१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुसहर बस्तीमा : हुनेखानेलाई भन्दा हुँदाखानेलाई असर


१४ चैत्र २०७६, शुक्रबार  

0
Shares

Exif_JPEG_420

बिर्तामोड १४, चैत / कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको चार दिन भइसक्यो । लकडाउनको असर हुनेखानेलाई भन्दा हुँदाखानेलाई पर्ने देखिएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका विपन्न वर्गका मजदुरहरुलाई लम्बिदै जाने लकडाउनले प्रत्यक्ष प्रभावित पार्ने भएको हो ।

बिर्तामोड—३ र १० मा रहेका विपन्न मुसहरहरु लम्बिदै गएको लकडाउनले चिन्तित बनेका छन् । विहान बेलुकाको छाक जनमजदुरी गरेर टार्दै आएका १७ परिवार मुसहरको काम बन्द भएपछि गुजारा गर्न समस्या भएको हो । ‘यसरी नै बन्द हुँदै गयो भने हामीलाई भात खानै गाह्रो हुन्छ ’राजेन्द्र ऋषिदेवले भने ,‘ सरकारले हाम्रो लागि व्यवस्था गरिदिनु पर्यो ।’ उनले नत्र आफूहरु भोकभोकै बस्न बाध्य हुनुपर्ने चिन्ता व्यक्त गरे । उनलाई आफूभन्दा आफ्नी विरामी श्रीमतीको चिन्ताले पिरोलेको छ । त्यस्तै सन्तोष ऋषिदेवलाई पनि आफ्ना ६ जना लालावालालाई के खुवाउने भनेर पिर परेको छ । उनी भन्छन्‘काम बन्द भयो काम गरेको पैसा पनि मालिकले दिनु भएको छैन, के गरी खानु र खुवाउनु ?’ काम बन्द भएपछि मुसहर बस्तीका सबै मुसहर पुरुष, महिला र बालबालिकाहरु घरमै छन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिने कुनै पनि सतर्कता अपनाएका छैनन् ।

काम नभएपछि आफूहरु अधुवा खोलामा माछा मार्न आएको विनोद ऋषिदेवले बताए । उनले चामलसँगै सागसब्जीको पनि समस्या बढेको बताए । मुसहर बस्ती अधुवा खोलाकै बगरमा रहेको छ । मुसहर बस्तीका मुसहरहरुलाई कोरोना भाइरसको महामारीबारे सामान्य जानकारी भएपनि कसैले पनि मास्क प्रयोग गरेका छैनन् । न उनीहरुले दूरी नै कायम गरेका छन् । काम नभएपछि सबैजना एकै ठाउँमा बस्ने गरेका छन् । घरमा सब्जी नभएपछि हिजो छिमेकीको बारीबाट आलु खोजेर ल्याएपछि छाक टरेको अन्जु चौधरी ऋषिदेवले बताइन् । उनले लकडाउनमा आफूहरु घरमै बस्न तयार रहेको बताउँदै स्थानयि सरकार ,विभिन्न संघसंस्थालाई खाद्यान्नको व्यवस्था मिलाइदिन आग्रह गरिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ३७ बजे