१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

पूर्वि तराईमा दधिकाद हर्षोउल्लासका साथ मनाईदै


७ भाद्र २०७६, शनिबार  

0
Shares

20190824_091647

गाैरीगंज ७, भाद्र /
कृष्ण जन्माष्टमीको आज पूर्वि तराईमा दधिकाद उच्च हर्षोउल्लासका साथ मनाउदै आएको हामी सबैले देखैकै छौ । दधिकादलाई नेपालमा बिशेषत राजवंशी, ताजपुरीया, गनगाई, माझीलगायतका जातीले झापा, मोरङ, सुनसरीमा भव्य रुपमा मनाउने गरेका छन् ।
दधिकादको शाब्दिक अर्थलाई नियाल्दा दधिको अर्थ दहि र कादको अर्थ हिलो हुन्छ । यस अर्थले दहिको हिलोमा खेलिने खेलनै दधिकाद हो । कोच ईतिहासकार पानिलाल राजवंशीका अनुसार “पौराणिक कालमा भगवान कृष्णको जन्म भएको खुशियालीमा दहिसंग खेल्ने प्रतियोगिता गरिएको जनमानसमा बिश्वास रहेको पाईन्छ । जुन आध्यात्मिक आस्थाका कारण कालान्तरमा दधिकाद खेलको रुपमा परिणत भयो । परापुर्वकालदेखी नै कोच समुदाय खेतीपाती र पशुपालनलाई नै मुख्य पेसाको रुपमा अंगालेको जाती हो । नयाँ वर्षको प्रारम्भ सिरुवा खेलेर गरेपछि आफ्नो खेतीपातिमा ब्यस्त यो जाती हिउँदे बालिको रोपाँई सकेर श्री कृष्ण जन्माष्टमीको भोली पल्ट धुमधाम संग दधिकाद मनाउछन् । ”

दधिकाद धार्मिक आस्थामा आधारित सांस्कृतिक पहिचान भएको सामाजिक पर्व हो । यस पर्वले भगवान प्रतिको श्रद्धालाई मजवुद बनाउदै यी समुदायको लोक संस्कृतीलाई झल्काउछ साथै वैमनस्यता, क्रोध, ईश्र्याको अन्त्य गर्दै आपसि प्रेम र भाईचारालाई उजागर गर्ने गर्दछ । दधिकादको बिभिन्न खेलहरु ख्ेलिन्छन् जस्तै बाँस काद, दोद्लोङ काद, कल काद, कुल्हा काद र्ईत्यादी । दधिकादको बिभिन्न प्रकारहरु भएपनि सामान्यतया ‘बाँस काद’ बढि प्रचलनमा रहेको पाईन्छ । दधिकाद खेल अन्तर्गत खुल्ला चौरमा एउटा अग्लो बाँस गाढिन्छ । रातो कपडामा नरिवल, पान सुपारी, पैसा संगै सुन चाँदी जस्ता बहुमुल्य धातु राखेर बाँसको टुप्पामा झुन्ड्याईन्छ । र बाँसलाई चिप्लो बनाउन घिउ, तेल जस्ता पदार्थले बाँसलाई लेपन गरिन्छ साथै बाँसको अग्र भागमा घिउ र तेल राखिन्छ जसले गर्दा बाँस जति हल्लिन्छ, त्यतीनै यि पदार्थ बाँसको बाहिरी सतह हुदै तल बग्ने हुंदा बाँस चिप्लो भईरहन्छ भने तल भुईमा रातो माटोको हिलो तयार गरिन्छ जसमा प्रतिकात्मक रुपमा थोरै दहि हाल्नु पर्दछ । यसरी तयार भएको काद (हिलो) र चिप्लो बाँसमा राखिएको प्रसाद र पुरस्कार जित्न प्रतिस्पर्धिहरुलाई पन्छाएर शरिरको सन्तुलन नै कायम गर्न कठिन हुने हिलो र चिप्लो बाँस संग संघर्ष गर्दै बाँसको टुप्पो सम्म उक्लेर प्रसाद र पुरस्कार हात पार्नु पर्ने हुन्छ । प्रतिस्पर्धिहरु एक अर्कालाई उछिन्ने क्रममा हिलोमा लडिबडि गर्दा दर्शकहरुलाई भरपुर मनोरञ्जन हुने गर्दछ । अन्तत यसरी एक बिजेताले ग्रहण गर्ने प्रसाद र पुरस्कार पुन ः घरको ठाकुरबारीमा (कुलदेवता) चढाईन्छ । बिशेषत पुरुषहरु सहभागि हुने यस खेलमा सबै उमेर समुहका महिला पुरुष उत्तिकै उत्साहका साथ सरिक हुने गर्दछन् ।

प्रारम्भमा भगवान कृष्णको जन्मको खुशियालीमा गाँउगाँउमा मनाईने दधिकाद पछिल्लो समयमा आएर यस पर्वको महत्व घट्दै गईरहेको राजवंशी भाषा संस्कृती एवम् ईतिहासका जानकार फुलसिंह राजवंशीको बुझाई छ । उनका अनुसार, “ विश्वमा नै मौलिक सांकृतिक पहिचान बोकेको दधिकादको महत्व अत्यन्त धेरै छ । आधुनिकिकरण र नयाँ पुस्तामा पश्चिमी र अन्य संस्कृती प्रतिको बढ्दो मोहले नै दधिकादको रौनकतामा कमि आएको छ । यतिबेला भगवानसंग दधिकाद दिने भाकल गर्दा आफ्नो मनोकामना पुराहुने विश्वास मानिसमा रहेको हुँदा, आफ्नो भाकल पुरा गर्न कोहि कसैले दधिकाद दिने गर्दछन् भने कहि कतै सचेत युवाहरु आफ्नो संस्कृती जोगाउन सामुहिक रुपमा दधिकाद आयोजना गर्ने गर्दछन् ” ।
धार्मिक सहिष्णुता , सामाजिक मेलमिलाप आपसी भाईचाराको भावना संगै नेपालको धर्म निरपेक्ष , बहुभाषिक, बहु सांस्कृतिक सार्वभौम राष्ट्रको मर्मलाई सम्मान गर्न ‘दधिकाद’ जस्ता मौलिक लोक पर्वलाई हामी सबैले संरक्षण गर्न जरुरी छ ।
लेखक : दिपेश राजवंशी

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ३ : ३२ बजे