१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भक्का दिवसको धक्का ! फरक -फरक मितिमा दिवस मनाईदैँ


२३ पुस २०७७, बिहिबार  

0
Shares

झापा २३, पुष /  आदिबासी समुदायको मौलिक परिकार भक्का(भाका) दिवस मनाउने विषयमा राजवंशी जातिमा विवाद भएको छ ।
विभिन्न जातीय संस्थाहरुले आफूखुशी फरकफरक मितिमा भक्का दिवस नै भनेर मनाउने भएपछि राजवंशी जातिभित्र विवाद भएको हो । कोचिला गाभुर फ्रन्ट  संस्थाले विगत तीन वर्षदेखि पुष २९ गतेलाई राष्ट्रिय भक्का दिवस भनेर मनाउँदै आएको छ ।तर, राजवंशी समाज विकास समिति भद्रपुर नगर समितिले कोचिला गाभुर फ्रन्टले तोकेको मितिलाई नमान्ने भन्दै पुष २५ गते भक्का दिवस मनाउने निर्णय गरेपछि मितिलाई लिएर विवाद भएको हो । त्यसलाई लिएर अहिले सामाजिक संजालमा दुवै पक्षको दोहोरी चलिरहेको छ भने सर्वसाधारण अन्योलमा परेका छन् ।

गैरसरकारी संस्थाको रुपमा रहेको कोचिला गाभुर फ्रन्टले २०७४ सालमा साधारणसभामार्फत पुष २९ लाई राष्ट्रिय भक्का दिवस मनाउने निर्णय गरेको थियो । आफ्नो संगठनले साधारणसभामार्फत पुष २९ लाई भक्का दिवस मनाउने निर्णय गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए । राजवंशी समाज विकास समिति भद्रपुरले पुष २९ मा भक्का दिवसको आधिकारिकताको बारेमा प्रश्न उठाइरहँदा उनले आधिकारिकताका बारेमा कुरा उठाउन जरुरी नभएको बताए । उनले यस वर्ष पनि पुष २९ गते बिर्तामोडमा भक्का दिवस मनाउन लागेको जानकारी दिए ।

त्यसैगरी राजवंशी समाज विकास समिति भद्रपुरले पुष २५ मा भक्का महोत्सव नै गर्न लागेको जनाएको छ । आफूहरुले पुष २५ लाई प्रस्तावित भक्का दिवसको रुपमा मानेर महोत्सव गर्न लागेको भद्रपुर नगर समिति अध्यक्ष हंशधर राजवंशीले बताए । भद्रपुर ४ का वडाध्यक्षसमेत रहेका हंशधरले जातीय संस्था राजवंशी समाज विकास समितिबाट अनुमोदन नभएको अबस्थामा पुष २९ लाई नै राष्ट्रिय भक्का दिवस मान्न जरुरी नभएको भन्दै पुष २५ लाई अनुमोदन गराउनेगरी केन्द्रीय समितिमा प्रस्ताव पेश गर्न लागेको बताए । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले पुष २९ र पुष २५ गते दुवै मितिलाई आफूहरुको समितिले अनुमोदन नगरेको बताए । उनले पुष २९ गतेको निर्णय राजवंशी समाज विकास समितिको नभएको भन्दै तर त्यस कार्यक्रममा सहभागी भएको जानकारी दिए । उनले आफूलाई प्रवुद्ध वर्ग भन्नेले साना साना कुरामा गरेको व्यवहार लज्जास्पद भएको टिप्पणी गरे ।

त्यसैगरी संस्थापक अध्यक्ष फूलसिंह राजवंशीले राजवंशीहरुलाई एकता गर्नका लागि आफूले जातीय संस्था जन्माएको स्मरण गर्दै अहिले एकता हुनुको सट्टा फुट देखिएकोमा चिन्ता व्यक्त गरे । ‘नेतृत्वहरु वेलगामको घोडा भएका छन् ’उनले भने ,‘कुन खाल्डोमा लगेर जाक्ने हुन् थाहा छैन ।’ राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सदस्य देवी राजवंशीले जातीय पहिचान जोगाउन भन्दै एउटै दिवस फरकफरक मितिमा मनाउँदा सिंगो जातिलाई नराम्रो लागेको बताए । उनले बैधानिक संस्था राजवंशी समाज विकास समिति भएको भन्दै सोही संस्थाले नै आधिकारिक निर्णय गर्नुपर्नेमा जोड दिए ।

बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले आफ्नै जातिका नेतृत्वले जाति समुदायलाई समस्यामा पारेको बताए । उनले दुविधा खडा नगरी सर्वमान्य र पछिसम्म भावी सन्ततिले मान्नेगरी चिरस्मरणीय दिवस घोषणा गर्न माग गरे । पूर्वी नेपालमा बसोबासरत राजवंशी , ताजपुरिया , गनगाई, माझीलगायतका जातिले परापूर्वकालदेखि भक्कालाई जातीय परिकारको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्षदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : १४ बजे