८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजसहित झापाका सात स्थानीय तहमा अझै डाक्टर छैनन्


८ बैशाख २०७७, सोमबार  

0
Shares

20200420_143616

बिर्तामोड ८ , बैशाख / झापाका सात स्थानीय तह अझै डाक्टरविहीन छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जिल्लाभर अभियान सञ्चालन भइरहे पनि सातवटा स्थानीय तहमा डाक्टर छैनन् । जिल्लाका १५ स्थानीय तहमध्ये कमल, गौरीगञ्ज, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिका तथा गौरादह र भद्रपुर नगरपालिका डाक्टरविहीन छन् ।

झापाका क्वारेन्टाइन र आइसोलेसनमा हाल ३० जना डाक्टर, १३३ जना नर्स, २२ जना ल्याब टेक्निसियन, ८७ सुरक्षाकर्मी, स्वयम्सेवक ६३ र अन्य सहयोगी १२१ जना रहेको जिल्ला समन्वय समिति झापाको कोरोना सुरक्षा तयारी अपडेटको ‘क्वारेन्टाइन÷ आइसोलेसनमा उपलब्ध मानव स्रोत’ मा उल्लेख छ ।

झापाका १५ स्थानीय तहले २७ वटा क्वारेन्टाइन बनाएका छन् । अधिकांश क्वारेन्टाइनमा नर्सले नै सेवा दिइरहेका छन् । दमकमा नौ जना, झापा गाउँपालिकामा १०, अर्जुनधारामा आठ, कनकाईमा १४, बाह्रदशीमा एक, मेचीनगरमा १६, कचनकवल र शिवसताक्षीमा सात÷सात, कमलमा आठ, गौरादहमा १५, गौरीगञ्जमा पाँच, हल्दिबारीमा १४ नर्स छन् ।

बुद्धशान्तिमा १५ र बिर्तामोडमा चार जना नर्स रहेको कोरोना सुरक्षा तयारी अपडेट तथ्याङकमा उल्लेख छ । कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा डाक्टर राख्ने विषयमा छलफल भइरहेको बताए ।

कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले क्वारेन्टाइनहरुमा डाक्टर राख्ने विषयमा छलफल भइरहेको बताउनुभयो । “क्वारेन्टाइनमा डाक्टर चाहिन्छ”, उहाँले भन्नुभयो, “समितिको बैठक बस्दैछ, त्यसको व्यवस्थापन चाँडै हुन्छ ।” स्थानीय तहले डाक्टरको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

बिर्तामोड नगरपालिकाले गत चैत ७ गते एक जना डाक्टर नियुक्त गरेको छ । नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले अनारमनी स्वास्थ्य केन्द्रमा नगरपालिकाले एक जना डाक्टर नियुक्त गरेको बताउनुभयो । “आन्तरिक स्रोतबाट एक जना डाक्टर नियुक्त गरिएको छ”, उहाँले भन्नुभयो, “आवश्यक परेका बेलामा क्वारेन्टाइन र अन्य बेला अरु बिरामीलाई सेवा दिइरहनुभएको छ ।”

समन्वय समितिको अपडेटमा झापा गाउँपालिकामा सात जना डाक्टर रहेको उल्लेख भए पनि त्यहाँ डाक्टर नभएको र पारामेडिस ११ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । “गाउँपालिकाले स्थापना गरेको दुई वटा क्वारेन्टाइनमा नर्स, पारामेडिसलगायतका स्वास्थ्यकर्मीले काम गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले क्वारेन्टाइनमा डाक्टर नभए पनि हुने बताउनुभयो । “क्वारेन्टाइनमा ज्वरो नाप्ने, अरु लक्षण भए नभएको हेर्ने हो”, उहाँले भन्नुभयो, “त्यसैले त्यहाँ डाक्टर नहुँदा पनि हुन्छ तर आइसोलेसनमा डाक्टर अनिवार्य हुनुपर्छ ।”

जिल्लामा छ वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । जसमा सरकारले डाक्टरको दरबन्दी अनिवार्य गरे पनि हालसम्म सबै केन्द्रहरुमा डाक्टर नियुक्त भएका छैनन् । गौरीगञ्नज प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली रहेको प्रमुख पौडेलले बताउनुभयो । सरकारले प्रत्येक स्थानीय तहमा नगर अस्पतालको अवधारणा अघि सारेकाले स्वास्थ्य क्षेत्रले विस्तारै फड्को मार्दै जाने उहाँको भनाइ छ ।

झापामा ४३ वटा स्वास्थ्य चौकी, छ वटा प्राथमिक स्वास्थ्य केन्द्र, एक वटा अस्पताल भने जिल्लाका सबै १२१ वटै वडामा आधारभूत स्वास्थ्य चौकी रहेको प्रमुख पौडेलले बताउनुभयो ।

झापामा ७३४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । हाल १७९ जना क्वारेन्टाइन र २३० जना घर फर्किसकेका छन् भने होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् ।

(झापा अनलाईनबाट )

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ५४ बजे