आत्माराम राजवंशी /
बसाई सराई एउटा जटिल प्रकृया हो । साधारणतया मानिसहरु कम विकास भएको क्षेत्रमा आफ्ना न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति नहुने भएकोले त्यहाँबाट धेरै विकसित अथवा तुलनात्मक रुपमा सुविधायुक्त ठाउँमा बसाई–सराई सर्दछन् । यो प्रकृया मानव सभ्यताको शुरु देखि नै चलि आएको छ । बसाई –सराई दृष्टिबाट तुलनात्मक रुपमा कम विकसित र आर्थिक स्थितिले कमजोर हिमाली र पहाडी भेगहरु विकर्षण केन्द्रको रुपमा देखा परेका छन् भने विकासोन्मुख र आर्थिक स्थितिले ती भन्दा सम्पन्न देखिने नेपालको तराई आकर्षणको केन्द्रको रुपमा रहेछन् । तराई क्षेत्र आन्तरिक र बाह्रय बसाई –सराईको समस्याबाट पिडित हुदै गएको छ । त्यसमा पनि तराईको सुदुर पूर्व झापा, मोरङ्ग, सुनसरीमा उत्तर तर्फ पहाडबाट झर्ने अनि पूर्व र दक्षिणमा खुल्ला सिमानाका कारणले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या अति नै भएबाट यी क्षेत्रमा यसको प्रभाव ज्यादै नै परेको देखिन्छ ।
तराई तर्फ पहाडी जनसंख्याको बसाई –सराई वि.सं. २००७ तिर छिटपुट शुरु भएको हो । पहाडबाट झर्ने यो बहाव धेरै समयसम्म पूर्वी पहाड तिर नै केन्द्रित थियो । केही मानिस तराई क्षेत्रतिर बसाई सर्ने र केही मलाया पल्टनमा लाहुरे हुन जाने प्रवृतिले सन् १९५० / ५१ तिर आइपुग्दा उत्पादन र श्रम आपुर्तिका हिसाबले पहाड नाजुक स्थितिमा पुगिसकेको थियो । सन् १९५० र १९६० को दशकमा तराईमा शुरु गरिएको औलो उन्मुलन कार्यक्रमले पहाडको गतिशिल जनसंख्यालाई तराई सजिलो गन्तव्य बनाई दियो । सन १९६० र १९७० को दशकमा पहाडबाट तराई तर्फ बसाई–सराई सर्नेहरु कुल बसाई–सराईको दुई तिहाई भएको अनुमान छ ।
सन् १९६४ मा बर्मामा राष्ट्रियकरण कानुन लागु भए पछि धेरै नेपाली त्यहाँबाट नेपाल फर्के । राज्यले ती मध्ये अधिकांशलाई मोरङ्गको सीमावर्ति क्षेत्रमा चार–चार विगाहा जग्गा दिएर बसायो । सामाजिक अनुसन्धानकर्ता डा. पीताम्बर शर्माको विश्लेषणमा राज्यको यो नीति दक्षिणबाट हुन सक्ने जनसाँख्यिक अतिक्रमणको मुकाविला गर्नका लागि थियो किनभने सीमावर्ति क्षेत्रमा पहाडे पहिचानको बाहुल्यता गराउन सकियो भने खुल्ला सीमाको माध्यमबाट हुने औपनिवेषिकरण कम हुन सक्छ भने नीति–निर्माताको सोचाई हो । त्यही सोच बमोजिम दक्षिण तिरका अधिकांस क्षेत्रमा पहाडी समुदायका मानिसलाई विभिन्न समयका सरकारले ल्याएर बसाए ।
यसरी नेपालमा आन्तरिक बसाई–सराईले गर्दा पिछडिएका आदिवासी, जनजाति, दलित वर्ग, समुदायको सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक क्षेत्रमा प्रभाव रहेको आदिवासी, जनजाति दलित संघहरुको सर्वेक्षणले देखाउँछ । एकात्मक राज्य प्रणालीले देशको आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक क्षेत्रमा समुचित विकास गर्न नसकेर साथै देश भित्र प्रादेशिक, असन्तुलित विकासले गर्दा हिमालको मानिस पहाड तिर, पहाडमा उचित विकास हुन नसकेर तराई र उपत्यकातिर बसाई सर्ने प्रवृति नेपालमा बढी देखिन्छ । यिनै क्रममा नेपालको पूर्वी पहाड तिरबाट क्रमिक रुपमा मानिसहरु गाँसबासको लागि नेपालको पूर्वी तराईको झापा, मोरङ्ग र सुनसरीमा ब्यापक रुपमा बसाई सराई भई आएको देखिन्छ । यो क्रम वि.सं. २०२२ साल देखि ब्यापक रुपमा शुरु भएको देखिन्छ ।आन्तरिक बसाई –सराई दुई प्रकारले भएको देखिन्छ । पहिलो कारण भनेको पूर्वी पहाडहरुमा खेतीपातीमा कठिनाई, बाटोघाटो, संचार, उद्योगधन्दा, ब्यापार ब्यवसायमा विकास नहुनु र तराई तिरको समथर उब्जिलो भूमिका साथै औलो महामारी रोगको नियन्त्रण हुनुले ब्यापक रुपमा मानिसहरु स्वत: स्फूर्त क्रमिक रुपमा बसाई सरेको देखिन्छ । दोस्रो कारण राज्यद्वारा नै पुर्नवास कम्पनीले भकाभक पहाडबाट मानिस ल्याउदै झापा, मोरङ्ग र सुनसरी, नवलपरासी, र कञ्चनपुर जिल्लामा जंगल फडानी गरी लालपुर्जा वितरण गरेका थिए । एक सर्वेक्षण अनुसार पहाडबाट झर्ने बसाई सराई भन्दा यस्ता कम्पनीहरुले तराईतिर तानेका मानिस अधिक छन् ।
