३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

विर्ता सिटी हस्पिटलमा विशेष उपचार शिविर शुरु


१९ चैत्र २०७२, शुक्रबार  

0
Shares

बिर्तामोड १९, चैत /  झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग विर्ता सिटी हस्पिटलमा  शुक्रवारबाट गम्भीर मुटु रोगीहरुको विशेष उपचार शिविर शुरु भएको छ ।  शनिवारसम्म सञ्चालन हुने दुई दिने शिविर नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
वरिष्ठ मटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर भगवान कोइरालाले शिविरको उद्घाटन गरेका छन् । हस्पिटलका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको समारोहमा स्वागत रेडक्रस बिर्तामोडमा सभापति तथा वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीले गरेका थिए । कार्यक्रमको सञ्चालन रेडक्रसका सचिव तथा जेसीजका कोषाध्यक्ष एकराज गिरीले गरेका थिए ।
शिविरमा मनमोहन कार्डियो थोरासिस, टिचिङ हस्पिटल काठमाडौं, शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौं र बिर्ता सिटी हस्पिटलमा उपचार गराई रहेका तथा अन्य मुटुका गम्भीर रोगीहरुको उपचार भइरहेको हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार शिविरमा तीन सय विरामीको मात्र स्वास्थ्य परीक्षण हुने र गम्भीर विरामीलाई प्राथमिकता दिने बताइएको छ ।
शिविरमा प्रो. डा. कोइरालासहित काठमाडौंबाट आएका डा. हेमन्त श्रेष्ठ, डा. रवि बराल, डा. सूर्य पाठक तथा बिर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर तथा मुटुरोग विशेषज्ञ डा. अनिलकुमार बस्नेतले मुटु रोगीको उपचार गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७२, शुक्रबार  ३ : ०६ बजे