१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

कांग्रेस नेता सुब्बाले भने – ‘व्यवहारमानै परिवर्तनको प्रमाणित देखाएका छौं’




दमक/ नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुरेस सुब्बाले युवा पुस्ताको भावना सम्बोधन गर्ने पार्टीका रुपमा नेपाली कांग्रेसले आफूलाई प्रमाणित गरेर देखाएको बताएका छन् ।
भाद्र २३ अघिको अवस्थामा मुलुक अहिले नरहेको र २३ र २४ का घटनालाई कांग्रेसले गम्भिर रुपमा लिएरनै आफूलाई रुपान्तरित गर्दै परिवर्तित र नविन कांग्रेसका उम्मेदवारहरु लिएर चुनावमा गइरहेको उनको भनाई छ ।
पार्टीको विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएर आफ्नो गृह नगर दमक आए लगत्तै कार्यकर्ताहरुसँगको भेटमा नेता सुब्बाले उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिने क्रममा त्यस्तो बताएका हुन ।
गगन विश्व नेतृत्वनै कांग्रेस रुपान्तरणको उदाहरण भएका भन्दै नेता सुब्बाले भने– कांग्रेसले भाद्र २३ /२४ मा व्यक्त जेनजी भावना अनुसारनै गगन थापालाई पार्टी सभापति र भावी सरकारको नेतृत्वका रुपमा समेत गगनलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ त्यतिमात्रै होइन १६५ क्षेत्र मध्ये ११० क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । कैयौं ठाउँमा जेनजी पुस्ताका उम्मेदवार बनाएको छ । यो नै कांग्रेस रुपान्तरण र परिवर्तनको उदाहरण हो ।
उनले परिवर्तनको गफ र कुरा फिँजाएर व्यवहारमा परिवर्तन नआउने भन्दै अगाडी भने– कांग्रेसले व्यवहारमानै परिवर्तन गरेर देखाएको छ ।
उनले आज बिहान कांग्रेस दमक १ द्धारा आयोजित बधाई शुभकामना तथा चुनावी छलफलमा कांग्रेसले अनपपुलर र विभिन्न प्रकरणमा मुछिएका नेताहरुलाई उम्मेदवार नबनाएको बताउँदै निष्कलंकीत र स्वच्छ छबि भएका उम्मेदवारहरुलाई मात्र अघि सार्नुनै निर्वाचन जितको शुरुवात भएको तर्क गरे ।
यस अघि सोमबार नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ‘ख’ प्रदेश समितिले दमकमा आयोजना गरेको स्वागत तथा चुनावी भेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता सुब्बाले विशेष महाधिवेशनबाट नयाँ कांग्रेस आएको उल्लेख गर्दै समयअनुसार आफू परिवर्तन हुन नसक्नेहरू आफैं पलायन हुदैं जाने टिप्पणी गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले झापा ५ का सन्दर्भमा भ्रमपूर्ण कुराहरु बहिर लैजाने गिरोह सक्रिय रहेको र बिगतमा पार्टीलाई गरिखाने भाँडो बनाएका मान्छेहरुनै आज पनि कांग्रेसको नाम बेचेर झुक्याउने दाउपेचमा रहेकाले त्यस तर्फ सचेत हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
उहाँले गगन थापा सभापतिमा निर्वाचित भएपछि गाउँ–सहरमा कांग्रेसको लहर देखिएको दाबी गर्दै सुधारिएको कांग्रेसले देशलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।
प्रदेश क्षेत्र ‘ख’ सभापति रवि केसी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेल, संविधानसभा सदस्य विश्वदिप लिङदेन, कांग्रेस दमक नगर कार्यबाहक सभापति प्रेम भट्टराई लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १४ माघ २०८२, मंगलबार  ८ : ४८ बजे