्नुपर्ने सुझाव दिइएको संयोजक पूलामीले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ११ : ५१ बजे