३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

झापामा रोचक भिडन्त हुने


१६ कार्तिक २०७४, बिहिबार  

0
Shares

chunab
झापा / आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा झापामा रोचक भिडन्त हुने देखिएको छ ।

गत स्थानीय तहको चुनावमा दलहरुले पाएको मतका आधार मान्ने हो भने जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रको बाम गठबन्धनसँग काङ्ग्रेसको तुलनामा भारी मत देखिन्छ ।

झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, यूवा नेता विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन लगायतका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् ।

झापा–५ बाट पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली उठ्दैछन् भने क्षेत्र नं. १ का बाम गठन्धनबाट माओवादी नेता राम कार्की उठ्दैछन् ।
नेपाली काङ्ग्रेसका यूवा नेता विश्वप्रकाश शर्मालाई क्षेत्र नं. १ को टिकट दिइएको छ ।

यस्तै क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देनबिच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभातर्फ झापामा ५ निर्वाचन क्षेत्र रहेका छन् । झापामा कूल ५ लाख ८५ हजार २ सय २८ मतदाता छन् ।
झापामा ५ निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले पाएको मतका आधारमा दलहरुको अवस्था यस्तो देखिन्छ ।

यहाँ प्रयोग गरेको मत सङ्ख्या स्थानीय तहमा पाएको मतको मोटामोटी मतसङ्ख्या हो । गत स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा झापाको पाँच वटै क्षेत्रमा काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन कमजोर देखिएको छ ।

राप्रपा समेत मिसिन आएपछि झापामा एमाले र माओबादीविचको बाम गठबन्धन मतका आधारमा बलिाये देखिन्छ ।

झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं. ९ र १०, बुद्धशान्ति गाँउपालिकाका वडा नं. ४, ५, ६ र ७ पर्दछन् ।
क्षेत्र नं. १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले मतका आधारमा नेपाली काङ्ग्रेसको २५ हजार ५ सय १ मत पाएको देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र सङ्घीय समाजवादी फोरमको ४ सय ७० मत छ ।
यस आधारमा यहाँ एमाले र माओवादी बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आउँछ । जुन मत नेपाली काङ्ग्रेसले पाएको मत भन्दा ९ हजार ४ सय ५० बढी हो ।

झापा क्षेत्र नं. २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्दछन् ।
यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं. १, २, र ३ पर्दछन् भने कन्काई नगरपालिकाका वडा नं. ८ र ९ पर्दछन् ।
क्षेत्र नं. २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।

स्थानीय तहमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ ।

यस्तै फोरम लोकतान्त्रिकको ५० र सङ्घीय समाजवादी फोरमको ४ सय ३१ मत छ ।
यहाँ बाम गठबन्धनको मत एकैठाउँमा मिसाउँदा ३६ हजार २ सय २७ हुन्छ जुन नेपाली काङ्ग्रेसको मत भन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ ।

क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसले उम्मेदवार बनाउने भएपछि राप्रपा बाम गठबन्धनतिर लागेको छ ।

राप्रपाको मत पनि बाम गठबन्धनतिर जोड्ने हो भने प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली काङ्ग्रेस भारी मतले पछाडि छ ।
झापा क्षेत्र नं. ३ अन्र्तगत बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं. ८ पर्दछ ।

यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली काङ्ग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।

यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो ।
यहाँ नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका नेता राजेन्द्र लिङ्देन बिच प्रतिष्पर्धा हुने भएको छ ।

झापामा काङ्ग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । यो क्षेत्रमा बाम गठबन्धनको सहयोगमा राप्रपाका लिङ्देन उम्मेद्वार बन्दै छन् ।

झापा क्षेत्र नं. ४ मा झापा गाउँपालिका, गौरादह नगरपालिका वडा नं. ९, गौरीगञ्ज नगरपालिका वडा नं. १ र २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्दछन् ।

यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ४ मा मोटामोटी रुपमा नेपाली काङ्ग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र सङ्घीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ ।

यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको पक्षमा नेपाली काङ्ग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।

झापा क्षेत्र नं. ५ मा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्दछन् ।

यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रुपमा नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ ।

यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  ९ : २४ बजे