४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्थानिय तहमा गर्ने भ्रष्टाचारीहरूकाे नामावली विपल्व नेतृत्व पार्टीकाे हातमा, जनकार्वाही गर्ने चेतावनी


९ फाल्गुन २०७५, बिहिबार  

0
Shares

20190221_103327
बिर्तामोड / नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहमा भएको भ्रष्ट्रचारको भण्डाफोर गर्ने चेतावनी दिएको छ ।
जनप्रतिनिधिहरुले जनतामाथि शोषण गरिरहेको भन्दै जनताको हित विपरीत कार्य गर्ने सबै जनप्रतिनिधिहरुको विवरण तयार पारेर अब कार्वाही लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
झापामा जनप्रतिनिधिहरुले सवारी साधनमा चरम भ्रष्ट्रचार गरेको तथा आफुलाई फाइदा हुने काममा मात्र ध्यान दिएको भन्दै विप्लव नेतृत्वको माओवादीले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ । लागूऔषध र्दुब्यसनी गराउनेहरुको पहिचान गरेर कडा कारबार्ही गर्ने, मेनपावर ब्यवसायीहरुको लापरबार्हीको पहिचान गरेर कारबाही गर्ने, यौन ब्यवसाय संचालन गर्ने संचालकहरुलाई कारबाही गर्ने , भ्रष्टहरुलाई कारबाही गर्ने निर्णय समेत गरेको पार्टीका जिल्ला सचिब सुमनसिंह पौडेलले जानकारी दिए ।
उनले भने–झापाका अधिकांश होटलमा प्रहरीसंगको मिलेमत्तोमा यौनधन्दा सञ्चालन भइरहेको पाइएको छ । यस्ता कुकृत्य गर्नेहरुलाई जनताले जनकारबार्ही गर्ने छन् । उनले मेनपावर ब्यवसायीहरुले समेत धेरै सर्वसाधारण जनतालाई ठग्ने काम गरिरहेकाले तत्काल बन्द नगरे कडा कारबार्ही गर्ने स्पष्ट पारेका छन् । गैरकानुनी रुपमा विदेश पठाउने, भनेको तलब नदिने, लाखौं रुपैंया लिने कार्य तत्काल बन्द गर्न विप्लव माओवादीले सचेत गराएको छ ।
यसैबीच झापा अन्तर्गत रहेको युवा संगठन नेपालको तेस्रो जिल्ला सम्मेलन पछि प्रथम बैठक बिर्तामोडमा बुधबार सम्पन्न भएको छ । संगठनका जिल्ला अध्यक्ष सेसेहाङ्ग लिम्बुको अध्यक्षतामा बसेको पार्टीका जिल्ला सचिब सुमनसिंह पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

बैठकमा सचिब पौडेलले भ्रष्टहरुले षड्यन्त्रमुलक ढंगले कब्जामा लिएका बिकासका योजनाहरु खोसेर युवाहरुले गर्नु पर्ने बताए । युवा आफैं श्रम गरेर उत्कृष्ट काम गरेर जनतालाइ दिनुपर्ने र त्यसको लागि भ्रष्टहरुको कब्जामा रहेका सबै काम खोसेर अघि बढ्नुपर्ने पौडेलले निर्देशन समेत दिए । राज्यको गैरजिम्मेवारिपनको कारण युवाहरुको हालत तहस नहस भएको हुनाले युवाहरुलाई जस्तो सुकै हालतमा रहेको भएपनि क्रान्तिमा सहभागी गराउन उनले सुझाव समेत दिएका छन् ।

विप्लव माओवादीले अब क्रान्ति नजिक रहेको बताउदै युवाहरुले आफुलाई सैन्यकृत गरेर उभ्याउनु पर्ने स्थिती आएको र त्यसको निम्ति तयार रहन सबैसंग आवाह्न समेत गरेको छ । बैठकमा युवा संगठनका मेची संयोजक निमाले युवाहरुलाई योजना अनुसार शसक्त भएर लाग्न निर्देशन दिएका छन् ।

विभिन्न विद्यालयमा भएको भ्रष्ट्रचार, विद्यालयको जग्गा विवाद, सुकुम्बासी समस्या, चिया बगानमा कटान गरिएको हरियो रुख लगायत विभिन्न सञ्चार माध्यममा भ्रष्ट्रचार सम्बन्धि आएका समाचारहरु प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल सुधार नगरेर जनताको जनकारबार्हीका लागि तयार रहन विप्लव माओवादीले सचेत गराएको छ ।

साथै माओवादीले सरकारको आडमा आफ्ना कार्यकर्ताहरु माथि दमन नगर्न पनि प्रहरीलाई सचेत गराएको छ । वर्तमान सरकार दुईतिहाईको दम्भ देखाउने काम गरिरहेको र झापाका अधिकांश जनप्रतिनिधिहरु कमाउ धन्दामा लागेको भन्दै विकासमा ध्यान दिन सचेत गराएको छ । जनप्रतिनिधिमा निर्वाचित भएको दुई वर्ष पुग्न लाग्दा समेत विकासको अनुभव जनताले गर्न नपाएको तर अनावश्यक करका कारण जनताको उठिबास हुने अवस्था आएको भन्दै अब भ्रष्टहरुलाई निगरानीमा राखेर जनकारबार्ही सुरु गर्ने विप्लव माओवादीले चेतावनी दिएको छ ।

अनाधिकृत रुपमा झापामा भइरहेका ब्यवसायहरु तत्काल बन्द गर्न, खोला उत्खननका नाममा ठेकेदारको गुण्डा गर्दी तत्काल बन्द गर्न पनि माओवादीले सचेत गराएको छ । बैंक तथा वित्तिय संस्थाहरुमा समेत सर्वसाधारण जनता ठगीने क्रम नरोकिएको भन्दै विप्लव माओवादीले अब जनकारबार्हीमा उत्रने चेतावनी दिएको छ ।

नीजि विद्यालयहरुले मनपरी शुल्क उठाने गरेको तथा मासिक रुपमा लिइने शुल्क अधिक रहेको भन्दै शिक्षालाई ब्यपार नबनाउन झापाका नीजि विद्यालयहरुलाई सचेत गराएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा देखिएको विकृत्ति तत्काल बन्द गर्न र प्रतिबन्धित औषधि विक्रि वितरण नगर्न स्वाथ्यकर्मीहरुलाई समेत सचेत गराएको छ । विप्लव माओवादीले देशको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई सबै क्षेत्रबाट सहयोग गर्न पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ३ : १७ बजे