३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

राजदूतहरुलाई गठबन्धको ब्रिफिङ


९ बैशाख २०७३, बिहिबार  

0
Shares

 वैशाख ९,काठमाडौ ambasdor /  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनले आज विभिन्न देशका राजदूतसँग भेटेर आफ्नो आन्दोलनको बारेमा ब्रिफ गरेका छन् ।
लाजिम्पाटस्थित र्याडिसन होटलमा भएको भेटघाटमा गठबन्धनका नेताहरुले विगतमा भएको मधेश आन्दोलनमा राज्यबाट भएको दमनदेखि भूकम्प पीडितलाई राहत नदिएको गुनासो राजदूत समक्ष गरेका थिए ।
मधेशी मोर्चाले छ महिनासम्म मधेशमा आन्दोलन गर्दा सरकारले त्यसलाई दमन गरी ६० जना भन्दा बढी आन्दोलनकारीको राज्यपक्षबाट हत्या गरेको कुरा राख्दै सरकारले नश्ल र जातीको आधारमा मधेशी जनतासँग व्यवहार गरेको र सोही अनुसार दमन गरेको कुरा राखेको बैठकमा सहभागि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए ।
‘हामीले सरकारसँग ३६ पटकसम्म वार्ता गरियौं तर हाम्रो मागप्रति सरकार कुनै वास्ता गरेन, सहमतिका लागि तयार भएन’ अध्यक्ष यादवले भने, ‘हामीले वहाँँहरुलाई भन्यौं कि सरकारको रवैयाको कारण आफूहरुले बाध्य भएर अर्को चारणको आन्दोलन गर्न लागेका हौं र यसमा तपाईहरुको सहयोगको अपेक्षा गरेका छौं ।’
भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पीडित जनताले हालसम्म राहत नपाएको कुरा पनि छलफलमा आफूहरुले राखेको उनले बताए । ‘भूकम्पको नाममा देश विदेशबाट आएको राहत कहाँ गयो ? विभिन्न देशबाट आएको रकम र राहत सामाग्रीमा सरकारले आँखा गाडेका छन् त्यसमा पनि भ्रष्टाचार गरिरहेका छन्’ जस्ता आरोप लगाउँदै गठबन्धनका नेताहरुले विगतको सरकारभन्दा यो सरकार बढी भ्रष्ट देखिएको पनि आरोप लगाए ।
मधेशी मोर्चाले आन्दोलन तथा नाकाबन्दी फिर्ता लिएको दुई महिनाभन्दा बढी भइसक्दा पनि अझै पेट्रोलियम पदार्थ तथा सामाग्रीको हाहाकार देखिएको उल्लेख गर्दै यसमा सरकारले नै कालोबजारी गरेको आरोप राजदूतहरु समक्ष राखेका थिए ।
जवाफमा राजदूतहरुले नेपालको राजनीतिक घटनाक्रमलाई आफूहरुले नजिकबाट नियाली रहेको र समाधानका लागि बेलाबेलामा सुझाव पनि दिएको धारणा राखेका थिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  १२ : ३२ बजे