त्यति मात्र नभई यी क्षेत्रहरुमा बसाइ –सराई पनि उतिकै प्रभावको रुपमा रहिआएको थियो । त्यतिखेर बर्मा, आसाम, सिक्किम, भूटान लगायतका ठाउँबाट नेपाल प्रवेश गरेका नेपाली भाषीलाई सरकारले आखाँ चिम्लेर जग्गा वितरण गरेका थिए । जबकि त्यसबेलाका पंचायत कालमा निरंकुवादी सत्ताधारीहरुले यस क्षेत्रका सकुमबासी, आदिवासी, जनजाति, दलितहरुलाई एक चपरी माटो सम्म पनि वितरण गरेका थिएनन् । अर्कातिर यस क्षेत्रमा पुराना शहर बजार नगर क्षेत्रहरुमा भारतको दूर प्रान्त राजस्थान, पश्चिम बंगाल, विहारका मानिसहरु पनि स–साना व्यवसायबाट आई बसोबास गरेको देखिन्छ । यस क्षेत्रका कोच आदिवासी समुदायहरु अति सरल र सोझा प्रवृतिका मानिस भएबाट पनि बसाई–सराई भई आएका गैर आदिवासीहरुको चतुराईबाट कतिपय उनीहरु शोषित बन्न पुगेकाछन् ।यसरी बसाई–सराई भएर आएका मानिसहरुले यहाँको परिवर्तित आर्थिक, राजनैतिक, सांस्कृतिक विकास आदि क्षेत्रमा निर्णायक भूमिका खेल्न थालेकाछन् । यहाँ भएको आप्राबासनको कारणले क्षेत्रिय, जातिय र राजनैतिक निकाय, सर्वोच्च विधायिका, प्रशासनमा उचित प्रतिनिधित्व पाउन सकेका छैनन् । यस क्षेत्रमा आदिवासीहरुले भन्दा गैर आदिवासी समुदायका मानिसहरुले बढी निर्वाचित हुन थालेकाछन् ।
पंचायतकालको राज्यद्वारा स्थापित अदालतले ब्यतिगत लेनदेन भएको राजिनामा पास मार्फत मालपोत कार्यालयबाट हुनु पर्ने कार्य राज्यद्वारा नै निर्देशित अदालत नालिस पासबाट टाठाबाठाले सोझासाझा आदिवासी दलितहरुको जग्गा हडपने गरेको थियो । आज ती सोझा देउनियाका सन्तानहरु कोही रिक्सा, मजदुरी, गछर्न् भने कोही होटल कलकारखानामा मजदुरी गछनर्् ।
यसरी बसाई–सराई भएर आएका मानिसहरुले यहाँको परिवर्तित आर्थिक, राजनैतिक, सांस्कृतिक विकास आदि क्षेत्रमा निर्णायक भूमिका खेल्न थालेकाछन् । यहाँ भएको आप्राबासनको कारणले क्षेत्रिय, जातिय र राजनैतिक निकाय, सर्वोच्च विधायिका, प्रशासनमा उचित प्रतिनिधित्व पाउन सकेका छैनन् । यस क्षेत्रमा आदिवासीहरुले भन्दा गैर आदिवासी समुदायका मानिसहरुले बढी निर्वाचित हुन थालेकाछन् । तिनीहरुको भाषा संस्कृतिमा पनि नकारात्मक प्रभाव पर्न थालेको छ ।
तत्कालिन सरकारको पूर्वाग्रहपूर्ण नीति र अत्याधिक राजनैतिक, आर्थिक, सामाजिक, शोषण तथा प्रशासनिक मारमा परेकोले यी कोचबासीहरुको अस्तित्वमा नै प्रश्न चिन्ह खडा भएको छ । यस क्षेत्रमा बसाई–सराईको कारणले अत्यधिक जनसंख्या वृद्वि भई यहाँ रहेका वनजंगल, कृषिभूमि, पर्यावरण, नदि जस्ता प्राकृतिक सम्पदाहरुको प्रयोगमा बढोत्तरी भएर यस क्षेत्रमा बर्षा कम हुनु, अनियमित वर्षा हुनु, वनजंगल फडानीबाट भूक्ष्य बढी रहेको , जमिनको उत्पादकत्व घटि रहेको, बाढी पहिरोको समस्या, बातावरण सन्तुलन विग्रदै जान थालेको छ ।
त्यसर्थ राज्य संरचनामा नयाँ नेपालको परिकल्पना अनुरुप यस क्षेत्रको संघीय ढाँचाका संघीय प्रदेशहरुमा समानुपातिक ढंगले विकासका योजनाहरु तुरुन्त शुरु गर्नुपर्दछ ।