४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

विराटनगरको न्युरो हस्पिटलमा मुटुको उपचारमा सुबिधा सम्पन्न प्रबिधि


१२ आश्विन २०७५, शुक्रबार  

0
Shares

08
विराटनगर १२, असोज /
चारवर्ष अगाडीदेखि विशेषज्ञ चिकित्सक सहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिट अस्पताल मुटु रोगीका विरामीको उपचारमा समेत सफल भएको छ । निजी लगानीमा खुलेका विराटनगरका अस्पतालमा मुटु रोगीको सफल शल्याक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप समेत बढ्दै छ ।
मुटुमा जटिल समस्या भएका विरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टि र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले चारवर्षमै फड्को मारेको हो ।
नेपाली र भारतीय मुटु रोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।
अस्पतालका कल्।ल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेश राज श्रेष्ठका अनुसार मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्धतीदेखि मुटुमा ब्याट्री राख्ने विरामीहरुको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ । हृदयघात भएका विरामीका लागि गरिनु पर्ने उपचार पद्धतीमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टि र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेशमेकरबाट विरामीले लाभ लिईरहेका छन् ।
न्यूरो अस्पतालमा अत्याधुनिक प्रविधिसहितको ‘क्याथल्याब’ सञ्चालनमा आएपछि भारतबाट समेत विरामी नेपालमा आएर मुटुको शल्याक्रिया गराउन थालेको डा.श्रेष्ठको भनाई छ । डा.श्रेष्ठका अनुसार चार वर्षको अवधीमा एकहजार दुईसय ४१ जना मुटु रोगीले न्यूरो–कार्डियो अस्पतालबाट सफल शल्याक्रिया तथा उपचार सेवा लिएका छन् ।
जसमध्ये कोरोनरी एन्जियोग्राफि एकहजार १० जनाले गराएका छन् । एन्जियोग्राफी गर्नेमध्येका ३ सय ८५ विरामीको एन्जियोप्लाष्टि गरिएको छ । यसैगरी मुटुको चाल बढाउन ८५ जना विरामीमा अस्थायी र ५८ जना विरामीमा स्थायी प्रकृतिको ब्याट्री यसै अवधीमा राखिएको छ । त्यस बाहेक ६ जनाको रेनल एन्जियोग्राफी र ३ जनाको रेनल एन्जियोप्लाष्टि गरिएको डा.श्रेष्ठ बताए ।
मुटुमा समस्या उत्पन्न भएपश्चात रोगीमा देखिने लक्षण बारेको ज्ञान थाहा नभएर समयै अस्पतालसम्म आउन नसक्ने विरामीको मुटुलाई बचाउन नसकिने चिकित्सक श्रेष्ठ बताउँछन् । उनका अनुसार, कतिपय अवस्थामा भने विषय विशेषज्ञ चिकित्सक भन्दा बाहेकका चिकित्सकले समेत मुटुको समस्या यकिन गर्न नसक्दा अस्पतालमै विरामीले रोग पालेर बस्नुपर्ने अवस्था समेत रहेको छ ।
कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ ।
खानपान तथा शारिरिक कसरत अभावले निम्त्याउने हृदयघातका विरामीको दाँया भागतर्फको छाती क्रमशः दुख्दै दाँया हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नका लागि डा.श्रेष्ठको आग्रह छ । त्यस बाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरत्तचाप र मधुमेहका विरामी हृदयघातको उच्च जोखिममा हुने गर्दछन् ।
ठूलो लगानीसहित अस्पतालले मुटुको जटिल समस्या देखिएका विरामीको उपचारमा आवश्यक अत्याधुनिक प्रविधि (फिलिप्स एफडि २० क्याथल्याव) भित्र्याएपछि उपचारमा आउनेको संख्या दिनप्रतिदिन न्यूरोमा बढ्दै गएको अस्पताल संचालकको दाबी छ । यो प्रविधि नेपालमा तिनवटा अस्पतालमा मात्र उपलब्ध रहेको छ ।
सरकारले मुटुको एन्जियोप्लाष्टी गर्नु पर्र्ने बिरामीका लागी एक लाख आर्थिक सहयोग प्रदान गर्न थालेपछि सेवा लिन आउने मुटु रोगीको संख्यामा समेत बृद्धी भएको छ । तिमी प्रतिज्ञा गर ः‘मेरो मुटु तिम्रो मुटु’ हो भन्ने कुरालाई सबैले आत्मासात गरेर सचेतना बढाउन सके मुटुका रोगीहरुलाई हृदयघात हुनबाट जोगाउन सकिन्छ ।
कार्डियोलोजिष्ट डा.श्रेष्ठका अनुसार मुटु रोगलाई जटिल समस्या मानिएका कारण यसको उपचार खर्चिलो छ । खर्चिलो भएकाले आम नागरिकको पहुँचमा नहुँदा हृदयघातले मर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय मुटु रोगको उपचारमा सरकारी सहयोग कोशेढुंगा सावित हुँदै गएपनि अझै यस्ता विरामीको उपचारमा सरकारी चासो बढ्नु पर्नेमा उनको तर्क छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  २ : २८ बजे