४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह बजारमा अनुगमन, खाद्यान्न पसलहरूलाई ४० हजार जरिवाना


१९ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200501_165759
गाैरादह १९, बैशाख ।

जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ४० हजार रूपैयाँ जरिवाना गरेकाे छ ।

गाैरादह नगरपालिका वार्ड नं. १ स्थित गाैरादह बजारका पसलहरूमा र वार्ड नं.७ ग्वालडुब्बा बजारमा रहेकाे पसलमा अनुगमन गर्दा बिलबिजक जारी नगरेको, मुल्यसूची नराखेकाे, कारोवारस्थलमा खाता नराखेको आरोपमा शुक्रवार ६ वटा पसलहरूलाई सो जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

उपभोक्ताहरूले बजारका व्यापारीले मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा तय गरेको मूल्यको दररेट, बिल र खातासमेत हेर्दा २० देखि ३० प्रतिशतसम्म मूल्य बढीमा सामान बेचिरहेकाे पाईएकाे सहायक प्रमुख जिल्ला अधिकारी राईले बताएका छन् ।

समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै नगरपालिका भित्रका ६ वटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु ४० हजार जरिवाना गरेको हाे ।

सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईकाे नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षणमा खाद्यान्न सामग्रीको म्याद ,ब्यावसायीक ईजाजत पत्र,घरेलुमा दर्ता भएनभएको, नापतौल,बिल बिजक, मूल्यसुचीलगायतका खाद्यान्न सामग्रीकाे  निरिक्षण गरेकाे थियाे।

घरेलु उद्योग कार्यलय झापा, नापतौल कार्यालय झापा र गौरादह उद्योग बाणिज्य संघकाे समेत सहभागितामा भएकाे निरीक्षणमा मूल्यसुची नभएका, ब्याबसायिक ईजाजत पत्र र बिल बिजक नभएका, बढी मुल्यमा सामान बिक्री वितरण गरेका पसलहरुलाई पहिलाे पटक सांकेतिक रुपमा जरिवाना गराएको हाे । गौरादह बजारका ६ वटा पसल अनुगमन गरेकाेमा ४ वटा पसललाई प्रति पसल १० हजारका दरले सांकेतिक जरिवाना गरेकाे र २ वटा पसललाई लकडाउन पछि कार्यालयमा उपस्थित हुन सचेत पत्र दिइएको घरेलु उद्योग कार्यलय झापाका प्रमुख छबिलाल खतिवडाले जानकारी गराए।

लकडाउनकाे समयमा सर्वसाधारणहरुमा खाद्यान्न सामग्रीको अभाव हुन नदिन र बजार क्षेत्रमा हुने गरेकाे काला बजारी नियन्त्रण गर्न गरिएकाे अनुगमन कार्यमा ब्यापारीहरुलाई सल्लाह सुझाव सहित बढी कमिकमजाेरी गर्नेहरुलाई सांकेतिक जरिवाना गरिएपनि अनुगमन निरन्तर भइरहेकाले दाेस्राे पटक कमिकमजाेरी भेटिएमा नियम अनुसार कार्यवाही गरिने नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले जानकारी गराए।
अनुगमन टाेलीले गाैरादह नगरपालिकाकाे खाद्यान्न गाेदाम पनि निरीक्षण गरेकाे थियाे । जसमा नगरपालिकाले विपन्न परिवारका लागि खाद्यान्न राखेकाे छ ।

अनुगमनमा गाैरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, उद्योग वाणिज्य संघ गाैरादहका अध्यक्ष जेबी कार्की, वडा अध्यक्ष हेमन्त कार्कीलगायतकाे उपस्थित थियाे ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : २८ बजे