९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

उबेलाको सिरुवा, उबेलाको ‘फुटानी’



आत्माराम राजवंशी
गौरीगंज २, बैशाख /
घरपरिवारको चैत महिनाको टन्टलापुर घाममा पाटा गोड्ने, मुसुरी, आलस, चना आदि उखेल्ने र दाँई गर्ने चटारो। अनि हाताभरी किताव बोकेर झण्डै २० मिनेटको दुरी पार गरि पुगिन्थ्यो स्कुल । दिनभरी पढ्यो अनी फेरि दिउँसो ४ वजे हतारमा घर फिर्नु पर्ने । घरमा पालेको दुधालु गाइको घाँसको जोहो गर्नु पर्ने दैनिकी नै थियो । अनि मात्र जोहो हुन्थ्यो दुधाली र दामुना मेलाको खर्च ।
सिरुवा पर्व आउँदै छ भनेर गाउँभरि हर्ष, घर आँगनको सरसफाई, वालुवा र घिरौंलाको जालोले मिची मिची हात खुट्टाको मैल फालेको, सोडा हालेर सिल्भरको भाडामा लुगा उसिनेर मुङ्ग्राले पिटि पिटि सिरकका खोल, तन्ना, कम्मल, झल्ला धोएको, गोरो माटोले टाटी र दलिन पोतेको आहा १ ओल्लो घर र पल्लो घरको प्रतिस्पर्धा गरे जस्तै यस्तै यस्तैमा चल्थ्यो उबेला सिरुवा पर्वको तयारी ।
महाराजथानको सरसफाई, अनि रङ् र कादो ( हिलो ) लगाउन बाँसले बनाएको पिच्कारी, रङ्गसंग केराको बोटको रस मिसाएको रङ्गपानी र गर माटी ९ एक प्रकारको माटो० को जोहो कम्तीको सम्झना गर्न लायक छैन ।
नाताले भाउजु पर्ने आमा उमेरकालाई म सानो छँदा हिलो र रङ्ग छ्याप्न आँट गरेर जादा मलाई सजिलै नियन्त्रणमा लिई मिचिमिची रङ्ग र हिलो लगाएको त्यो दिन अनि हिलो लगायो भनेर म रूदै घर फर्केको ।अब त मेरो स्मृतिमा मात्र कैद छ । नयाँ लुगा किन्न कि त दशहारा कि त सिरूवा नै पर्खनु पर्थ्यो । सर्ट र हाप पेन्ट बुवाले किनिदिदा आफु कतिको अरूभन्दा राम्रो र स्मार्ट ठान्ने बाल मस्तिष्कको उबेलाको ‘फुटानी’ थियो ।
बैशाख १ गते नै नजिकको चौनी वा खोलामा गई माछा मार्ने चलन थियो । विहान घुम्नी मुरी ९ चना भुजा खाएर माछा मार्न नजिकैको धदरा र रामचन्द्रे खोलामा गएको र करिब डेढ केजीको बुआली माछा पक्रेर घर ल्याएको छिमेकी मेरा बालसखी ठकुवा राजवंशीसंग कुरा गर्दा मज्जा लिएर हास्छन् उनी अहिले पनि । बुआली र सउल माछा तेती बेला खुब पाईन्थ्यो । प्रत्येक सिरूवामा गाउँका मानिसहरू जाल, ढोक्सा, कोदालो लिएर नजिकको रामचन्द्रे खोलामा गएको जसलाई स्थानिय भाषामा ‘मछुवारी’ भनेर भनिन्छ अहिले त्यो प्रचलन हराएर गएको छ ।
हाम्रो आफ्नै गोरूगाडा जुन चैत मसान्त अर्थात चैत महिनाको अन्तिम तिरै सिरूवा मेला भर्न साधनको रूपमा तयारी हुन्थ्यो । सम्पनी गाडा सिङ्गारिएको बुट्टे दार गोरूगाडा मेला भर्न तयार गरिन्थ्यो ।
