३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मल नपाएकाे झाेंकमा सहकारीमा आगजनीकाे प्रयास गर्ने एक व्यक्ति पक्राउ


१६ भाद्र २०७७, मंगलबार  

0
Shares

अर्जुनधारा । रासायनिक मल (युरिया) नपाएको आक्रोशमा सहकारी संस्थामा आगजनी गर्न खोजेपछि अर्जुनधारा ९ का एक ब्यक्ति पक्राउ परेका छन् ।
अर्जुनधारा–९ स्थित कालिका बहुउद्देश्यिय सहकारी सस्थाले रासायनिक मल नदिएको भन्दै ब्यवस्थापन कार्यकक्षमा पेट्रोल छर्किएर आगजनी गर्न खोजेपछि अर्जुनधारा–९ का देवी पौडेल पक्राउ परेका छन् ।
व्यवस्थापन पक्षको कार्यकक्षमा पेट्रोल छर्किसक्दा पौडेललाई शनिश्चरे प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
संस्थामा ५० केजी तौलको ४० बोरा मल आएको अध्यक्ष कर्णबहादुर तामाङले जानकारी दिनुभयो । किसानको माग बमोजिम मल नपुग्ने भएपछि संस्थाले एकसाता अघि नाम टिपाएका किसानलाई प्रतिब्यक्ति १० केजीका दर मल वितरण गरेको थियो ।
हिजोआज आउने किसानलाई पुनः मल आएपछि दिने शर्तमा नाम टिपिएको संस्थाका ब्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो । संस्थाले शेयर सदस्यलाई मात्रै नभई स्थानीय किसानलाई मल दिदै आएको छ । कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले उपलब्ध गराएको मल सहकारी सस्थाले किसानलाई बिक्री गर्दै आएको छ ।
किसानले भने प्रतिब्यक्ति १० किलो मलले नपुग्ने भएपनि कहिं नपाएपछि जति पाइन्छ त्यति लैजानुको विकल्प नरहेको बताएका छन् ।
उता विर्तामोड नगरपालिका वडा नं.–८ स्थित नवदिप सहकारी संस्थाद्वारा सञ्चालित पसलले एकसय ५० बोरा मल लगेको भएपनि माग अनुसार नपुग्ने भएपछि सोमबार वितरण गर्नै नसकेको स्रोतले जनाएको छ । सोमबार मलको माग गर्दै झण्डै एकहजार किसानको लाइन लागेपछि मल वितरण गर्न नसकेको सहकारीले मंगलबार भने प्रतिव्यक्ति १५ किलोका दरले किसानलाई मल उपलब्ध गराएको छ ।
धान रोपेको एक महिनाभित्रमा मल हाल्नुपर्ने भएपनि यो वर्ष समयमा मल उपलब्ध नहुँदा चिन्तामा परेका किसानहरुमा आक्रोश बढ्दै गएको छ । मलको अभावमा धानमा रोग लाग्न थालेपछि स्थानीय सहकारी संस्थाहरुमा उपलब्ध मल किसानको आवश्यकता उपलब्ध छैन भने मल कम भएपनि उनीहरु वितरक संस्थामाथि नै जाइलाग्न थालेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १ : ५६ बजे