४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज देशभर महानवमी पर्व मनाइँदै


१ कार्तिक २०७५, बिहिबार  

0
Shares

Navratri-Maa-Durga-astami
गाैरीगंज १, कार्तिक /

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । देवी दुर्गामाताको नवौं रुप शक्तिस्वरुपा सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी स्मरण गरिँदैछ । आजको दिन शक्तिस्वरुपा सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका र प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

देवीपुराणमा उल्लेख भएअनुसार देवीको कृपाले भगवान् महादेवले समेत सिद्धि पाएको मान्यता छ । देवी सिद्धिदात्रीको साधना गर्नाले लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विस्वास रहेको छ । मानव मात्र नभर्इ पशुपंक्षीहरुकाे माेक्षका लागि समेत उनीहरुकाे विधि-विधानअनुसार बलि दिने गरिन्छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठवटा सिद्धित्वको व्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रुपमा पनि मनाइन्छ । इन्जिनहरु, गाडी, कारखानाकाे समेत बलिसहित पूजा गरिन्छ । नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजासहित जङ्गी निशानपूजा र कोतपूजा पनि गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । त्यसैगरी गाैरीगंजका विभिन्न दुर्गा मन्दिरमा विहानदेखि नै भत्तजनहरूकाे भिड लागेकाे छ । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ३ र ६ स्थित दुर्गा मन्दिरमा भत्तजनहरूकाे भिड लागेकाे हाे ।

बलि दिनका लागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, संकटा, वज्रयोगिनी, वज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुने गर्दछ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  ३ : ४६ बजे