गाडामा झाप लगाउने, गाडाको चक्का, मथानी, कनेल, गोरूको गालाहारी, गोरूको सिङ्गौठी, घुग्रा, उरन्ठी ( गोरूको घाटीमा लगाईने घण्टी) , झाप (गाडाको माथी घामबाट छल्न सजाउने बाँसको भाटाले बनाएको एक पकारको सुरक्षा कवज ) बुवाले सिरूवा पर्व आउनु भन्दा एक हप्ता अगाडि नै तयारी गर्नुहुन्थ्यो । गाउँभरीका प्रत्येकको घरमा सिरूवा मेला भर्न गोरूगाडाको तयारी हुन्थ्यो जुन मेरो सम्झनामा ताजै छ । गाडाको अघिल्लो भागमा बहलमान गोरू र गाडालाई सहि बाटोमा डोर्याउने मानिस बस्थे त्यसपछि घरमुलि श्रीमान् श्रीमती, अनि केटाकेटी र अन्तिममा नोकर चाकर भए उनीहरू बस्थे । गाडामा बस्ने त्यस किसिमको अनुशासन भनु वा नियम थियो ।
मेला भर्न गोरूगाडा तयार नभएको खण्डमा घरमा आमाको गणगण सुन्नु पर्थ्यो बुबाले । रिसाउनुहुन्थ्यो आमा , मानौ गोरूगाडा मेला भर्न अनिवार्य सर्त थियो । के राजवंशी, के ताजपुरिया, के गन्गाई जतिपनि तराई क्षेत्रमा बसोवास गर्ने आदिवासी मुलका मानिस र अन्य समुदायका पनि मेला भर्न गोरूगाडा लानु पर्ने र महाराजथान दर्शन गरेर जिलेवी खाने मेला बजार गर्ने अनिवार्य जस्तै थियो ।
महिलाहरू दाती पुठ्ठी र धानसीज पेटानी अनि छिट जस्तो सफा साडी जिउमा लप्टिने अनि गरगहना गोठ, तार, खरूवा, हस्ली, माठा, खस्या, सना, नथिया लगाएर मेला भर्न जान्थे अनि पुरूषहरू धोती, कमिज, फेटा लगाउँथे । मेलाबाट फर्कने क्रममा गोरूगाडाको ‘कम्पिटिसन’ हुन्थ्यो । कसको गोरूगाडा अगाडि पुग्छ भनेर रु बाटोमा मेला भर्न जाने गोरू गाडाको लाम त्यसमाथि प्रत्येक गोरूको घाटीमा झुण्डियाएको घुग्रा (घण्टी) को आवाज आहा ! कति रोमाञ्चक । अब ती कहिल्यै नफर्कने गरि ईतिहास बन्यो । बुबाले दिएको ५ रूपैयाँ मेरो लागि मेलामा खर्च गर्न अपुग हुन्न थियो । विभिन्न जातजातिको पहिरनमा सजिएर आएका महिला र पुरूषहरूको भिडभाड, ठेलमठेल, धेरै वर्ष पछि भेट भएका साथीसङ्गी अनि उमेर पुगेका केटा केटीहरूको आफ्नो जिवन साथी छान्ने सुनौलो मौका, कति सुन्दर थियो त्यो दिनहरु !
फिरफिरे, घिरघिरे, सिठ्ठि, मुरली, वाँसुरी, खुत्रुके, मुजुरको प्वाँख , मन्दिरको प्रसाद, नयाँ पात्रो, रङ्गी विरङ्गी सर्वत, हरियो सोप, जुलेबी आदि दुधाली मेलाको घरका लागि कोसेली हुन्थ्यो । चैते हुरीले बाटोको धुलो, गौरीया खोलाको बालुवा चैते हावाले ह्वार्र हानेको बाल मस्तिष्कको त्यो उमंगलाई छेक्न सक्दैनथ्यो । त्यसबेला आठमौजा महाराजथान, दुधाली महाराजथान, बगाहाचौधरी महाराजथान, भक्ती (दामुना) महाराजथानमा मेला लाग्थ्यो । मलाई यकिन तिथि मिति थाहा छैन तर बुबाले २०४५ र २०४६ सालदेखि बिस्तारै मेला भर्न गोरूगाडामा जाने चलन हराउदै गएको बताउनुहुन्थ्यो ।
बाल मस्तिष्कमा परेको छाप अहिले पनि विगतमा झै सलबल्लाई रहेको छ । वर्तमान सिरूवा पर्वको रङ्ग र हिलोको महकत्ताको सार र धार दुवै हराउँदै गए पनि बाल मस्तिष्कमा परेको छाप मेरो स्मृतिमा रहिरहने छ, कहिल्यै भुल्ने छैन ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ०७ बजे