५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश नं १ को राजधानी टुङ्गो लगाउन नेपाल कम्यूनिष्ट पार्टीले थाल्यो गृहकार्य


११ आश्विन २०७५, बिहिबार  

0
Shares

20180927_105956

बिराटनगर ११, असोज / प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रदेश नम्बर एकको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले राजधानीको टुङ्गो लगाउन गृहकार्य थालेको छ ।

प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुइतिहाइ बढी मत रहेको नेकपा भित्रै एकमत नभइरहेको बेला नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ । असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुङ्गो लगाउने तयारी नेकपाले गरेको हो । नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी बारे पनि छलफल हुने जानकारी दिदै नामलाइ थाती राखेर राजधानी तोकिने सम्भावना रहेको बताउनुभयो ।

कम्तीमा प्रदेशसभाको यहि अधिवेसनबाट राजधानी तोक्ने तयारी गरिएको नेकपाले जनाएको छ । नेकपा संसदीय दलले प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाइ नै स्थायी राजधानी तोक्ने श्रोतले जनाएको छ । त्यसका लागि पार्टीको शिर्ष तह र प्रदेश सरकारमा सहमति जुटिसकेकाले त्यसलाइ अनुमोदनका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

नेकपाको संसदीय दलको बैठककै कारण प्रदेशसभाको बैठकपनि दुइ दिन स्थगित हुने भएको छ । प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दापनि राजधानी र नाम बारे सरकारले औपचारिक छलफल नथालेको भन्दै आलोचना भइरहेको बेला नेकपाले राजधानीको टुङ्गो लगाउन संसदिय दलको बैठक बोलाएको हो । दुइ तिहाइ बहुमत रहेको कारण नेकपाको संसदीय दलले निर्णय गरेपछि स्वतः सो विषय संसदबाट पारित हुने छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  ५ : १६ बजे